विराटनगर । ब्राउन सुगरसहित दुई जना प्रहरी पक्राउ परेका छन् । नेपाल प्रहरीका एक जना जुनियर अधिकृत र हायक हवल्दार लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका हुन् । 

भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ रानीस्थित १ नम्बर ढाटबाट असइ (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेका हुन् । यसअघि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए ।  

उदयपुरको कटारी नगरपालिका–५ घर भएका ३० वर्षीय लाखे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।  

उनका अनुसार इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ । ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका–२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी राईले दिए । उनका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ । 

ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि गत मंगलबार पनि विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए ।  सुरुमा १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विराटनगर–१५ का २० वर्षीय नजाम खानले नाम लिएपछि हवल्दार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानबाट भारतको जोगवनीदेखि नेपालतर्फ ब्राउन सुगर भित्राउन यादवले खानलाई भरियाको रूपमा प्रयोग गरेको खुलेको छ । विराटनगर–१४ मा बस्दै आएका यादव वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए ।