आजको २१ औँ शताब्दिमा विज्ञान तथा प्रविधिको विकासले सूचना तथा सञ्चार क्षेत्रमा व्यापक परिवर्तन ल्याएको छ । सूचना तथा सञ्चार क्षेत्रमा आएको तीव्र विकासले दिएको सुविधाहरूमध्ये मोबाइल सुविधा पनि एक हो । यो सुविधा आजको विश्व समाजले भरपूर उपभोग गर्दै आएको छ । यो सुविधाको उपभोग घरका साना केटाकेटीदेखि लिएर ज्येष्ठ नागरिकसम्मले गरिरहेका छ । एक अध्ययन अनुसार १६ वर्षमाथिका अधिकांश विद्यार्थी, युवा, अभिभावक, बुद्धिजीवी एवम् ज्येष्ठ नागरिकहरूको हातहातमा स्क्रिन–टच मोबाइल रहेको जानकारी पाइन्छ ।
यद्यपि कतिपय अवस्थामा मोबाइलको सदुपयोग भएको बुझिन्छ भने कतिपय अवस्थामा यसको दुरुपयोग भएको सुनिन्छ । मोबाइलको सम्बन्धमा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूको यथार्थ धारणा के हो ? मोबाइलको सदुपयोग बढी कि दुरुपयोग बढी ? अनि यसको प्रभाव शिक्षण सिकाइ, परिवार, समाज, व्यक्तित्व विकास र आचरण निर्माणमा कस्तो रहेको छ ? यी नै जिज्ञासाहरूको सेरोफेरोमा रहेर धरान क्षेत्रमा आबद्ध विभिन्न स्कुल, कलेज, अन्य सङ्घ–संस्था एवम् व्यवसायमा आबद्ध प्रतिनिधिमूलक विद्यार्थी, अध्यापक, अभिभावक, बुद्धिजीवी एवम् व्यवसायीहरूलाई नमुनाको रूपमा लिई तथ्याङ्क सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलन गर्ने क्रममा एम्स एकेडेमी, नाष्ट कलेज, धरान सिटी कलेज, हिमालयन मेघा कलेज, इमानुएल स्कुललगायत विभिन्न शैक्षिक सङ्घ–संस्था एवम् व्यवसायमा गइयो ।
यसरी स्थलगत सर्वेबाट प्राप्त यथार्थ तथ्याङ्कलाई गहिरो विश्लेषण गरी वास्तविक निष्कर्ष निकाल्ने अधिकतम् प्रयास गरिएको छ । अध्ययन अनुसन्धानलाई विश्वसनीय बनाउन र वैधता प्रदान गर्न आवश्यकता अनुसार तथ्याङ्क सङ्कलनको दुवै स्रोतहरू प्रयोग गरिएको छ ।
(क) मोबाइलप्रति विद्यार्थीको अनुभव र पढाइमा यसको प्रभाव
एम्स एकेडेमी धरानको कक्षा ११ मा अध्ययनरत विद्यार्थी अनमोल तामाङका अनुसार मोबाइलमा जस्तो मनोरञ्जन पढाइमा विल्कुलै हुँदैन । आजको आधुनिक समयमा व्यक्तिको व्यक्तिगत, पारिवारिक एवम् व्यावहारिक समस्या बुझ्न, समाधान गर्नका साथै पैसा कमाउने प्रयासमा मोबाइलको प्रयोग गरिन्छ । त्यसैले मोबाइलमा बढी रुचि हुन्छ । तर, आजको पढाइ परम्परागत प्रणालीकै भएकोले मनबाट पढ्ने रुचि खासै नजाग्ने कुरा गरे । राज्यको शैक्षिक नीति गलत भएर पढाइमा रुचि नआएको हो कि ! भन्ने कुरा पनि थपे । एम्स एकेडेमीका अर्का विद्यार्थी खुसी लकान्द्रीका अनुसार अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई मागअनुसार किताबभन्दा पनि मोबाइल सहजै किनिदिने गर्नुहुन्छ ।
