नेपाली पर्यटन बजारमा पूर्वको पर्यटन सम्भावनाबारे पछिल्लो समय खोजी र चासो बढ्दो क्रममा छ । यसै शृङ्खलामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले पूर्वक्षेत्रको पर्यटनबारे राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढाउन चार दिने बृहत् कार्यक्रमको आयोजना गर्दैछ । ‘डेस्टिनेसन मार्केटिङ कनक्लिभ (डिएमसी)’ नाम दिइएको कार्यक्रममा मुलुकभित्र र बाहिरका पर्यटनकर्मी, व्यवसायी र पर्यटनबारे जानकारहरूको भव्य सहभागिता रहनेछ ।
यो क्षेत्रको पर्यटन उकास्ने प्रयत्नमा यस्ता कार्यक्रमहरू यसअघि पनि बरोबर भैरहे । तर, हामी जुन अवस्थामा थियौं, त्योभन्दा धेरै माथि पुग्न सकेकै छैनौं । बरु मुलुकका अरू क्षेत्रहरूले पर्यटनबाट फड्को मार्ने अवस्थामा पुगेको देख्दै आएका छौं । यो गम्भीर प्रश्न बनेको छ । कोभिडले पारेको क्षतिलाई नजरअन्दाज गर्ने हो भने गण्डकी र लुम्बिनी प्रदेशले पर्यटनमा गरेको लगानी र प्रतिफल लोभलाग्दो छ ।
प्रदेश नम्बर १ को सगरमाथा क्षेत्रलाई छाडेर अन्यत्र पर्यटनको प्रभाव कमजोर देखिन्छ । यहाँ दुई दिनभन्दा बढी पर्यटकलाई टिकाउने/राख्न सकिने कुनै पनि गन्तव्य चर्चित छैनन् । यहाँको पर्यटन दुई दिने पर्यटन मात्र भएको छ । दुई दिने पर्यटनले आर्थिक समृद्धि र नागरिकको स्तर वृद्धिमा खासै प्रभावकारिता ल्याउन सक्छजस्तो लाग्दैन । पाथीभरा र हलेसीले आन्तरिक पर्यटकका लागि दुई रात अड्याएका छन् । नभए पूर्वक्षेत्र एक रातको पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो हामी सबैका लागि चिन्ता र चासोको विषय हो ।
सुनसरी, ताप्लेजुङ र खोटाङका धार्मिकस्थल अनि इलामका चिया बगान र सूर्योदयको दृश्यावलोकनले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्नेबाहेक अन्य गन्तव्यहरूको विकास र प्रवद्र्धनसमेत हुन सकेका छैनन् । प्रदेश १ को तराईमा कुनै पनि गन्तव्य पर्यटकका लागि देखिएका छैनन् । राजमार्ग छेउछाउमा भएका तालतलैया र पार्कहरू त अवलोकन गर्न र पिकनिकका लागि मात्र तयार गरिएका÷भएका छन् । ती ताल पोखरीले वास्तविक पर्यटकलाई तान्न सकिरहेका छैनन् । जनकपुर र लुम्बिनीलाई एकछिन बिर्सिने हो भने नेपाली तराईको पर्यटन जङ्गलमा आधारित छ । तर, प्रदेश १ को जङ्गल पर्यटनसमेत अत्यन्त दयनीय छ । कोसीटप्पु वन्यजन्तु आरक्ष त छ तर, पर्यटकलाई आकर्षित गर्ने र पर्यटक रमाउने प्रकृतिको छैन । त्यसको क्षेत्रफल ठूलो बनाएर आरक्षलाई निकुञ्ज बनाउने पूर्वेलीको लामो समयदेखिको माग सम्बोधन हुन सकेको छैन । यो प्रदेशले आफ्नो सम्पत्तिमा निकुञ्ज जोड्न सकेको छैन । सुनसरी र मोरङमा रहेको चारकोसे झाडीलाई समेत निकुञ्ज बनाउन सकिने भए पनि यसतर्फ पनि हाम्रो दृष्टि पुग्न सकेको छैन ।
यी र यस्ता कैयन् प्रश्नहरूका बीच डिएमसी जस्ता कार्यक्रमहरू आयोजना भैरहन्छन् र समस्याको समाधानका लागि पटक–पटक राज्यको ध्यान आकर्षित गराउने प्रयत्न हुन्छन् । तर, हामी हिजोभन्दा आज झनै कमजोर हुँदै गैरहेका छौँ । आजभन्दा दशवर्षअघि जति विदेशी पर्यटक यता आउँथे, आजको दिनमा त्यो सङ्ख्या न्यून हुँदै जाँदैछ । प्रदेश १ को पर्यटन केही भारतीय र आन्तरिक पर्यटकले धानेको हामीले महसुस गरेका छौँ ।
अब हामीले यस विषयमा गम्भीर भएर नयाँ ढङ्गले सोच्ने बेला भैसकेको छ । हामीले नयाँ गन्तव्यहरूको विकास र प्रवद्र्धनमा लाग्नुपर्ने आवश्यकता भैसकेको छ । भएका गन्तव्यहरूमा आकर्षणहरूको वृद्धि गर्नुपर्ने भएको छ । अहिले देखिएका गन्तव्यहरूले मात्र हामी प्रतिस्पर्धी बजारमा टिकिरहन सक्ने छैनौँ । हाम्रो मुख्य बजार भारतको बङ्गाल र विहार हो । मुख्य प्रतिस्पर्धा पनि भारतको उत्तर बङ्गाल र सिक्किम नै हो । बङ्गालको पूर्वी–उत्तरी क्षेत्रमा जङ्गल र पहाड मुख्य गन्तव्य हुन् । हामीले हाम्रा पहाडलाई गन्तव्यका रूपमा विकास गराउनै सकेका छैनौँ । हामीले प्रदेश १ का हिमालहरूलाई पूर्वबाट बेच्नै सकेका छैनौँ । सगरमाथाबाहेक मकालु र कञ्चनजङ्घामा पर्यटक पु¥याउनै सकेका छैनौँ । सगरमाथामा पनि राजधानीका व्यवसायीकै मात्र योगदान रहेको छ ।
अब हामी त्यसका लागि तयार हुनै पर्दछ । हामीले पहाडका गन्तव्यको विकासमा आफूलाई लगाउनु पर्दछ । प्रदेश १ मा महेन्द्र राजमार्ग नजिकका तीन हिल स्टेशन छन् । कन्याम, भेडेटार र जेफाले । तर, तिनीहरूले पनि एक रात मात्र पर्यटक अड्याउन सक्छन् । मध्यपहाडमा भएका तीन हिल स्टेशनको विकास गर्न सकिएको खण्डमा ती गन्तव्यले थप एक–दुई रात पर्यटकलाई रोक्न सक्ने देखिन्छ । मेची करिडोरको सन्दकपुर, कोसी करिडोरको गुफा पोखरी र सगरमाथा करिडोरको पताले मध्यपहाडका मुख्य हिल स्टेशनका रूपमा विकास हुनसक्ने पहाडी क्षेत्र हुन् । यी क्षेत्रमा पर्यटन विकासका लागि सरकारले लगानीकर्तालाई आकर्षित गर्ने योजना ल्याएको खण्डमा यी क्षेत्रले पूर्वको पर्यटनमा आफूलाई दरिलो गरी उभ्याउनेछन् ।
पहाडी हिल स्टेशनका पर्यटनमा लगानी गर्ने लगानीकर्तालाई अनुदान, छुट, सहुलियत र प्रोत्साहन दिएको खण्डमा निजी क्षेत्र आकर्षित हुन सक्ने र लगानी बढ्दै जाँदा चाँडै यी क्षेत्रहरूमा पर्यटनको दिगो गतिविधि हुनसक्ने देखिन्छ । ती ठाउँमा पूर्वाधारहरू बढेको खण्डमा पर्यटकहरूको दिन लम्ब्याउन सकिने हुन्छ । पर्यटकहरूको आवागमन बढेपछि क्रमशः अरू लगानीकर्ताको आकर्षण पनि त्यसतर्फ बढ्ने हुन्छ । ती क्षेत्रहरूले आफूलाई पर्यटन केन्द्रका रूपमा उभ्याउने सम्भावना रहन्छ ।
