बिर्तामोड । साझेदारी व्यवसायमा खट्पट भएपछि झापामा व्यवसायीका छोराको अपहरण भएको तथ्य खुलेको छ । अपहरणमा युवतीको प्रयोग भएको समेत प्रहरी अनुसन्धानमा फेला परेको छ ।
माघ ५ गते बिर्तामोड–३ का २१ वर्षीय राजीव बस्नेत साथीसँग इलामको अन्तु जान्छु भन्दै घरबाट निस्किए । प्रदेश १–०१–०१५ प ८०९७ नं. को मोटरसाइकल चढेर गएका बस्नेतलाई बिर्तामोडकै प्रतिक्षा योङ्हाङले अन्तु जान भन्दै बोलाएकी थिइन् । तीनजना युवती र उनी झापाको सालबारी पार्क घुमेकोसमेत सिसिटिभी फुटेजमा फेला परेको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरू अन्तु गए नगएको बारे भने प्रहरीले थाहा नभएको बताएको छ । घरबाट निस्किएको दुई घण्टापछि मोबाइल बन्द भएपछि उनी अपहरणमा परेको हुनसक्ने आशङ्का परिवारको थियो । उनी साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई हुलियासहित उजुरी दिएको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरका अनुसार बस्नेत बेपत्ता भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो । उनी र उनको मोबाइलमा सम्पर्क भएका सयौं व्यक्तिलाई कार्यालयमा बोलाएर सोधपुछ गर्ने काम प्रहरीले गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा बिर्तामोडमा कोठा भाडामा लिएर बस्ने योङ्हाङले ललाईफकाई बस्नेतलाई अपहरणकारीको पञ्जामा पारेको निष्कर्ष प्रहरीको निस्कियो । उनको अपहरणको योजना त्यही कोठाबाट बनेको निष्कर्ष प्रहरीको छ ।
योङ्हाङलाई बुद्धशान्ति घर भई हाल भारतको मनिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी नामको व्यक्तिले प्रयोग गरेको समेत प्रहरीले पत्ता लगायो । राजीवका बाबु कमल बस्नेत र भण्डारी पहिले व्यापारमा साझेदार थिए । तर, पछिल्लो समय आर्थिक लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो । उनीहरू सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ । ‘पीडितका बाबु र भण्डारी पुराना व्यावसायिक साझेदार रहेछन् । व्यापारमा लेनदेनको समस्या रहेछ, त्यही निहुँमा राजीवलाई अपहरण गरिएको खुलेको छ’ डिएसपी कुँवरले भने, ‘बस्नेतले भण्डारीलाई रकम तिर्न बाँकी रहेको र त्यही कारण भाडाका मान्छे परिचालन गरेर छोरालाई अपहरण गरेको पाइयो ।’
१० दिनसम्म बेपत्ता पारिएका उनलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । प्रहरीले भण्डारीले अपहरण गर्न ९ जना मानिस प्रयोग गरेको पाइएको बताएको छ । ६ जना नेपालीमध्ये तीनजना युवती छन् । त्यस्तै तीनजना भारतीय रहेका छन् । ती तीनजना युवतीले हनीट्रयाप गरी कक्षा १२ मा पढ्ने बस्नेतलाई अपहरण गरेका थिए । माघ ४ गते ती युवतीहरूले राजीवसँग घुम्न जाने योजना बनाएका थिए ।
त्यसपछि भोलिपल्ट ती युवक श्रीअन्तु जान्छु भनी घरबाट हिँडेका थिए । उनीहरू सालबारी पनि गएको सिसिटीभीले देखाएको डिएसपी कुँवरले बताए । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर भण्डारीलाई उतै पक्राउ गरायो । भण्डारी पक्राउ परेपछि उनीहरूले बस्नेतलाई नेपालको चारआलीमा ल्याएर छोडिदिए । प्रहरीका अनुसार भारतमा राजनीतिक तथा आर्थिक पहुँच राम्रो बनाएका भण्डारी पनि यतिबेला रिहा भइसकेका छन् । ‘घटनामा ठूलो रहस्य छ’ उनले भने, ‘हनी ट्रयाप, आर्थिक लेनदेन, अपहरणको केसमा प्रहरीले ठीक ठाउँमा एक्सन लिनसक्दा युवकलाई सकुशल जोगाउन सकियो, त्यो ठूलो उपलब्धि हो ।’
बस्नेत र भण्डारीबीचको लेनदेन विवाद ८–१० वर्षअगाडिकै हो । दुवैले भारतको मनिपुरमा सँगै व्यापार गरेका थिए । बस्नेतसँग रकम पाउने भन्दै भण्डारीले विप्लव माओवादी पनि लगाएका थिए । बस्नेतले भण्डारीलाई १ करोड भारु बुझाएका थिए । तर, भण्डारीले अझै २० करोड भारु पाउने दाबी गर्दै आएका थिए । पैसा नपाइने सोचेर उनले छोरालाई अपहरण गर्न लगाएको डिएसपी कुँवरले बताए । केही समयअगि मनिपुरमा रहेका भण्डारी आफै बिर्तामोड आएका थिए । बिर्तामोडको एउटा होटलमा ४–५ दिन बसेर उनले सो अपहरणको योजना बनाएको खुलेको छ ।
अपहरणकारीले छोरालाई छुटाउन ४० करोड फिरौती रकम मागे पनि परिवारले भने नदिएको प्रहरीले जनाएको छ । अपहरणकारीहरूले परिवारलाई अपहरित युवकको भिडियोसँगै म्यासेज पनि पठाएका थिए । तर, केही सीप नलागेपछि र प्रहरीले पक्राउ गर्न लागेपछि उनीहरू युवकलाई छोडेर भागेको बताइएको छ । प्रहरीले घटनामा संलग्न योङ्हाङलाई पक्राउ गरेको छ । घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला अदालतमा ५ दिन म्याद थप गरी मुद्दा दायर गरिसकेको डिएसपी कुँवरले जानकारी दिए ।