धरान । वराहक्षेत्रको चतरास्थित कोसी नदीमा झापाका एक व्यक्ति ‘आफ्नो परिवारलाई नखोज्नु’ भन्दै बेपत्ता भएका छन् ।

झापा बुद्धशान्ति गाउँपालिका १ का ६२ वर्षीय भैरवप्रसाद गौतमले आफ्ना छोरालाई जानकारी गराउँदै बेपत्ता भएका हुन् । उनी पुस १३ गतेदेखि घरबाट चियाको व्यापारका लागि पश्चिमतिर हिँडेका परिवारले जनाएको छ । 

परिवारका अनुसार सोमबार बिहान ३ः१० बजेतिर फोनसम्पर्क गरी ‘म इच्छा मरण गर्दै छु, मलाई नखोज्नू, तँ राम्रोसँग गर, मलाई आमाहरूसँग नजोड्नू’ भन्दै बेपत्ता भएका हुन् । बेपत्ता भएका गौतमको कपडा, जुत्ताहरू कोसी किनारमा फेला परेको जेठा छोरा हेमराज गौतमले बताए । उनी ३५ वर्षदेखि चियाको व्यापार गर्दै आएका थिए । 

तर, बुबा (भैरवप्रसाद)ले प्रयोग गरेको मोबाइल चतराको बयरवन बजारमा १० बजेतिर एक छिन ‘अन’ भएर ‘अफ’ भएको छोरा हेमराजले बताए । बेपत्ता रहेका गौतमको अहिले सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजिरहेको छ । परिवारले भने यसै भन्न सक्ने अवस्था नभएको जनाउँदै आएको छ ।