नेपालमा खाद्यवस्तुमा आम नागरिकको स्वास्थ्यबारे ध्यान पु¥याएको पाइँंदैन । बजारमा पाइने माछा, मासुदेखि अन्न, दाल, सागसब्जीहरू खानयोग्य छन् कि छैनन् भनेर गरिनु पर्ने नियमन फितलो छ । यसबाट सर्वसाधारण नागरिकले कस्तो खानेकुरा खाइरहेका छन् भन्ने थाहा पाउन मुस्किल छ । यसरी अनियन्त्रित बजारका कारण कतिको स्वास्थ्यमा असर पुगिरहेको छ वा कतिको ज्यान गइरहेको छ भन्ने यकिन छैन । सरकारले नै यसतर्फ ध्यान पु¥याउन सकेको छैन । अहिले देशमा तीन तहका सरकार रहे पनि तिनीहरूको प्राथमिकतामा उपभोक्ताको स्वास्थ्य परेको देखिंँदैन । त्यसैले बजारमा पाइने खानेकुरा जथाभावी प्रयोग गर्नु उचित हुँदैन ।
उपभोक्ता स्वास्थ्यमा हाम्रो अवस्था कस्तो छ ? भन्ने कुराको उदाहरण भारतबाट भित्रिने माछालाई लिन सकिन्छ । पूर्वी तराईका नाकाहरूबाट पहिला दैनिक सयौं क्रेट मुङ्ग्री माछा विना रोकटोक भित्रिने गरेका थिए । सीमा नाकाबाट परीक्षण विनै भित्रिने यस्ता माछा सर्वसाधारण उपभोक्ताले प्रयोग गर्दै आएका थिए । केही वर्षयता भारतको महाराष्ट्रले यो माछा खान नहुने र यसबाट विभिन्न रोगहरू निम्तिने भन्दै किनबेचमै प्रतिबन्ध लगायो । त्यसपछि भने नेपालमा पनि मुङ्ग्री माछा किनबेचमा प्रतिबन्ध छ । सरकारले प्रतिबन्ध लगाए पनि तराईका विभिन्न नाकाबाट माछा भित्रिइरहेका छन् । आम नागरिकमा सचेतना नहुँदा यस्तो माछा प्रयोग गरिरहेका छन् । त्यसले उनीहरूको स्वास्थ्यमा कस्तो असर परिरहेको छ ? कसैलाई वास्ता छैन । क्वारेन्टाइन विभागले स्वास्थ्य प्रमाण–पत्र विना भारतबाट मासुजन्य पदार्थ आयात गर्न रोक लगाएको छ । यद्यपि तराईका झापा, मोरङ र सुनसरीका नाकाबाट अवैधरूपमा भित्रिरहेका माछा प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसबाट सर्वसाधारण उपभोक्ता अस्वस्थ माछा मासुबारे सचेत छैनन् भन्ने देखिन्छ । उनीहरूलाई सचेतना जगाउने काम स्थानीय तहहरूको पनि हो ।
खाद्यसम्बन्धी विज्ञहरूले मुङ्ग्री माछा नखान सुझाव दिइसकेका छन् । उनीहरूको भनाइमा यो माछाको प्रयोगबाट क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोगहरू लाग्ने खतरा हुन्छ । यो प्रजातिको माछा अत्यधिक मांसाहारी हुने भएकाले व्यापारीहरूले तिनलाई छिटो हुर्काउन सिनो र बोसोजस्ता कुरा दिने गरेको बताइन्छ । त्यसमाथि भारतबाट नेपाल भित्रिने यस्ता माछामा विषादीयुक्त रसायनसमेत मिसाउने गरिएको विज्ञहरूले बताउने गरेका छन् । नेपालमा विशेषगरी भारतको आन्ध्र प्रदेशका माछा उत्पादकहरूले माछा सड्नबाट जोगाउन बरफसँगै ५ प्रतिशत फर्मालिनको झोल मिसाउने गर्दछन् । फर्मालिनको प्रयोगबाट माछा ताजा देखिए पनि स्वास्थ्यमा नकारात्मक असर पर्ने बताइन्छ । यसरी जथाभावी भित्रिइरहेका अखाद्य वस्तुहरू समयमै नरोक्ने हो भने आम नागरिकको स्वास्थ्यमा समस्याहरू थपिँदै जाने निश्चित छ ।
माछा त एउटा उदाहरण मात्र हो, अन्य खाद्यान्नहरू पनि कस्तो अवस्थामा नेपाल भित्रिन्छन् ? भन्ने विषयमा ध्यान पु¥याएको पाइँंदैन । सीमित सीमा नाकामा रहेका क्वारेन्टाइन कार्यालयले त्यसै पनि आवश्यक मात्रामा परीक्षण गर्ने र कडाइ गर्ने गरेको पाइँंदैन । त्यसमाथि खुला नाकाको फाइदा उठाउँदै तस्करी धन्दा चलाउनेहरूले जताततैबाट अस्वस्थ सामान भिœयाउने गरेका छन् । सर्वसाधारणको सस्तो भए पुग्ने, गुणस्तरमा ध्यान नदिने बानी र सरोकारवाला निकायको ध्यान कम भएका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा छ । उपभोक्ता स्वास्थ्यका विषयमा तीनै तहका सरकारले ध्यान पुर्याउनु आवश्यक छ ।