धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी हालका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मालाई दिइएको छ । स्वास्थ्य मन्त्रालयले नै उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।

तर, आधिकारिक पत्र आउन बाँकी रहेको निमित्त उपकुलपतिमा जिम्मेवारी पाएका प्रा.डा. शर्माले बताए । ‘आधिकारिक पत्र आइपुगेको छैन, मैले पनि सुनेको हो’ –उनले फोनसम्पर्कमा भने ।

उनका अनुसार स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सह–कुलपति पदम गिरीले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको जानकारी आएको छ । प्रा.डा. शर्मालाई गत पुस ६ गतेदेखि लागू हुने गरी शिक्षाध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सह–कुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नियुक्त गरेका थिए । 

यता उपकुलपति डा. गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् ।

निलम्बन परेपश्चात् उक्त पद रिक्त रहेको थियो । पद रिक्त भएको ४४ दिनपश्चात् स्वास्थ्यमन्त्री गिरीले प्रा.डा.शर्मालाई निमित्तको जिम्मेवारी दिएका हुन् । यता मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले आफू दुई दिनको छुट्टीमा रहेकाले आधिकारिक रूपमा जिम्मेवारी दिए नदिएको बारे थाहा नभएको बताए ।

तर, पत्रपत्रिकाहरूमा जिम्मेवारी दिइसकेको समाचार आएकाले सत्य भएको हुनसक्ने बताए । ‘सचिवालयबाट चिठ्ठी बनिसकेको हुनसक्छ, मचाहिँ दुई दिनदेखि छुट्टीमा थिएँ’ उनले फोन सम्पर्कमा भने, ‘मैले पनि पत्रपत्रिकाबाटै थाहा पाएको हुँ, जिम्मेवारी दिएको हुनसक्छ ।’