तर, त्यो मोबाइलको दुरुपयोगले कतिसम्म छोराछोरी बिग्रिन सक्छन् ? भनेर वहाँहरूले खासै वास्ता नगरेको पाइन्छ । यद्यपि अध्ययनमा सहयोगी भनेर किनिएको भए पनि मोबाइलले अधिकांश विद्यार्थीहरूलाई खराब लतमा रुचि बढाएको अवस्था देखिन्छ । यदि विद्यार्थीले अध्ययन गर्ने तालिका बनाउने र मोबाइलको प्रयोग अवधि तोकेर यसलाई अध्ययनमा प्रयोग गर्न सकिएमा मोबाइल अध्ययनको साधन बन्ने र विद्यार्थीको लागि अर्थपूर्णरूपमा रहने कुरा व्यक्त गरे । अलिक फरक ढङ्गले सोच्ने हो भने मोबाइलले नयाँ–नयाँ कुराहरू खोजी गर्न र थप जानकारी पाउन धेरै सहयोग गर्ने कुरा अर्का विद्यार्थी प्रज्ञा काफ्ले र प्राप्ति ठकुरीले बताए ।
हिमालयन मेघा कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थी दिवस बस्नेतका अनुसार बालमनोविज्ञानलाई मध्यनजर नगरी केवल पढ् पढ् मात्र भनिरहँदा विद्यार्थीहरूको मस्तिष्कमा पढाइप्रतिको नकारात्मक धारणा निर्माण हुने र साथै उसमा संवेगात्मक विचलन आउने गर्दछ ।
कक्षा १२ मा पढ्ने अर्का विद्यार्थी इसान लिम्बूले जहिल्यै पढिरहनु पर्ने, पढाइ पनि कम बुझिने प्रायः घोक्नुपर्ने र पढ्दा पढ्दा अनि घोक्दा घोक्दा वाक्क दिक्क लाग्ने भएकोले मोबाइलप्रतिको रुचि बढेको कुरा व्यक्त गरे । पढाउने शैली पुरानो भएकोले पढाइप्रति भित्रैबाट रुचि बढ्न नसकेको कुरा अर्का विद्यार्थी समिर तामाङले बताए । मोबाइलभित्र अनेक एप्स भएकाले विद्यार्थीहरूले मोबाइलमा बढी रुचि देखाउने गरेको पाइन्छ । तर, पढाइ एकनासे भएकाले पढाइप्रति कम रुचि देखाउने गरेको पाइन्छ । समिरको कुरालाई एम्स एकेडेमीका कक्षा ११ मा अध्ययनरत विद्यार्थी अनिमा थापा मगरले समर्थन जनाइन् । कक्षा १२ का विद्यार्थी प्रशान्त राई र मनोज तामाङ भन्छन्, ‘पढाइमा रुचि नजानुको कारण भनेको पढाइप्रति हामी विद्यार्थीहरूको सङ्कीर्ण सोच, बेवास्ता र अनियमित अध्ययनले हो ।’ यसले गर्दा मोबाइलप्रतिको आकर्षण बढेको र मोबाइलको लत लागेको स्वीकार गरे । तर, अर्का विद्यार्थी कविर भूजेल सम्झन्छन् कि मोबाइल भनेको मनोरञ्जनको साधन हो । त्यसैले विद्यार्थीहरू पढाइमा भन्दा पनि मोबाइलमा धेरै झुम्मिने गरेको पाइन्छ ।
नाष्ट कलेजको कक्षा ११ मा अध्ययनरत रोशन सुवेदी र याना लिम्बूको विचारमा मोबाइलमा अधिक रुचि राख्दा एकातिर पढाइप्रतिको लगाव ह्वात्तै घटेको छ भने अर्कोतिर शारीरिक, मानसिक र पारिवारिक समस्यासमेत निम्तिरहेको छ । सोनुना तामाङको विचारमा मोबाइलमा विद्यार्थीहरूको रुचि बढ्नु स्वभाविक हो । रुचि विद्यार्थीको सोचमा भर पर्दछ । यदि सकारात्मक सोच हो भने यसले पढाइमा धेरै सुधार गर्ने भन्दै अर्का विद्यार्थी खुसी लिम्बू र सङ्ग्राम लिम्बूले पनि समर्थन गरे । जीवन दास भन्छन्, ‘सुरुमा तनाव मुक्त गर्ने, अल्छीपना भगाउने र मनोरञ्जन गराउने नाममा प्रयोगकर्ताले मोबाइलको कुलतमा फसेको थाहा नै नपाउँदा रहेछन् ।
