आज माघ शुक्ल पूर्णिमा । आजभन्दा ठीक एक महिनाअघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी ब्रतकथा सुरु भएको थियो । विशेषगरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी ब्रतकथा आजबाट समाप्त हुँदैछ । नेपालमा धार्मिक सहिष्णुता कायम भएकोले मान्न मिल्ने, श्रवण गर्न मिल्ने अन्य सम्प्रदायका व्यक्तिहरूले पनि यस ब्रतकथाप्रति सम्मान राखेको पाइन्छ । यस श्री स्वस्थानी ब्रतकथामा विशेषगरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।
विशेषगरी काठमाडौंको साँखुको शाली नदीमा ब्रतालुहरूको आज भीड हुन्छ । कतिपय श्रद्घालु भक्तजनहरू दिनहुँ यस स्थानमा नुहाउन पनि जाने गर्दछन् । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्घालु भक्तजनहरूको भीड हुन्छ । हात, गोडाका नङ काटी नुहाइधुवाइ गरी शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले सुरु र आज अन्तिम दिनमा ब्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएका विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायू तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री वृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै ब्रत बस्छन्् । रातो पहिरन आकर्षक हुनुका साथै यसलाई श्रीवृद्धिको प्रतीक पनि मानिन्छ ।
यस श्री स्वस्थानी ब्रतकथामा महादेव, सतीदेवी, पार्वती तथा गोमा ब्राम्हणीको विशेष कथा पाइन्छ । संसार तथा मानव, दानव तथा देवताको उत्पत्तिको कथा पाइन्छ । विभिन्न दानवहरूसँगको लडाइँका कथाहरू पनि यसमा समेटिएका छन् । सुरुमा राक्षसी प्रवृत्तिहरू अर्थात् असत्यहरूको जित भएर क्षणिक आनन्दमा रमाए तापनि अन्तमा सत्यकै जित हुने कुरा विभिन्न प्रसङ्गहरूबाट बुझ्न सकिन्छ । घमण्ड गर्नाले पतन अवश्य हुन्छ ।
मानव होस् वा दैव, जो सुकैले गरेको घमण्डले हानि पुर्याउने भएकोले पद, प्रतिष्ठा, शक्ति, रूप, धन, सम्पन्नता आदिको घमण्ड त्याग्नै पर्ने कुरा यस कथाबाट सिक्न सकिन्छ । मानिस भएर जन्म लिइसकपछि सबैको सुखपूर्वक जीवन व्यतित हुँदैन । धेरै जनाको दुःख र कष्टपूर्ण जीवन हुने गर्दछ । यसो भयो भन्दैमा आत्तिने कार्य गर्नु हुँदैन । संयमित भएर आफ्नो सुकार्य मिहिनेतपूर्वक गर्दै जाँदा अन्त्यमा सुख अवश्य पाइन्छ भन्ने सन्देश पनि यसमा अन्तरनिहित छ ।
आफ्नै बुबा दक्ष प्रजापतिले आफ्नै अगाडि आफ्नो श्रीमान् महादेवको निकै निकृष्ट ढङ्गले अपमान गर्दछन् । आफ्नो पतिको अपमान सहन नसकी सतीदेवीले यज्ञमा हाम्फाली देह त्याग गर्छिन् । आफ्नी प्रिय पत्नी सतीदेवीको मृत्युपछि महादेव अन्यन्त शोकाकुल बन्छन् । उनले गरेको विलौनाले समस्त चराचर जगत् अत्यन्त दुःखी हुन्छन् ।
आफ्नी पत्नीको मृत शरीर बोकी बौलाहाजस्तै उनी एक तमासले हिँड्छन् । यही क्रममा सतीदेवीका अङ्गहरू विभिन्न स्थानमा पतन हुन थाल्दछन् । यही क्रममा धरानस्थित विजयपुरमा सतीदेवीको दाँत पतन भएको उल्लेख गरिएको पाइन्छ । यसैले यसलाई दन्तकाली भनिएको हो । आफ्नी पत्नीको वियोगबारे महादेवका जुन प्रसङ्गहरू उल्लेख गरिएका छन्, त्यसले कथा वाचक र श्रोताहरूलाई अत्यन्त भावविह्वल बनाउने गर्दछ । वास्तविक रूपमा पनि आफ्नो पति वा पत्नीको स्वर्गवासपछि बाँच्ने व्यक्ति एकल हुन पुग्दछ ।
मृत्यु यस्तो चिज हो जसलाई छेकेर छेक्न सकिन्न, रोकेर रोक्न सकिन्न । यस संसारमा जन्मेपछि एकदिन मर्नु पर्ने नै हुन्छ । आफूलाई बुझ्ने, आफ्नो इच्छा चाहना परिपूर्ति गर्न हरदम प्रयास गर्न खोज्ने आफ्नो नजिकको व्यक्तिको निधनले सम्बन्धित व्यक्तिलाई अत्यन्त दुःखी तुल्याउने गर्दछ । यस सत्यसँग परिचित व्यक्तिहरूले आफ्नो मर्म लुकाई बाँकी रहेको जीवनप्रति सकारात्मक भई जीवन व्यतीत गरिरहेको पाइन्छ, गर्नु पर्छ पनि । उहाँहरूप्रति यो स्तम्भकार हार्दिक नमन गर्न चाहन्छ ।
सबै व्यक्तिहरूको भावना एकै किसिमका हुँदैन । तसर्थ कतिपय महानुभावहरूले श्री स्वस्थानी ब्रतकथाप्रति विमति पनि राख्ने गरेको पाइन्छ । धार्मिकरूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधानअनुसार ब्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ । आज विधिवत्रूपमा ब्रत बसी श्री स्वस्थानीको अन्तिम कथा वाचन तथा श्रवणका साथै पूजा गरिन्छ । अन्तमा प्रसाद बाँडिन्छ । भोलिपल्ट बिहानै विधिअनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ । यसरी एक महिनासम्म चलेको स्वस्थानी ब्रतकथा आजबाट समाप्त हुँदैछ ।