बिर्तामोड । महिलाको करोडाैँ ठगी गरेको आरोप लागेका झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका नेत्रप्रसाद गिरी (आयुश) ले भारतबाट सवारीसाधन ल्याएर नेपालमा नक्कली कागजपत्र बनाउँदै बिक्री गर्ने गरेको खुलेको छ ।
गिरीले झापाको बिर्तामोडका एकजना व्यवसायीसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाउने गरेका हुन् । गिरीले भारतबाट गाडी नेपाल ल्याउँछन् । नेपालमा रहेका उनका साझेदारले यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीसँगको मिलेमतोमा नक्कली ढड्डा तयार गर्ने गरेका छन् । ढड्डा नै नक्कली बनाएर गाडीका सबै कागजपत्र (सक्कली जस्तै) बनाइएको हुन्छ । त्यही कागजपत्रका आधारमा उनले नेपालमा रहेका ग्राहकलाई बजारमूल्यभन्दा सस्तोमा गाडी बिक्री गर्दै आएका छन् ।
खासगरी कार वास सेन्टर र ग्यारेजमा गएका गाडीधनीलाई ‘आफू अप्ठ्यारोमा परेकाले सस्तैमा बिक्री गर्नुपर्ने’ भन्दै गिरीले फसाउने गरेको पाइएको छ । गिरीले बिक्री गरेका गाडीको अनलाइनमा समेत विवरण आउने बनाइएको छ । अनलाइनमा इन्ट्री गर्ने प्राविधिकसहित यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग गिरीको सेटिङ रहने गरेको पाइएको छ ।
यातायात कार्यालयमा दलालीको काम गर्ने सुशील घिमिरेले गिरी र बिर्तामोडका व्यवसायीको निर्देशनमा नक्कली कागजपत्र बनाउने गरेको पाइएको छ । उनीहरूको समूहले सयौँ गाडीको यस्तो कागजपत्र बनाएर बिक्री गरिसकेको समाचार स्रोतको दाबी छ । गिरीले बिक्री गरेकामध्ये महिन्द्रा कम्पनीको एउटा स्कारपियो र एउटा ब्रेजा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बरामदसमेत गरेको छ ।
गिरीको निर्देशनमा नक्कली कागजपत्र बनाउँदै भारतीय सवारी साधन नेपालमा बिक्री गर्ने गिरोहको पोल आंशिक रूपमा खुलेपछि उनीहरूले यतिबेला मधेस प्रदेशका यातायात व्यवस्था कार्यालयबाट त्यो काम गरिरहेको दाबी स्रोतको छ । उनीहरूले महिन्द्रा, सुजुकी, टाटालगायतका कम्पनीका महँगो मूल्यका गाडीको मात्र कारोबार गर्ने गरेको पाइएको छ ।
गिरीले भारतीय गाडीको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने मात्र होइन, धेरै महिलाबाट रकम ठगी गरेको समेत बाहिरिएको छ । काठमाडौँको एक टेलिभिजनमा गिरीले ठगी गरेको गुनासो महिलाको समूहले गरेपछि यस्तो रहस्य बाहिरिएको हो । पीडित महिलाहरूका अनुसार गिरीले उनीहरूसँग विवाह गर्ने प्रलोभन देखाएर रकम ठगी गर्ने गरेका थिए । १६ जना महिलामध्ये एकजनाले आफूबाट ८० लाख रुपैयाँको जमिन र पैसा ठगी गरेको बताएकी छन् । उनीहरूले आफूहरूबाट गिरीले लाखौंका दरले रकम ठगी गरेको बताएका छन् ।
घरमा कान्छी श्रीमती रहेका गिरी आफू अविवाहित भएको भन्दै महिलालाई प्रेमजालमा पार्ने गरेका थिए । प्रेमजालमा पारेपछि रकम ठगी गरेर बेपत्ता हुने उनको बानी रहेको पाइएको छ । उनकी जेठी श्रीमतीतर्फ एउटी छोरी छन् भने कान्छी श्रीमती हाल अर्जुनधारास्थित घरमा छिन् । उनीमाथि आफ्नै नातेदार भाइको श्रीमतीमाथि पनि अभद्र व्यवहार गरेको मुद्दा अदालतमा विचाराधीन छ ।
नक्कली नागरिकता र भारतीय आधार कार्ड पनि
वास्तविक नाम नेत्रप्रसाद गिरी भए पनि उनले आयुश गिरी नामको अर्काे नागरिकता बनाएका छन् । घैलाडुब्बा गाविस–१ ठेगानामा गिरीले अर्काे नक्कली नागरिकता बनाएका हुन् । उनको नक्कली नागरिकतामा ‘ज्ञनेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी’ भनेर हस्ताक्षर गरिएको छ । तर, सरकारी छाप भने प्रशासकीय अधिकृतको प्रयोग गरिएको छ । यही नागरिकताबाट गिरीले बैङ्क खाता सञ्चालन गर्ने गरेको समेत पाइएको छ । जुन नागरिकता जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भने भेटिएको छैन । गिरीले भारतीय आधार कार्डसमेत बनाएका छन् । आधार कार्डमा भने उनको नाम राजीव गिरी रहेको छ । आधार कार्ड भएका कारण उनी भारतीय गाडी पटके काटेर नेपाल ल्याउन सफल बन्दै आएको बताइएको छ ।
झापाका एक सञ्चारकर्मी पनि पीडित
गिरीले झापाका एकजना सञ्चारकर्मीकी श्रीमतीलाई समेत प्रेमजालमा पारेर १० लाख बढी ठगी गरेको पाइएको छ । गिरी र सञ्चारकर्मीकी श्रीमतीको ‘कारोबार’ का कारण उनीहरूको सम्बन्धमा दरार उत्पन्न भएको छ । उनीहरूबीच अहिले झापा जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको समेत बुझिएको छ ।
सयौँ ठगीकाण्ड
गिरीलाई नजिकबाट चिन्ने एक स्थानीयले उनको ठगी अहिले सार्वजनिक भएभन्दा धेरै भएको दाबी गरेका छन् । उनले इज्जत र प्रतिष्ठाको डरले धेरै महिलाले घटनाको बारेमा उजुरी नगरेको हुनसक्ने बताए । १४ वर्षको अवधिमा कतिजनालाई ठगी गरे भनेर भन्न नसकिने समेत उनले बताए । गिरी यस अवधिमा चार पटक पक्राउसमेत परिसकेको उनले बताए । तर, धरौटी बुझाएर उनी रिहा हुँदै आएका छन् ।