त्यसैले क्षणिक मनोरञ्जनमा रमाउनुभन्दा पनि आफ्नै लागि जीवनोपयोगी हुने शिक्षामा नै धेरै रुचि जगाउनेतर्फ हरेक विद्यार्थीले जोड दिनुपर्छ । मेघराज वस्तीले मोबाइलप्रतिको मोह र अधिक प्रयोगले फाइदाभन्दा पनि बेफाइदा नै बढी भएको विचार राखे । टाउको दुख्ने, आँखा दुख्ने, धैर्यता गुम्ने, रिस उठ्ने, भोक नलाग्ने, निन्द्रा बिग्रनेजस्ता स्वास्थ्यसम्बन्धी समस्याहरू आफूले भोगेको अनुभव उनले सुनाए । सोही कलेजकी यासस्मी शर्माले मोबाइलप्रति अधिक रुचि देखाउँदै गर्दा विद्यार्थीहरू मोबाइल दुव्र्यसनको शिकार हुनसक्ने सम्भावना रहेको बताइन् । प्रकृति खापुङ र माङ्गित्ला मादेनको विचारमा समय तालिकाअनुसार आफूहरूले मोबाइल चलाउने गरेको र चलाउँदा पनि पढाइसँग सम्बन्धित विषयवस्तु खोजी गर्ने भएकाले मोबाइलले पढाइमा सहयोग गरेको छ । उनीहरूको कुरामा थप्दै प्रकाश ठाकुर भन्छन्, ‘पढाइमा रुचि बढाउन हो भने मोबाइल र पढाइबीचमा समन्वय कायम गर्नका लागि आत्म–जागरुकता अनिवार्य चाहिन्छ ।’
जीवनको स्पष्ट लक्ष्य र योजना नबोकेको विद्यार्थीले मोबाइलको दुरुपयोग गर्ने र उसले अरूलाई पनि बिगार्न सक्ने आशङ्का सोही कलेजका कृतम विष्ट र दीप्सन खड्काले व्यक्त गरे । नेहा डङ्गोल थप्छिन्, ‘यो उमेरमा आइपुग्दा पनि विद्यार्थीले पढाइभन्दा मोबाइलमा बढी रुचि देखाउनु भनेको अहिलेसम्म पनि सही वा गलत छुट्याउन अयोग्य रहनु सरह हो ।’
बिबिएस चौथो वर्षमा अध्ययनरत धरान सिटी कलेजका विद्यार्थी आस्था बज्राचार्यका अनुसार किताबमा आवश्यक विषयवस्तु खोजी गर्ने प्रक्रिया लामो हुने तर, मोबाइलमा तुरुन्तै पाउन सकिने भएकोले मोबाइल आफ्नो लागि पढाइमा सहयोगी साधनको रूपमा रहेकाले मोबाइलप्रति आफ्नो रुचि बढेको बताए । एकातिर व्यावहारिक शिक्षाको अभाव भइरहेको र अर्को तिर मनोरञ्जन प्रदान गर्ने साधन विद्यार्थीहरूको हातहातमा आएको अवस्थामा नयाँ नयाँ कुराहरू बुझ्ने र हेर्ने जिज्ञासा पनि पूरा हुने भएकोले मोबाइलप्रति विद्यार्थीहरूको मोह बढ्ने गरेको कुरा उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरू क्रमशः आयूसा राई, मनिष मगर र सुनिता लिम्बूले बताए । पढाइमा नयाँपन नभेटिने हुनाले मोबाइलमाजस्तो आकर्षण पढाइमा नपाउने र साथै मनको आनन्द पनि मोबाइलबाट परिपूर्ति हुने भएकोले मोबाइलप्रतिको रुचि बढ्ने गरेको विचार सोही कलेजका अर्का विद्यार्थी लमिन लामा र गजल श्रेष्ठले राखे ।
मोबाइल नै हेरेर विद्यार्थी बिग्रिने कुरा आफूलाई नलागेको बताउँछिन् हिमालयन मेघा कलेजकी विद्यार्थी सन्जीता रानामगर । उनका अनुसार बिग्रिने र सप्रिने कुरा विद्यार्थी आफैमा भर पर्छ । मोबाइल प्रयोग नगर्नुभन्दा पनि यसको लिमिट चाहिँ क्रस गर्नु भएन । कतिपय ठाउँमा पारिवारिक समस्याको कारणले पनि मोबाइलप्रतिको झुकाव बढेको पाइन्छ । यस्तो अवस्थामा दोष मोबाइललाई दिनु हुँदैन । नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थी आफूले दैनिक आठदेखि दश घण्टा मोबाइल हेर्ने गरेको सम्झन्छन् । मोबाइल हेर्दा प्रायः टिकटक, फ्रि फायर गेम, मोबाइल लिजेण्ड, फेसबुक, इन्स्टाग्राम, क्रोम, यूसी ब्राउजर, टेलिग्राम ग्रुप, ओमेगल, यूट्युब आदि एप्सहरू चलाउने गरेको कुरा स्वीकार गर्छन् । प्रायः कक्षाका आधाजसो विद्यार्थीहरू पढाइमाभन्दा पनि मोबाइलमा नै बढी व्यस्त रहने उनले दाबी पनि गरे ।
