धरान । झापा प्रहरीले भन्सार छली गरी ल्याएको कपडा तथा सुर्ती बरामद गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ बाट करिब ८५ हजार मूल्य बराबरको कपडा र सुर्ती बरामद गरेको हो । बुधबार साँझतिर इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले चेकजाँचको क्रममा भन्सार छली गरेको कपडा बरामद गरेको थियो ।
प्रहरीका अनुसार २७ हजार मूल्य बराबरको सर्टको रोल कपडा र कुर्ता सुरुवालको कपडा बरामद गरेको छ । त्यस्तै सोही वडाबाट करिब ८ हजार मूल्य बराबरको दुई बोरा सुर्ती पनि बरामद गरेको छ ।
त्यस्तै अवैधरूपमा भित्र्याउँदै गरेको ५० हजार रुपैयाँ मूल्य बराबरको ढाकाको १३ थान कपडा पनि बरामद गरेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।