सुनसरी । सुनसरी प्रहरीले लागूऔषध नियन्त्रणमा सक्रियता देखाएपछि एक हप्ताको अवधिमा ४ सय ८१ जना पक्राउ परेका छन् ।

लागूऔषध सेवन तथा कारोबार हुने विभिन्न मुख्य–मुख्य स्थानहरूबाट ४ सय ७३ जना पुरुष र ८ जना महिला गरी जम्मा ४ सय ८१ जना लागूऔषध दुव्र्यसनमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । लागूऔषध दुव्र्यसनमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएकामध्ये ४ सय ७५ जनालाई  सम्झाई बुझाई तथा आवश्यक मनोपरामर्श दिई निजहरूका अभिभावकहरूलाई जिम्मा लगाइएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।

नियन्त्रणमा लिइएकामध्ये १ जनालाई सुधार केन्द्र पठाइएको र ५ जनालाई कानूनी प्रक्रिया बमोजिम मुद्दा चलाई आवश्यक अनुसन्धान कार्य भइरहेको उनले बताए । यस्तै अभिभावकहरूलाई जिम्मा लगाइएकाहरूको चालचलन, व्यवहारसम्बन्धी फलोअप गर्ने कार्य भइरहेको डिएसपी राईले बताए ।

लागूऔषध सेवन तथा दुव्र्यसनमा सबैभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू संलग्न रहेको देखिन्छ । विशेषगरी विद्यालय तथा कलेजमा अध्यनरत युवाहरू गलत साथीभाइको सङ्गत, पारिवारिक समस्यामा परेका व्यक्तिहरू लागूऔषधको दुरुपयोग र दुव्र्यसनमा संलग्न भएको उनले बताए । साथै उनीहरूको व्यक्तिगत बानी व्यहोराबारे अभिभावकहरूलाई समेत थाहा नहुने र आफू लागूऔषध दुव्र्यसनी तथा सेवनकर्ताको रूपमा चिनाउन नचाहने देखिएको बताइएको छ ।

खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको कारोबार बढेको पाइन्छ । सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाही, श्रीपुर सहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरू भारतीय बजारहरूमा गएर लागूऔषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् ।

खुला सीमा हुनाले लागूऔषध कारोबारी तथा सेवनकर्ताको सङ्ख्या बढेकाले भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँचमा थप कडाइ गरेको छ । नेपाली युवाहरू भारतको भीमनगर, वीरपुर, फुल्काहालगायतका बजारमा गएर दिनहुँ लागूऔषध सेवन गर्ने र चेकजाँचमा पक्राउ पर्नेहरूलाई एसएसबीले नियन्त्रणमा लिई घण्टौंपछि मात्र छाड्ने गरेको छ ।

सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबारीहरू धमाधम पक्राउ पर्न थालेको  डिएसपी राई बताउँछन् । कारोबार रोक्न सक्रियताका साथ लागेकाले पछिल्लो समय लागूऔषध, हातहतियार, चोरीपैठारी, राजस्व छलीजस्ता गैरकानूनी कारोबार नियन्त्रणउन्मुख अवस्थामा रहेको उनले दाबी गरे ।

बढ्दो लागूऔषधको ओसार–पसार, बिक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउँदै डिएसपी राईले पक्राउ परेकालाई प्रचलित कानूनबमोजिम कारबाही गरी बढ्दो लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरूलाई समाजमा पुनस्र्थापना गराउन अभिभावकहरूलाई थप जिम्मेवार बन्न सचेत गराइएको बताए ।

समाजमा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले सुनसरी जिल्ला अन्तर्गतका लागूऔषध सेवन तथा कारोबार हुने मुख्य–मुख्य स्थानहरूमा विशेष सुरक्षा योजना बनाई मातहतका सम्पूर्ण प्रहरी इकाइहरूमा विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालयले सुनसरी जनाएको छ ।