त्यस्तैगरी इमानुयल स्कुलमा अध्ययनरत कक्षा १० की छात्रा पार्वती साह भन्छिन्, ‘पढाइमा विषयवस्तुअनुसार विद्यार्थीले मस्तिष्कमा इमेज बनाउनु पर्दछ । जुन आफैमा कठिन छ । तर, मोबाइलमा भने कुनै पनि कुरा आकर्षक र मनोरञ्जनात्मक ढङ्गले इमेजहरूको प्रस्तुति गरिएको पाइन्छ । त्यसैले मोबाइलमाजस्तो रुचि अधिकांश विद्यार्थीले पुरानो शिक्षण प्रणालीमा देखाउँदैनन् । प्रविधिसँग जोडेर पढाउने हो भने शिक्षण सिकाइ प्रभावकारी हुने उनले विचार व्यक्त गरे ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुदीप कार्की भन्छन्, ‘प्रायः बिहान बसमा कलेज गइन्छ । कलेज बस नछुटोस् भनेर मोबाइलमा अलार्म सेट गरेर सुत्ने गर्दछु । बिहान अलार्म बजेसँगै अल्छी गर्दै भए पनि उठ्ने गर्दछु । उठ्ने बित्तिकै सर्वप्रथम मोबाइल हेर्ने गर्छु । शौचालय जाँदा पनि मोबाइल हेर्ने गर्छु । त्यसपछि फ्रेस हँुदै कलेज जान तयारी हुन्छु । कलेजबाट फर्केर घर आइपुग्ने बित्तिकै मोबाइल नै हेर्ने गर्दछु । मोबाइल हेर्दै खाना खाने बानी रहेको छ ।’ प्रायः मोबाइलको चार्ज नसकुन्जेलसम्म मोबाइल हेर्ने गरेको कुरा उनी बताउँछन् ।
राति ११ः०० बजेसम्म मोबाइल हेर्ने बानी छ । मोबाइलमा विशेषतः फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम हेर्ने गरेको उनले बताए । मोबाइल नहेर्दा अत्यन्तै छट्पट लाग्ने र के नभएको नभएकोजस्तो हुने गर्दछ भन्दै मोबाइल विना आफूलाई राम्ररी खाना नरुच्ने र दिसापिसाब पनि राम्ररी नलाग्ने बानी रहेको कुरा सुदीप सम्झिन्छन् । दिनमा कम्तिमा ८ देखि १० घण्टा नियमित मोबाइल हेर्ने गरेको कुरा उनी बताउँछन् । कक्षा ७ सम्म आफू कक्षामा प्रथम हुने गरेको र कक्षा ८ देखि मोबाइलको कारणले पढाइ खस्केको कुरा पनि उनी स्वीकार गर्छन् । पढाइ बिग्रेको महसुस हुन्छ, बुबाआमाले कराउनु पनि हुन्छ । तर, पनि मोबाइल नहेरी र नचलाई समय बिताउन अत्यन्तै कठिन रहेको कुरा उनी बताउँछन् । यसै सन्दर्भमा सुदीपलाई ‘कतै मोबाइलको खराब लत लागेर पो पढाइ बिग्रेको हो कि !’ भनेर सोध्दा उनले भने, ‘मोबाइलको खराब लत लाग्यो भनेर भनी हाल्न मिल्दैन तर, पनि मोबाइल धेरै हेर्ने गरेकोले पढाइ बिग्रेको कुरा भने स्वीकार्छु ।’
बीएड दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुष्मा लिम्बू मोबाइलको प्रयोग र यसको प्रभावको सम्बन्धमा भन्छिन्, ‘मेरो जीवनको सपना धेरै सम्पत्ति कमाउने हो । तर, कसरी कमाउने ?’ सो सम्बन्धमा अहिलेसम्म पनि स्पष्ट योजना नभएको, यो वा त्यो नाममा पारिवारिक दबाव बढिरहेको, पढाइप्रति पनि रुचि लगभग मरेको स्थितिमा मोबाइलप्रति रुचि हु्वात्तै बढेको अनुभव छ । ‘मोबाइलको प्रयोगले मेरो मानसिक छट्पटीलाई कम गरेको छ । क्षणिक मनोरञ्जन पनि दिएको छ’–उनी भन्छिन् ।
