विराटनगर । मोरङको सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने निर्णय भएको छ ।
मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत रहेको कोसी अस्पताललाई पूर्वाञ्चल विश्व विद्यालयलाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को सोमबरको बैठकले कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएसँगै पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि बाटो खुलेको छ । मेडिकल कलेज सञ्चालनको लागि चिकित्सा शिक्षा ऐनले तीन वर्षदेखि सञ्चालन हुँदै आएको ३ सय शय्याको अस्पताल हुनुपर्ने मापदण्ड तय गरेको छ ।
पूर्वाञ्चल विश्व विद्यालयसँग पर्याप्त पूर्वाधार भए पनि आफ्नै हस्पिटल थिएँन । मन्त्रीपरिषद्को बैठकबाट कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएपछि विश्वविद्यालयले मेडिकल कलेजको लागि सहज भएको उपकुलपति प्रा. डा. यादव राज कोइरालाले बताए ।
अब एमओयू तयार गरी त्रिपक्षीय सम्झौता हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्व विद्यालयबिच त्रिपक्षीय सम्झौता गरेर शिक्षक दरबन्दी खुलाउने उनले बताए ।
‘एमबीबीएको लागि भवन तयार छ । शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट एमबिबिएसको पठनपाठन हुनेछ,’ उनले भने । एमबिबिएसको पाठ्यक्रम र भौतिक पूर्वाधार बनिसकेको र पुस्तकालयसमेत अपडेट गरिसकेको उपकुलपति कोइरालाले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयका निमित्त डिन नवीन लामिछानेका अनुसार २०६६ सालमा मेडिकल कलेजका लागि ३ सय शय्याको अस्पताल सञ्चालन तयारी भए पनि त्यही साल चिकित्सा शिक्षा ऐन संशोधन भएकाले मेडिकल कलेज रोकिन पुगेको थियो ।
जसका कारण ६० करोड लागतमा निर्माण गरिएको भवन पूर्वधार र उपकरण प्रयोगविहीन हुँदै आएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको आठ सय पाँच बिघा जमिन मेडिकल कलेज सञ्चालनका निम्ति छुटायाएका थिए । त्यही समयमा नै मेडिकल कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको थियो ।
२०६२ सालसम्ममा मेडिकल कलेज चलाउन ६० करोडको लगानीमा नौ वटा भवन निर्माण गरिएको थियो । त्यही समयमा पाँच करोड मूल्य बढीका उपकरण पनि खरिद भएका थिए । चिकित्सक र ३५ जना स्टाफ नर्सलाई २०६६ सालमै नियुक्ति दिएर तलब खुवाउने गरिएको छ ।
तर मेडिकल कलेज सञ्चालनका निम्ति त्यही साल संशोधित चिकित्सा शिक्षा ऐनले तोकेअनुसारको मापदण्ड पियूले पूरा गर्न नसक्दा मेडिकल कलेज चलाउन बनाइएका भवन रेखदेख र संरक्षण अभावमा भवन लथालिङ्ग छन् ।
उपकरण पनि सञ्चालन नआउँदै काम नलाग्ने अवस्थामा पुगेका छन् । विश्वविद्यालय घाँसे मैदानमा परिणत भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठ गाउँमा मेडिकल कलेज चलाउन तत्कालीन उपकुलपति जगतबहादुर केसीको पहलमा कामको सुरुवात भएको थियो । केसी जनआन्दोलन २०६२/०६३ मा विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए । उनलाई राजावादीलाई सहयोग पु¥याएको भन्दै विश्वविद्यालयका कर्मचारी र प्रशासन संयन्त्रले विरोध गरेपछि तत्कालीन सरकारले अवधि बाँकी हुँदै उपकुलपतिबाट हटाएको थियो ।
२०६२ सालमा उपकुलपति केसीले मेडिकल कलेज सञ्चालनका लागि इन्ट्रान्स परीक्षा सञ्चालन गरेका थिए । परीक्षामा पाँच सय विद्यार्थी सहभागी भएका थिए । तर परिक्षफल प्रकाशन नहुँदै २०६२÷०६३ को आन्दोलन चर्किएको थियो । लगतै उपकुलपति केसीलाई राजाले नियुक्ति गरेको भन्दै पदबाट राजीनामा दिन लगाएपछि इन्ट्रान्सको नतिजासमेत प्रकाशन नगरी गुपचुप राखिएको थियो । त्यसपछि आएका पदाधिकारीले परीक्षा लिएका विधार्थीहरुबारे चासो नदेखाउँदा मेडिकल कलेजको तयारी रोकिन पुगेको थियो ।
तत्कालीन उपकुलपति केसीको राजीनामापछि उपकुलपतिका रूपमा २०६४ वैशाखमा प्रा.डा. रामावतार यादव नियुक्त भएका थिए ।
केसीको सक्रियतामा मेडिकल कलेज सञ्चालनका लागि लिइएको इन्ट्रान्स परीक्षाबारे त्यसपछिका पदाधिकारीले महत्व नदिँदा मेडिकल कलेज सञ्चालन रोकिन पुगेको थियो ।