युवापुस्ता लागूऔषधको दुव्र्यसनमा फस्ने समस्या नयाँ होइन, तर सरकारी संयन्त्र र गैरसरकारी संस्थाहरू न्यूनीकरणका लागि लामो समयदेखि लाग्दासमेत समस्या बढ्दै जानुले युवापुस्तालाई कसरी जोगाउने भन्ने चुनौती थपिएको छ । लागूऔषध न्यूनीकरणका लागि भनेर कयौं गैरसरकारी संस्थाहरूले करोडौं रुपैयाँ सिध्याएका छन् । सरकारी निकायहरूले पनि खर्च गरिरहेका छन् । यद्यपि लागूऔषध प्रयोग वा बिक्रीवितरण गरेको अभियोगमा दैनिक दर्जनौं युवाहरू पक्राउ पर्ने गरेका छन् । सुनसरी जिल्लामा मात्र लागूऔषध सेवन तथा कारोबारको आरोपमा एक हप्ताको समयमा ४ सय ८१ जनापक्राउ गरेका छन् । यसरी पक्राउ पर्नेहरूमा अधिकांश १६ देखि ३० वर्ष उमेर समूहका छन् । सुनसरीको मात्र होइन, भारतसँग सीमा जोडिएका अधिकांशजसो जिल्लाहरूको प्रमुख समस्याका रूपमा लागूऔषध देखापरिरहेको छ । भारतसँग सीमा जोडिएका जिल्लाहरूबाट फैलिँंदै लागूऔषधको सञ्जाल तराईका गाउँगाउँ र पहाडसम्म फैलिरहेको छ ।
प्रदेश नं.१ का भारतसँग सीमा जोडिएकामध्ये पनि तराईका सुनसरी, मोरङ र झापा जिल्लामा लागूऔषधको ठूलो समस्या देखिएको छ । पछिल्लो समय यो देशकै समस्याका रूपमा देखिएको छ । लागूऔषधका कारण कयौंको घरबार गुमेको छ, परिवार गुमेको छ, अझ ज्यानै गुमेको छ । समाजका विकराल समस्या बनिरहेको लागूऔषध दुव्र्यसनलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्ने विषयमा सरकार गम्भीर बन्नु आवश्यक छ । सङ्घीयतासँगै देशमा तीन तहका सरकार छन् । लागूऔषधको दुव्र्यसन न्यूनीकरणका लागि स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकार गम्भीर बनेर लाग्नु आवश्यक छ । अहिले लागूऔषधका कारोबारी र प्रयोगकर्तालाई प्रहरीले पक्राउ गर्ने र जेल पठाउने काम गरिरहेको छ । यसले मात्र समस्याको समाधान हुने छाँट देखिंँदैन । किनभने मूल कुरा यसको स्रोतमा प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । नेपालमा लागूऔषध भित्रिने प्रमुख स्थान सीमा क्षेत्रका भारतीय बजारहरू नै हुन् । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै लागूऔषधका कारोबारीले नेपालमा लागूऔषधको ठूलो कारोबार गरिरहेका छन् । तस्करहरूको आर्थिक लाभका लागि नेपाली युवाहरू फसिरहेका छन् ।
प्रहरीले लागूऔषधका कारोबारी पक्राउ गर्न सक्रियता बढाउनु सकारात्मक कुरा नै हो । उनीहरूको जिम्मेवारीभित्रै पर्ने काम पनि हो यो । तर, यतिले मात्र लागूऔषधको कारोबार नियन्त्रण हुँदैन । लागूऔषध सेवन गर्ने सामान्य युवाहरू र सानातिना कारोबारीहरू समातिए पनि ठूला कारोबारी पक्राउ पर्नबाट बच्दै आएका छन् । आक्कलझुक्कलबाहेक लागूऔषधका ठूला कारोबारी पक्राउ पर्न नसक्नुले हाम्रो सुरक्षा निकायले पनि गम्भीरताका साथ लिनु आवश्यक देखिन्छ । लागूऔषधको समस्या भएका क्षेत्रमा स्थानीय तहहरूले नीति बनाएरै लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि काम गर्नु आवश्यक छ । आमनागरिकमा लागूऔषधविरुद्ध सचेतना जगाउनु आवश्यक छ । अझ वडातहदेखि नै प्रहरी प्रशासनसँग सहकार्य गरेर नागरिक सचेतना जगाउनेदेखि एकताबद्ध भएर यसको नियन्त्रण गर्ने कार्यमा लाग्न ढिला गर्नु हुँदैन । अहिले नै सयौं युवा लागूऔषधका कारण जेलमा छन्, हजारौंको भविष्य अन्धकार बनिरहेको छ । अझै पनि पुरानै तरिकाले काम गरिरहने हो भने युवापुस्तालाई जोगाउनै गाह्रो हुने अवस्था आउन सक्छ । त्यसैले स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर लागूऔषध दुव्र्यसनविरुद्ध काम गर्नु जरुरी छ ।