बिहान आँखा खुलेसँगै सर्वप्रथम मोबाइलमा टिकटक हेर्ने गरेको उनले बताइन् । पढाइमा बिल्कुलै ध्यान जाँदैन । ध्यान लगाए पनि मोबाइल चलाऔं चलाऔंजस्तो लागिरहन्छ । मोबाइलको याद आइरहन्छ । जसले गर्दा लामो समयसम्म पढाइमा ध्यान केन्द्रित हुन नसकेको र आफूलाई मोबाइलको खराब लत लागेको स्वीकार गर्छिन् । लतबाट छुट्कारा पाउन मोबाइल छोड्ने पटक–पटक प्रयास गरे पनि छोड्न नसकेको उनले बताइन् ।
कक्षा १२ मा पढ्ने अर्का विद्यार्थी सुम्निमा राई पढाइमा न्यून रुचि भएकोले घरको काम गरिसकेपछि बाँकी रहेको प्रायः पूरै समय मोबाइल चलाएर बिताउने गर्छिन् । मोबाइलप्रति एक प्रकारको गलत लत बसिसकेको अवस्था छ । मोबाइल विना समय बिताउन असाध्यै गाह्रो भएको छ । बिजुली करेन्ट लामो समय जाँदा त झन् बेचैन रहने गरेको उनी बताउँछिन् । मोबाइलले दिने क्षणिक मजाको पछाडि लाग्दा आफ्नो जीवनको उद्देश्य छैन कि ! जस्तो बेला–बेलामा मनमा लाग्ने गरेको कुरा सम्झिन्छिन् ।
(ख) शैक्षिक व्यक्तित्वहरूको बुझाइमा मोबाइल
मोबाइलको सम्बन्धमा यूएन स्कुल धरानका प्रिन्सिपल स्वर्ण सम्बाहाङ्फेको विचार अलि फरक छ । समाज परिवर्तनको गतिभन्दा प्रविधि विकासको गति तीव्ररूपमा रहेको छ । तीव्र गतिमा रहेको प्रविधिको विकासले समाजलाई कुनै न कुनै ढङ्गबाट चुनौती दिएको देखिन्छ । अधिकांश मोबाइल प्रयोगकर्ताहरू आफ्नो विवेकमा भन्दा पनि भावनामा बहकिएर सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ । उनीहरू क्रिया–प्रतिक्रिया, लाइक, कमेन्टमा रमाउने गरेका छन् । गाँजा र रक्सीसरह नशाको रूपमा मोबाइलको पनि प्रयोग भएको देखिन्छ ।
व्यक्तिगत, पारिवारिक तथा सामाजिक स्तरमा एक प्रकारको मानसिक विचलन ल्याएको अवस्था छ । प्रयोगकर्ताको मनोविज्ञान अध्ययन गर्दा तुलनात्मकरूपमा अरूभन्दा अलग रहने र अलग देखाउने होडबाजीमा सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ । जुन क्षणिक मजामात्र हो । समाज आज यसको पछाडि दौडिएको देखिन्छ । जुन आफैमा गलत संस्कृति हो । समाजलाई पार्ने दूरगामी प्रभावको बारेमा प्रयोगकर्तालाई बुझाउन नसक्नु र रोक्न नखोज्नुमा हाम्रो समाज र राज्यको पनि दोष रहेको सम्बाहाङ्फेको भनाइ छ । यद्यपि मोबाइलका केही राम्रा पक्ष पनि रहेको उनको भनाइ छ । मोबाइलको प्रयोगलाई सापेक्ष र निरपेक्ष दुवैरूपबाट हेर्नुपर्छ । आजको डिजिटलाइज्ड युगमा यसको प्रयोग नयाँ ज्ञान सिर्जना र नवप्रवर्तनमा हुँदा असाध्यै राम्रो हुन्छ । हाम्रो समाज भावनामा भन्दा पनि सत्य–तथ्य कुरामा केन्द्रित हुनुपर्छ । बहकाउने कुरामा ध्यान दिनु हुँदैन । विषयवस्तुको सेन्टिमेन्ट र त्यसको वास्तविकतामा ध्यान दिनुपर्छ भन्ने सम्बाहाङ्फेको विचार छ ।
मोबाइलप्रति बढ्न सक्ने नराम्रो लतलाई नियन्त्रण गर्न साथिभाइहरूसँगको आवश्यकता अनुसारको भेटघाट, घुमफिर र पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने उनले बताए ।
