धरान । २०७८ मा धरानमा प्रमुख प्रशासकीय अधिकृत भएका लक्ष्मीप्रसाद पौडेललाई राष्ट्रिय सूचना आयोगले कारबाही गरेको छ । 

उनीलगायत चारवटा सार्वजनिक निकायका प्रमुखलाई कारबाही गरेको जनाएको छ । आयोगले सूचनाकर्तालाई सूचना दिन इन्कार गरेपछि कारबाही गरेको जनाएको छ । पौडेल धरानमा आएका बेला सार्वजनिक निकायका सूचना दिन आनाकानी गर्ने गरेका थिए । आयोगले आर्थिक वर्ष २०७८÷२०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गरेपछि कारबाही गरेको जनाएको छ ।

आयोगले कारबाहीमा पर्नेमा पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवं कार्यकारी निर्देशक घनश्याम खतिवडा, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस (बागबजार) का कार्यालय प्रमुख धनप्रसाद पण्डित रहेका छन् । 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही गरिएको आयोगका सूचना आयुक्त कमला वली थापाले जानकारी दिए । परिच्छेद पाँचको सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाको दफा ३२ मा मनासिव कारणविना सूचना नदिएको वा दिन इन्कार गर्ने कार्यालय प्रमुख वा सूचना अधिकारीलाई एक हजार रुपैयाँदेखि २५ हजारसम्मको जरिवानाको व्यवस्था छ । 

राससको सहयोगमा