भद्रपुर । भारतबाट दैनिक आउने भारतीय चिठ्ठा कारोबारीको बिगबिगी बढ्दा पनि यसको रोकथाम तथा नियन्त्रणमा प्रशासन असफल देखिएको छ ।

भारतीय चिठ्ठा रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएकोमा स्थानीयबासी चिन्तित बनेका छन् । प्रहरीकै अगाडि कारोबारीले खुलेआम सर्वसाधारणलाई चिठ्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेकोजस्तो गरेको स्थानीयको आरोप छ । चिठ्ठाको लतमा लागेर नेपाली नागरिक घरबारविहीन हुन थालेको स्थानीयको गुनासो छ ।

सुरक्षाकर्मीले चिठ्ठा कारोबारीमाथि सीमाक्षेत्रमा कडाइका साथ निगरानी नबढाएका कारण यसमा सक्रिय गिरोहले खुलेआम बिक्री वितरण गरिरहेको पाइएको छ । १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले बिहान, दिउँसो र बेलुकाको समयको सर्वसाधारणलाई चिठ्ठा बेच्ने गरेका छन् ।

भारतीय बजारमा छ्यापछ्याप्ती पाउने चिठ्ठा नेपालका कारोबारीले गोजीमा, झोलामा र पसल–पसलमा बेच्ने गर्छन् । चिठ्ठा(लोट्री) पर्ने भन्दै सुन व्यवसायी, भाँडा व्यापारीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई चिठ्ठा खरिद गर्न लगाई दैनिक भारतीय पाँचलाख रुपैयाँ सङ्कलन गरी बिहान करिब दश बजे पुनः भारत फर्किने दैनिकी नै बनेको छ ।

भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित  मिजोराम स्टेट लट्रीज र नागाल्याण्ड स्टेट लट्रीज भारतमा सो चिठ्ठा दिनमा ३ समय खेलाउने गरिएको छ । दैनिक सञ्चालित १ करोड लेखिएको चिठ्ठामा ए, बी, सी, डी लगायतको अक्षर लेखिएको हुन्छ । कम्पनीले चिठ्ठा खरिदकर्ताको मोबाइलमा कुन अक्षर रोज्ने हो सो को जानकारी पठाइदिने गरेको हुन्छ ।

भारतको पश्चिम बङ्गाल, सिक्किम, नागाल्याण्डका प्रतिबन्धित चिठ्ठाहरू झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार र पुरानो नगरपालिका कार्यालय नजिक, चन्द्रगढी, बिर्तामोडस्थित भद्रपुर रोडको बस स्टेण्ट, धुलाबारीको पुरानो हङ्कङ बजार, काँकडभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रका पछाडि, ट्याक्सी पार्क छेउछाउ, सतीघट्टा रोडलगायतका ठाउँहरूमा बिक्री भइरहेको छ ।

नेपाल–भारतको सीमा नाका सिलिगुडी, नक्सलबारी र पानीट्याङ्कीबाट दिनहुँ आउने चिठ्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको छ ।

‘हालसम्म दश लाख रुपैयाँ गइसक्यो, मन मान्दैन । यो नसा नै भइसक्यो । श्रीमती, घरपरिवार, व्यापार–व्यवसाय पूरै चौपट भयो । रातमा निन्द्रा र दिनमा भोक सबै बर्वाद भयो’–गहभरि आँशु पार्दै एकजना पीडितले आफ््नो भावना पोखे । अर्का एक भाँडा व्यापारीको चिठ्ठाकै कारण दोकानको पुँजी नै सकियो । ‘चिठ्ठा देखेपछि किन्न मन लागिहाल्छ के गर्नु, उनीहरू नआए त यो बानी हटेर जाने थियो’–उनी गुनासो सुनाउँछन् ।

भारतबाट दैनिक ज्याला मजदुरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न लगायतले भारतीय चिठ्ठा नेपाल भिœयाउने र यहाँका केही व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिठ्ठा खेल्ने गरेका छन् ।

दशौं वर्षदेखि भारतीय चिठ्ठा खेलेर घरजग्गासमेत स्वाहा पारेका एक व्यक्तिकी श्रीमती नाम नबताउने शर्तमा भन्छिन्, ‘यो इण्डियाको चिठ्ठा रोक्ने कुनै कानून छैन ? बरु जुवा–तास खेलेको भए, कहिलेकाहीँ जित्थे होलान्, तर यो चिठ्ठाले हाम्रो परिवार नै सक्ने भो । घरमा खाना हुँदैन, केटाकेटीको स्कुलको शुल्क तिरेको छैन, तर उहाँलाई दैनिक भारतीय चिठ्ठा किन्न पैसा चाहिन्छ । गरगहना सकिए, जग्गा–जमिन सकियो, अब हामीलाई बेच्न मात्र बाँकी छ । तर, परेको कहिल्यै थाहा छैन । कहिलेकाहीँ ५–७ सय परेको सुनाउनुहुन्छ, परेको दिन टन्न खाएर लठ्ठ भएर आउनुहुन्छ । यो भारतीय चिठ्ठा मेरो सौताभन्दा खत्तम भयो’–उनले भनिन् ।
चिठ्ठा बेच्नेहरूका अनुसार भद्रपुर–चन्द्रगढीबाट मात्रै दैनिक ५ लाखभन्दा बढीको चिठ्ठा खरिद गरिने गरेको छ । एक चिठ्ठा कारोबारीले भने, ‘हामीलाई अग्रिम अर्डर गरेर मगाउँछन् यहाँका व्यक्तिहरू, हामीलाई पनि नेपालमा बिक्री गर्ने अधिकार छैन । चिठ्ठा परिहाल्यो भने पनि भारतकै देवीगञ्ज, खोरीबारीलगायत भारतकै ठेगाना देखाएर चिठ्ठाको रकम लिने गरिएको छ । हामी त चिठ्ठा बिक्रेता हौं, जति धेरै बिक्री गर्न सक्यो उति बढी कमिसन आउँछ र बेचेको चिठ्ठामा परिहाल्यो भने पनि कमिसन आउँछ ।’

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवम् प्रवक्ता वसन्त पाठकले नेपाली नै गएर चिठ्ठा खरिद गर्ने गरेको फेला परेको बताए । बुधबार दिउँसो मात्र ३ जनालाई भद्रपुर र काँकडभिट्टाबाट चिठ्ठासहित फेला पारिएको र सम्झाएर पठाएको उनले बताए । भारतीय कारोबारी भने फेला नपरेको उनको भनाइ छ । सबै सीमा नाकामा निर्देशन दिइसकिएको उनको भनाइ छ ।

चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । ऐनअनुसार नेपाल सरकारले तोकिदिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरणसम्बन्धी कुनै लगत नेपाल अधिराज्यबाहिर पठाउने वा चिठ्ठासम्बन्धी काम गर्नको लागि कुनै घरजग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।