समाजमा मोबाइलले परिवारलाई सपारेको र बिगारेको दुवै अवस्था विद्यमान रहेको छ । मोबाइलको गलत लतबाट मुक्त रहन हरेक प्रयोगकर्ताले मानव जीवनको अस्तित्व बोध गर्नुपर्छ । सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया दिने संस्कार छोड्नु पर्छ । गलत मनोवृत्ति विकास गर्नु हुँदैन । असल सूचना सम्प्रेषण, नयाँ खोज तथा सिर्जना र नवप्रवर्तनतर्फ मोबाइलको प्रयोग बढाउनु पर्छ । प्रविधि निर्जीव कुरा हो । त्यसैले यसलाई दोष दिनुभन्दा पनि आफूलाई दोषी देख्न सकेमा सच्चिन सकिने सम्भावना बढी रहन्छ । हरेक शिक्षक, आमाबुबा र अभिभावकले मोबाइल प्रयोग व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा आफ्ना बच्चाहरूलाई अनिवार्य सिकाउनु पर्छ भन्ने विचार धरानस्थित हात्तीसार कलेजका प्राध्यापक अर्जुन घिमिरेले बताउनुभयो । नवदोय यूएन कलेजका प्राध्यापक विजय अछामीको बुझाइमा मोबाइल भनेको इच्छाअनुसार एप्स चलाउन मिल्ने, धेरै जानकारी प्राप्त हुने र सबैसँग बातचित गर्न सजिलै सकिने मनोरञ्जनको साधन हो । सबै उमेर समूहका व्यक्तिको मन खिच्न सक्ने प्रविधिको साधन मोबाइल हो । त्यसैले यसप्रति सबैको आकर्षण बढेको छ । आफूले पनि मोबाइल नियमित हेर्ने गरेको कुरा राख्नुभयो ।
(ग) मोबाइलप्रति उद्यमीको अनुभव र यसको प्रभाव
सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका पूर्वअध्यक्ष एवम् उद्यमी अशोक ताम्राकार भन्नुहुन्छ, ‘मोबाइल आफैमा खराब हो भनेर म भन्दिनँ । तर, यसलाई सही ढङ्गले प्रयोग गर्न जान्नु पर्छ । यदि सही ढङ्गले प्रयोग गर्न जानिएन भने मोबाइलले व्यक्ति स्वयम् र उसको परिवारलाई पनि नकारात्मक असर पार्ने गर्दछ । हाम्रो समाजमा बच्चा जन्मेको ४–५ महिनादेखि नै उनीहरूलाई मोबाइल देखाएर वा हेराएर आमाबुबा वा अभिभावकले खाना खुवाउने र भुल्याउने गर्दछन् । साना नानीहरूलाई मोबाइल वा ट्यावमा व्यस्त राखेर घरमा काम गर्ने संस्कार विकास भएको देखिन्छ । यो संस्कार आफैमा गलत हो र यसलाई रोक्दा वा बन्द गर्दा धेरै राम्रो हुन्छ ।’ आजका अभिभावकहरू आफ्ना छोराछोरीलाई आर्थिक हैसियतभन्दा माथि अर्थात् महँगो मोबाइल किनिदिन बाध्य हुने गरेको, मोबाइलको विकिरणले विशेषतः बच्चाहरूको आँखा बिगार्ने गरेको, बालबालिका तथा युवाहरूले मोबाइलको सदुपयोगभन्दा पनि तुलनात्मकरूपमा दुरुपयोग बढेको अनुभव गर्नुभयो । यद्यपि आफूले भने स्क्रिन टच मोबाइल अत्यन्तै कम चलाउने गरेको सुनाउनुभयो ।
पूर्वाञ्चलभरि नै सेवा दिँदै आएका सुन्दर साउण्ड सर्भिस धरानका प्रोप्राइटर सुन्दर श्रेष्ठको भनाइमा आफूले मोबाइल फुर्सद हुँदा मात्र हर्ने गरेको बताउनुभयो । मोबाइललाई जीवनबाट अलग गर्न पनि नसकिने स्वीकार गर्नुभयो । तर, मोबाइलको सम्बन्धमा आत्म अनुशासन भने कायम राख्नुपर्ने कुरामा जोड दिनुभयो । ‘हामी परिवारका सबै सदस्यहरू भेला हुँदा कसैले पनि मोबाइल चलाउँदैनौँ । बरु त्यसबेला सबैजना सँगै बसेर आवश्यक कुराकानी गर्ने, टेलिभिजन हेर्ने, खाना खाने संस्कारको विकास गरेका छौं’–उहाँले भन्नुभयो । मोबाइलको सम्बन्धमा हरेक परिवारका सदस्यहरूको बीचमा आपसी सहमति गर्नुपर्ने हुन्छ । विशेष परिस्थितिबाहेक ११ कक्षा मुनिका विद्यार्थीहरूलाई व्यक्तिगतरूपमा मोबाइल किनिदिनु हुँदैन । आवश्यकता परे निश्चित समयको लागि बुबाआमाले आफ्नो मोबाइल चलाउन दिने व्यवस्था गर्नुपर्छ । विशेषतः साना बच्चाहरूलाई स्वास्थ्यको दृष्टिकोणले पनि मोबाइल दिनु हुँदैन । कतिपय बच्चाहरू मोबाइलको अधिक प्रयोगले धैर्यता गुमाउने गरेको, रिसाहा बनेको अनुभव पनि उहाँले बताउनुभयो । अधिकांश केटाकेटीहरूले मोबाइल हेर्नुको पछाडिको कारण भनेको मनको मजा लिन र अव्यावहारिक शिक्षा रहेको कुरा व्यक्त गर्नुभयो ।
बिधाता मोबाइल सेन्टर धरानका प्रोप्राइटर विनोद श्रेष्ठको अनुभवमा आफूले स्क्रिन टच मोबाइल बोक्ने गरेको, फुर्सद र आवश्यकताअनुसार मात्र मोबाइल प्रयोग गर्ने गरेको, अहिलेका युवा जेनेरेसनजस्तो आफूले मोबाइल नचलाउने कुरा बताउनुभयो । घरपरिवारमा सबैले मोबाइल चलाउने गर्छन् तर, कसैलाई पनि मोबाइलको गलत लत भने लागि नहालेको र पारिवारिक सम्बन्धमा मोबाइलले खासै असर नगरेको कुरा राख्नुभयो । अहिलेको समयमा मोबाइलको सान्दर्भिकता बढेको छ । त्यसैले यो अति आवश्यक साधनका रूपमा हेर्नुपर्ने कुरामा उहाँलृे जोड दिनुभयो । आजका युवाहरू मोबाइलमा झुण्डिने गरेका छन् । यसको पछाडिको कारण भनेको उनीहरूको सबै जिज्ञासा मोबाइलबाट पूरा हुने भएकोले हो । सामान्यतः अधिकांश युवा केटाहरू गेम खेल्न र केटीहरूले टिकटक बनाउन महँगो मोबाइल किन्ने गरेको अनुभव शेयर गर्नुभयो । यदि घरमा मोबाइलको दुरुपयोग बढेको छ भने वाईफाई सेवा राख्न नहुने सल्लाह पनि दिनुभयो ।
(घ) मोबाइल फोनप्रति अभिभावकको अनुभव र बुझाइ
धरान कलेज अफ मेनेजमेन्टका बिबिए र सुनसरी टेक्निकल कलेजका फार्मेसीमा अध्ययनरत विद्यार्थीका अभिभावक पदमा लिम्बूको अनुभवमा खबर आदान–प्रदान गर्न र प्रत्यक्ष देखादेख गर्न मोबाइलको आवश्यकता रहेको छ । तर, यसलाई व्यावहारिकरूपमा हेर्दा यसको दुरुपयोग र बेफाइदा बढी भएको कुरा राख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘घरमा छोरीहरू प्रायः मोबाइलमा नै व्यस्त रहेको भेट्छु । हुन त उनीहरूले आफ्नो कार्य पनि गर्दा होलान् । बोलाउँदा पटक्कै बोल्न मान्दैनन् । खाना खान, कुनै कार्य गर्न बारम्बार बोलाइरहनु पर्ने हुन्छ । प्रायः एकै समयमा खाना खान सबैजना भेला नै हुँदैनन् । एक–एक गरी खाना खान आउने गरेका छन् । मोबाइलकै कारणले पारिवारिक छलफल पनि राम्ररी हुँदैन । मोबाइलमा टाइम पास गरेको जस्तो लाग्छ । जतिखेर पनि मोबाइल हेर्ने गरेको पाउँछु । कराउँदा उल्टै रिसाउने गर्छन् । मोबाइलको कारणले अन्य काम गर्न नमान्ने, घरमा पाहुना आउँदा भरसक ननिस्किने, बोल्न पनि नजान्ने । रिसले वाईफाई मारिदिँदा कुदेर आउँछन्, के भयो भन्न थाल्छन् । यो देखेर असाध्यै दुःख लाग्छ ।’ नानीहरूले मोबाइल प्रयोग गरी समय बर्बाद गरेको, बिग्रने सम्भावना बढेको र घरमा परिवारका सदस्यहरूबीचको दूरी टाढिँदै गएको जस्तो लाग्ने उहाँले बताउनुभयो ।
