देउराली । धरान ५ मा  खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अर्को एक जना घाइते भएकी छन् । 

आज बिहान धरान ५ स्थित आपटारमा एक युवाको खुकुरी प्रहारबाट आफ्नै साथीको हत्या भएको छ भने, अर्की एक स्थानीय महिला गम्भीर घाइते भएकी छन् । 

स्थानीय  ३९ वर्षका विकास भनिने हर्कबहादुर राईले बिहान करिब ७ बजे आफ्नै घरको किचनमा आफ्नै साथी ३५ वर्षका कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गर्नुका साथै स्थानीय २५ वर्षी मञ्जु खड्का राईलाई गम्भीर घाइते बनाएको वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए । 

उनले भने 'मर्ने र मार्ने दुवै जना  साथी नै हो । कुमार बिहान साथी (हत्या गर्ने विकास)को घरमा आएको रहेछ । विकासका बाबुले छोरा (विकास)लाई चिया पकाउन लगाए आफू दोकान गएका रहेछन्, फर्केर आउँदा  छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ । '

मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ । 

साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जुको घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयले बताए । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई  नजिकी रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको थिए । 

खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचाकालागि धरान स्थित विजयपुर अस्पताल पुर्याइएको छ भने, मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हत्या र खुकुरी प्रहारको कारणबारे नखुले पनि, विकास लागु औषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताएका छन् ।