विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी पेशाले शिक्षक हुन् । उनले विराटनगरको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका छन् । उनकै साथी सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने सुनाएपछि जाने निधो गरे ।
मेनेजर पदमा जापान जाँदा १६ लाख रुपैयाँ लाग्ने उनलाई अजयले सुनाएका थिए । सोही अनुसार ऋण काढेर मदनले दुई किस्ता गरी १६ लाख अजयलाई बुझाए । अजयले भनेका व्यक्ति फिरोद कार्कीको नाममा गत वैशाख १४ गते ५ लाख र २०६९ भदौ २७ गते रन्जिताकुमारी राजवंशीको नाममा ११ लाख रुपैयाँ मदनले बैङ्कमार्फत् पठाएको भौचर सुरक्षित राखेका छन् ।
१६ लाख रुपैयाँ बुझाएपछि उनलाई भिषा पनि पठाएको छ । ढिलोमा कात्तिकसम्ममा जापान पठाउने उनलाई वाचा गरेका थिए । अजयले दिएको समय तीनपटक स¥यो । मङ्सिर अन्तिमसम्म लैजाने प्रतिबद्धता जनाएका थिए । यो भाखा पनि स¥यो । उनले दिएको अन्तिम समयसीमा पनि सकिएपछि अजय अहिले बेपत्ता भएका छन् । उनले पठाएको भिषा पनि नक्कली भएको मदनले अहिले आएर थाहा पाए ।
यसैगरी मोरङ कटहरी–३ हल्दीबारीका ३६ वर्षीय विवेक राजवंशीले मासिक चार लाख रुपैयाँ कमाइ हुने आश्वासनमा १८ लाख रुपैयाँ अजयलाई बुझाए । उनले चार किस्ता गरी १८ लाख रुपैयाँ अजयले भनेको व्यक्तिको नाममा बैङ्कमा डिपोजिट गरेको भौचर राखेका छन् । स्नातक उत्तीर्ण गरेका विवेकलाई पनि जापानमा मेनेजर पदमा पठाउने भनेका थिए । ‘जग्गा धितो राखेर र ऋण खोजेर पैसा बुझाएँ’ उनले भने, ‘अहिले आएर विदेश पठाउने अजय सम्र्पकविहीन भएको छ ।’
जापान जान पाउने हल्लाले कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा ३ देखि ५ सम्मको ब्याजले उनीहरूको सावाँ र ब्याज बढेको छ । झापा कनकाई–१ का भवानीप्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताए । ऋण काढेर वैदेशिक रोजगारको नाममा पठाएको पैसा कसरी फिर्ता ल्याउने र कसरी ऋण बुझाउने भन्ने चिन्ताले सताएको उनले सुनाए ।
मदन, विवेक र भवानी वैदेशिक रोजगारका नाममा ठगिएका प्रतिनिधिमूलक पात्र हुन् । बिहीबार विराटनगरमा जापान पठाउने नाममा ठगिएका ४१ जना युवाले पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको बताए । मोरङका ४० र झापाका एकजना गरी ४१ जना युवाहरूबाट वैदेशिक रोजगारको नाममा ठगी गरेर अजयसहित उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन् । उनीहरू ४१ जना युवाहरूको ३ करोडभन्दा बढी रकम लिएर फरार छन् ।
पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् । चितवनका राजेन्द्र, मोरङ सुनवर्षी–६ का अजय ठगीधन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको उनीहरूले बताए । राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम पनि गरेर फर्किएका थिए । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङ र झापाका युवाहरूलाई ठगी गरेको हो । मोरङमा अजयको सम्पर्कमा आएका ४० जना सबै राजवंशी समुदायका छन् ।
मुख्य योजनाकार भनिएका राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रन्जित, अनुराधा र बहिनी विद्या फरार छन् । वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएको उनीहरूले बताए । वैदेशिक विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ ।
पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरू एकै पटक अधिकारीसहितको जालमा फसेपछि अहिले मोरङको दक्षिणवर्ती क्षेत्रका युवाहरू बिचल्लीमा परेका छन् । बारम्बार कानूनी उपचारको खोजीमा रहेका उनीहरूले अजयसहित उनका भाइबुहारी र बहिनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यस आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन भएको छ ।
वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरू विभिन्न निकायहरू जाँदा पनि न्याय पाउन ढिलो भएको उनीहरूको गुनासो छ । एकै व्यक्तिबाट धेरैजना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने प्रजिअ दाहालले बताए ।