धनकुटा । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री निर्मला लिम्बूले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार नगरी काम गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । 

मन्त्री लिम्बूले प्रदेश स्वास्थ्य निर्देशनालय, आयुर्वेद औषधालय, स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र र धनकुटा अस्पतालका कार्यालय प्रमुख र कर्मचारीहरूलाई धनकुटामा शुक्रबार आयोजित एक कार्यक्रममा यस्तो निर्देशन दिएकी हुन् । मन्त्री लिम्बूले प्रदेश नं. १ मा स्वास्थ्यमन्त्री भएपछि १४ वटै जिल्लाको सरकारी स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेकी छन् ।

यसैक्रममा धनकुटामा पनि प्रदेश सरकारको मन्त्रालयस्तरबाट स्वास्थ्य सचिव डा. अनुज भट्टचनसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले भनिन्, ‘स्वास्थ्य र शिक्षामा बढी भ्रष्टाचार हुन्छ भन्ने सुनेको छु, त्यसलाई रोक्न कर्मचारीहरूले बढी जिम्मेवार भएर काम गरी सहयोग गर्नुपर्छ ।’ 

स्वास्थ्य क्षेत्रमा धेरै चुनौतीहरू रहेको औंल्याउँदै मन्त्री लिम्बूले थपिन्, ‘स्वास्थ्य उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले स्वास्थ्यकर्मीहरूलाई कर्तव्य सम्झिएर काम गर्न अनुरोध गर्दछु ।’ उनले प्रदेश नं. १ सरकारले स्वास्थ्य क्षेत्रलाई बढीभन्दा बढी जिम्मेवार र उत्तरदायी बनाउन पहिलो प्राथमिकतामा राखेको बताइन् ।

यो वर्षको बजेट कम रहेको स्मरण गराउँदै आगामी वर्षदेखि स्वास्थ्य क्षेत्रमा बजेटको अभाव नहुने गरी कार्यक्रम बनाउने मन्त्री लिम्बूले बताइन् । अनुगमनको क्रममा मन्त्री लिम्बूले प्रदेश स्वास्थ्य कार्यालय, तालिम केन्द्र, स्वास्थ्य कार्यालय, आयुर्वेद अस्पताल, धनकुटा अस्पतालको अनुगमन गरेकी छन् । अनुगमनको क्रममा धनकुटा अस्पतालको बिरामी उपचार गर्ने वार्ड रहेका कोठाहरू फोहोर रहेको भन्दै सफा राख्न निर्देशन दिएकी छन् । 

यसैक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. अनुज भट्टचनले अरू मन्त्रालयभन्दा नमुना मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालयलाई स्थापित गर्न सबैले जिम्मेवार र इमान्दार भएर कार्य सम्पादन गर्न अनुरोध गरेका छन् ।

उनले स्थानीय तहको हात र खुट्टाजस्तो भएर स्वास्थ्यकर्मीहरूलाई काम गर्न सुझाव दिए । उनले तत्कालै प्रदेश स्वास्थ्य मन्त्रालयले १४ वटै जिल्लाको स्वास्थ्य कार्यालय प्रमुखहरू र अस्पताल विकास समितिका अध्यक्षहरूलाई बोलाएर बृहत् छलफल गरी स्वास्थ्य क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे छलफल आयोजना गर्ने बताए । 

आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेत, तालिम केन्द्रका निर्देशक रोहित पाण्डे, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेण्डेण्ट डा.अमिताभ ठाकुर, आयुर्वेद अस्पतालका प्रमुख सूर्यनारायण मेहेता र स्वास्थ्य कार्यालय धनकुटाका निमित्त कार्यालय प्रमुख गोकुल भण्डारीले चालु आ.व.को साउनदेखि पुस मसान्तसम्मको कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।