विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको रहस्यमय मृत्यु भएको छ ।

खड्कालाई माघ १८ गते राति ९ः१५ बजे विराटनगरस्थित कोसी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।एलिसाको घाँटीमा निलो डाम भएको कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्का गरेको छ ।

अस्पताल पुर्याउने साथी विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजवंशीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् । उनीहरू लागूऔषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।

माघ १८ गते राति खड्का राजवंशीको घर गएकी थिइन् । उनको घर विराटनगर–१२ मा छ । ‘एलिसा बेहोस भएपछि लक्ष्मीले कोसी अस्पतालमा राति लिएर गएकी थिइन् । अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए’ मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीले भने, ‘राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।’

पोष्टमार्टम रिपोर्ट नआएसम्म अहिले के कारणले मृत्यु भएको भन्न सक्ने अवस्था नभएको डिएसपी कार्कीले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि के भएर मृत्यु भएको खुल्नेछ ।’

पक्राउ परेकी राजवंशीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानले हत्या भएको देखिए कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ ।

मृतक खड्का धरान घर भए पनि लामो समयदेखि विराटनगरमा बस्दै आएकी थिइन् । उनले लक्ष्मीसँग होटलमा काम गर्ने गरेकी थिइन् ।