आजकाल भारतीय मुद्रा (भारु) नेपाली बजारमा एक प्रकारले अवमूल्यन भएको छ अर्थात् अनौपचारिक रूपमा मूल्यमा एकाएक गिरावट आएको छ । सामान्यतः अन्य मुद्रा कारोबार गर्दा विनिमय दर दैनिक रूपमा परिवर्तन भइरहन्छन् भने भारतीय मुद्राको हकमा भने स्थिर रहँदै आएको छ । अहिले पनि भारतीय मुद्रा एक सय रुपैयाँको एक सय ६० रुपैयाँमै विनिमय गरिन्छ । तर, नेपाली बजार त्यसमा पनि सीमावर्ती बजारमा भारु आपूर्ति बाक्लिएपछि नेपाली मुद्रा महँगिएको छ अर्थात् एक सय रुपैयाँ भारु सटही गर्दा एक सय ५५ रुपैयाँ मात्रै दिइँदै आएको छ । यस्तो हुनुका पछाडि थुप्रै कारण रहेको व्यापारी तथा अर्थविज्ञहरू ठान्छन् । पहिलोः सुन तथा जडिबुटीको अवैध रूपमा कारोबार बढ्नु । दोस्रोः भारतको विहार क्षेत्रमा रक्सीमाथि लगाइएको प्रतिबन्ध । तेस्रोः भारतीय पर्यटकहरूको यसबेला चहल–पहल बढ्नु । चौथोः नेपालका बैङ्कमा निक्षेपको ब्याजदर बढ्नु । जहाँ नेपालमा रहेका आफन्तमार्फत बैङ्कमा पैसा जम्मा गर्नु । यी चारवटा कारणले गर्दा भारु नेपालमा बढी नै आपूर्ति भएको मान्न सकिन्छ । अर्कोतिर नेपालमा प्रतिबन्धित रहेका भारु मुद्रा पनि छ्यापछ्याप्ती पाइनुले चाहिँ केही प्रश्नहरू उब्जाएका छन् ।
नेपाल राष्ट्र बैङ्कले २०७५ सालदेखि नै भारुका ठूला नोटहरूलाई चलाउन नहुने भनी पत्राचार गरेको अवस्था छ । सामान्य भाषामा भन्दा अहिले २ सय, ५ सय र २ हजारका नोटहरू नेपाली बजारमा चलाउन पाइँदैन । सयभन्दा माथि ठूला नोटहरू नेपालमा पनि नोटबन्दी छ । तर, हाम्रा बजारहरूमा खुलेआम भित्रिएका छन् र खुलेआम विनिमय भइरहेका छन् । यसतर्फ नियमनकारी निकायको ध्यान नगएको यथार्थ कतैबाट लुक्न सकेको छैन । नेपालका बैङ्कहरूले सयभन्दा माथिका ठूला नोटहरूलाई खरिद पनि गर्दैन र बिक्री पनि गर्दैन । तर, आम सर्वसाधारणसँग त्यसको पहुँच छ । व्यापारीहरूसँग पहुँच छ । सबैसँग पहुँच हुनु भनेको नियमनको अभाव हो भन्ने प्रतीत हुन्छ । त्यसकारण नियमनकारी निकायको यसतर्फ ध्यान जान आवश्यक भएको छ । नेपालमा भारु मुद्राहरूको चलखेल हुनुले नेपालको अर्थतन्त्रलाई ताŒिवक फरक पार्दैन । अझ कमजोर हुन्छ । नेपालले अहिले धेरै कुराको आयातमा प्रतिबन्ध लगाएको छ । ती प्रतिबन्ध लगाएका सामग्री कतै दोस्रो बाटोबाट प्रवेश त गरिरहेको छैन भन्ने सन्देश पनि गइरहेको छ ।
सामान्यरूपमा हेर्दा भारुको अवमूल्यन भए पनि यसले नेपाललाई दीर्घकालीन असर पु¥याउने देखिन्छ । यदि सुन तथा बहुमूल्य जडिबुटीको अवैध कारोबार भइरहेको छ भने पनि यो नेपालको अर्थतन्त्रका लागि प्रत्युत्पादक नै बन्छ । कारण, अवैध मार्गबाट आएको रकमलाई अवैध तरिकाले नै त्यसको व्यवस्थापन हुन्छ । यस्ता अवैध रकमहरू विभिन्न ठूला सभासम्मेलन तथा चुनावहरूमा खर्च हुन सक्ने सम्भावना बढ्छ । त्यसको फाइदा लिनका लागि व्यापारी तथा व्यवसायीहरूले आफ्नो काम पूरा गर्नका लागि राजनीतिक दलहरूलाई हातमा लिने प्रयास गर्छन् । यसले झन् खतरा निम्त्याउँछ । त्यसकारण भारु मुद्राको जुन कारोबार भइरहेको छ, यसलाई नियन्त्रण गर्न हाम्रा नियमनकारी निकायहरू चनाखो हुनुपर्ने अवस्था आएको छ ।