विष्णु मेमोरियल स्कुल धरानका कक्षा ३ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावक राजन कार्कीले मोबाइलको दुरुपयोगले आजका अधिकांश केटाकेटीहरू सामाजिकीकरणबाट बञ्चित रहेको कुरा व्यक्त गर्नुभयो । आधुनिकताको नाममा आजका अभिभावकहरू नै मोबाइलमा अनावश्यक व्यस्त रहेको देखिन्छ । एकातिर अभिभावकहरू मोबाइलमा व्यस्त रहेका छन् भने अर्कोतिर उनीहरूका बालबच्चाहरू झन् त्यसैमा व्यस्त देखिन्छन् । सायद यसैको प्रभाव हुनसक्छ, आफ्नो घरमा पनि छोराछोरीहरूमा मोबाइलको लत लागेको देख्छु । उनीहरू स्कुल अवधिबाहेक घरमा होमवर्क सक्ने बितिक्कै मोबाइलमा बस्छन् । मोबाइलमा व्यस्त भएको बेला उनीहरूले भनेको पनि नमान्ने गरेको र भनेको नमान्दा रिस असाध्यै उठ्ने कुरा व्यक्त गर्नुभयो । विज्ञानले सामाजिक संस्कृतिको विनाश ल्याएको पो हो कि ! भन्ने विचार राख्नुभयो । समाजमा केटाकेटीहरूले मोबाइलको राम्रो पक्षभन्दा पनि नराम्रो पक्षमा बढी जोड दिने गरेको देखिन्छ । मोबाइलमा नकारात्मक कुरा बढी आउने र यसले नकारात्मक भावना बढाउने, समाजमा विकृति ल्याउने गरेको देखिन्छ । यसले सही सन्देश दिनेभन्दा शङ्का बढाउने गरेको हो कि ! जस्तो लाग्छ । काममा अवरोध ल्याउने, अलमल्याउने, दुरुपयोग बढाउने, अनावश्यक अफवाह फैलाउने, इन्द्रीय कौतुहलता बढाउने, शान्त स्वभावलाई चञ्चले स्वभावमा बदलिदिने अनुभव सुनाउनुभयो ।
निष्कर्षमा विज्ञान तथा प्रविधिको उपहार ‘मोबाइल’ आफैमा नराम्रो साधन होइन । यो एक निर्जीव वस्तु हो । यसलाई दोष दिनु त्यति उपयुक्त नहोला । मोबाइलको सही सदुपयोग गर्न जानेमा यसले असल सम्बन्ध स्थापित गर्न, खोज अनुसन्धान गर्न, नयाँ–नयाँ ज्ञान बढाउन र जीवन रूपान्तरण गर्न मद्दत गर्दछ । हरेक व्यक्तिले मोबाइललाई आफ्नो आवश्यकता अनुसार चलाउनु पर्छ । यसको दुरुपयोगभन्दा पनि सदुपयोग हुने गरी प्रयोग गर्नुपर्छ । प्रयोग गर्ने समय सीमा निर्धारण गर्दै यसलाई आफ्नो दैनिक कार्यमा उपयोग गर्न सक्नुपर्छ । विशेषगरी अभिभावकहरूले आफ्ना साना केटाकेटीहरूलाई मोबाइल किनिदिनु हुँदैन । बच्चाले जिद्दी ग¥यो भन्दैमा उसको मोबाइलप्रतिको मोह पूरा गर्नु हुँदैन । बालबच्चालाई भुल्याउने नाममा मोबाइल दिनु हुँदैन । मोबाइलको आवश्यकता हो वा होइन बुझेर मात्र दिनु पर्छ । मोबाइल दिएर मात्र हुँदैन । यसको प्रयोग कसरी गरिरहेका छन् ! भन्ने बारेमा पनि चासो राख्नुपर्छ । मोबाइलको कुलतले जीवनमा पार्ने नकारात्मक प्रभावको बारेमा पनि हरेक बुबाआमा, शिक्षकलगायत जिम्मेवार अभिभावकले आफ्ना नानीहरूलाई समय–समयमा सचेत गराउनु पर्ने हुन्छ र अन्त्यमा सामाजिक विकृति होइन, संस्कृतिको संरक्षण र सामाजिकीकरणमा टेवा पुग्नेगरिको शिक्षा आजको आवश्यकतालाई सम्बर्धन गर्नेगरिको मोबाइल प्रयोगमा जोड दिनुपर्ने कुरामा सबै सहमत देखिन्छन् ।