सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधिले अङ्ग्रेजी विषय शिक्षक आवश्यक भएकोमा सामाजिक शिक्षकलाई हाजिर गराउन लागेको भन्दै अभिभावकले मङ्गलबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।
अभिभावकले जनप्रतिनिधिले मनोमानी गरेको आरोप लगाए । विद्यालयमा एउटा विषयगत शिक्षक पठाउनु पर्नेमा अर्को विषयगत शिक्षक पठाएकाले तालाबन्दी गरिएको अभिभावक सुरेन्द्र मेहताले बताए ।
विद्यालयका पूर्व प्रधानाध्यापक एवम् अङ्ग्रेजी शिक्षक मनोजकुमार मेहताले मावि तहमा नाम निकालेर सरुवा भएपछि उनको स्थान रिक्त रहेको थियो । मेहताका अनुसार विद्यालय सञ्चालन भएको १० महिना बितिसक्दा पनि अङ्ग्रेजी विषय पढाइ नभएपछि तालाबन्दी गर्नुपर्ने अवस्था आएको हो ।
विद्यालय प्रशासनले गाउँपालिकासँग माग गर्दा विषयगत शिक्षक पठाउनमा बेवास्ता गरेर सामाजिक विषयको शिक्षक मनोज पोखरेललाई पठाएकाले हाजिर गराउन नहुने माग गर्दै तालाबन्दी गरेका छन् । पटक–पटक शिक्षा शाखा र गाउँपालिका कार्यालयले अटेर गरेपछि मङ्गलबार मध्यान्हदेखि रामनारायण मेहताको संयोजकत्वमा तालाबन्दी गरिएको हो ।
विद्यालयको कार्यालयमा तालाबन्दी गरिएकाले विद्यार्थीको पढाइ प्रभावित नहुने अभिभावक मेहताले बताए । यता विद्यालयका प्रधानाध्यापक तेजनारायण साहले अङ्ग्रेजी विषयका शिक्षक नहुँदा पढाइ अगाडि नबढेको बताए । यता विद्यार्थीले पनि विषयगत शिक्षकको माग गर्दै तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विषयगत शिक्षकको पहल जारी रहेको र तत्काल सामाजिक शिक्षक पठाएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मेहता, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सहादत मन्सुरीसमेतको उपस्थितिमा तालाबन्दी गरिएको छ ।