यसैगरी प्रदेश १ मा रहेका हिमालहरूमा प्रदेश १ बाटै पर्यटन गतिविधि हुनुपर्दछ । हिमालको ‘मार्केटिङ’ गर्न प्रदेश १ कै व्यवसायी तयार हुनु पर्दछ । प्रदेशका व्यवसायीहरूले आफूलाई हिमाल बेच्न तयारी पनि गर्नु पर्दछ । यहाँबाट जबसम्म हिमालमा आधारित गतिविधि र व्यवसाय हुन सक्दैन, तबसम्म प्रदेश १ को पर्यटन दिगो र यहाँ आउने पर्यटकहरूको अवधि लामो हुन सक्दैन । नेपालमा आउने पर्यटकहरूमध्ये हिमाल आउने पर्यटकको बसाइ अवधि लामो हुने गरेको तथ्याङ्कले देखाएको छ । तसर्थ यहाँबाटै कञ्चनजङ्घा र मकालु आधारित क्रियाकलाप हुन सकेको खण्डमा यहाँको पर्यटनले अलिकति भए पनि फष्टाउने मौका पाउने थियो भन्न सकिन्छ । भारतीय र नेपाली पर्यटकहरूका लागि कञ्चनजङ्घा र मकालुको आधार शिविरसम्म लैजाने काम पूर्वबाटै हुन सकेको खण्डमा प्रदेश १ मा आउने पर्यटकको बसाइ अवधि लामो हुन सक्ने आँकलन गरिन्छ ।
यस्तै प्रदेश १ मा हिन्दु धर्मावलम्बीका तीन सम्प्रदायका प्रख्यात तीर्थस्थल छन् । शैव (शिवलाई इष्टदेव मान्ने) का लागि हलेसी, वैष्णव (विष्णुलाई इष्टदेव मान्ने) का लागि वराहक्षेत्र र शाक्त (देवी÷शक्तिको आराधना गर्ने) का लागि पाथीभरा तीन मुख्य तीर्थस्थल हुन् । पाञ्चायन पूजा गर्ने र सनातनीहरूका लागि तीनवटै धार्मिकस्थल महŒवपूर्ण हुन् । यी तीन गन्तव्यको एकीकृत प्रवद्र्धन गरेको खण्डमा पनि यसले पर्यटकको बसाइ लम्ब्याउन सक्नेछ । ती तीन गन्तव्य जोड्ने ‘कनेक्टिङ रोड’ समेत तयार भैसकेका छन् । हलेसी पुग्ने पर्यटकलाई वराहक्षेत्र हुँदै पाथीभरा पु¥याउने र पाथीभरा पुग्ने श्रद्धालुलाई हलेसी पु¥याउने गरी प्रवद्र्धन गर्न सकिने हुन्छ ।
प्रदेशको पर्यटनलाई उचाइमा पु¥याउने अर्को माध्यम प्रदेशको ‘ट्र्याङ्गल’ पनि हो । संसारभरि नै ‘टुरिजम ट्र्याङ्गल’ को अवधारणा छ । हामीले पनि प्रदेशभित्रकै ‘टुरिजम ट्र्याङ्गल’ बनाउने बारे सोच्नुपर्ने हुन्छ । अझ हामीसँग दुईटा ट्र्याङ्गल छन् । एउटा धार्मिक ट्र्याङ्गल हलेसी, वराहक्षेत्र र पाथीभरा । अर्को भौगोलिक ट्र्याङ्गल । धरान, इलाम र ताप्लेजुङलाई समेटेर हामी प्रदेशको बेग्लै ट्र्याङ्गल बनाउन सक्छौँ । यी गन्तव्यमा धार्मिक, पर्यापर्यटन, साहसिक खेल, सहरी मनोरञ्जन, सपिङलगायतका क्रियाकलापहरू पाइन्छन् । यी क्षेत्रमा आकर्षक गन्तव्य, सहज पहँुच, पूर्वाधारको उपलब्धता र पर्यटकमैत्री नागरिकहरू छन् । जुन पर्यटनका आवश्यक तत्व हुन् । यसरी प्रदेश १ को पर्यटनलाई हामी सबैले मिलेर कार्य गरेको खण्डमा छिट्टै उचाइमा पु¥याउन सक्छौँ । यतिबेला पूर्वमा भेला भएका सबै पर्यटनकर्मीको, सरकारको र सरोकारवालाको ध्यान यसतर्फ आकर्षित भएर सोहीअनुसार नीति निर्माण, लगानी र प्रवद्र्धन हुन आवश्यक छ र अन्त्यमा, पाटाले आयोजना गरेको डिएमसी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।