भद्रपुर । झापा मेचीनगर–१० मा सङ्घीय सरकारको २४ लाख लागतमा निर्माणाधीन नगर अस्पताल २ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार भागेपछि निर्माणाधीन नगर अस्पाताल अलपत्र परेको हो । नगरमै सुविधा सम्पन्न नगर अस्पतालबाट नगरवासीलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निर्माण सम्झौता गरेको ठेकेदार भागेपछि स्थानीय निराश बनेका छन् ।
नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बनेपछि सहज र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा प्राप्त गर्ने स्थानीयवासीले सपना बुनेका थिए तर, २ बर्षदेखि निर्माण ठप्प छ । भुमी बिपियल कन्ट्रक्सनका सञ्चालक कृष्ण बोहोराले आगमी २०८० साउन मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड ३० लाखमा सम्झौता गरेका थिए । तर, बोहोरा २ वर्षदेखि सम्पर्क बिहीन बनेका छन् । अस्पताल निर्माण सम्पन्न मिति सकिन लाग्दा १० प्रतिशत पनि निर्माण कार्य भएको छैन ।
मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको करिब ६ बिगाह जग्गामा बन्न लागेको अस्पतालबाट यहाँका लाखौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । निर्माणस्थलको राम्रो सुरक्षा व्यवस्थापन नहुँदा लाखौंका निर्माण सामाग्री चोरी भएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।
समयमै निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा दिने उदेश्यले आवश्यक प्रकृया पूरा गरेर सम्झौता गरियो तर, अहिले ठेकेदार नै फरार भएपछि उद्देश्य अनुरूप कार्य सम्पादनमा अवरोध भएको उनले जनाए । समस्याका बिषयमा सरोकारवाला निकायलाई जानकारी गराइसकिएकोले छिटै अस्पताल निर्माणको काम सुरू हुने जानकारी दिए ।
नगरले आफ्नै घर–आँगनमा अस्पताल बनाउन थालेपछि स्थानीय रबिना राजवंशीमा खुशी छाएको थियो, तर यतिका दिनसम्म अलपत्र पारेर ठेकेदार भागेपछि निराश छौं, उनले भनिन् । नगरवासीको स्वास्थ्य जस्तो बिषयमा यस्तो मजाक गर्नेलाई कारबाही गरी तत्काल स्थानीय सरकारले निर्माण सुरू गर्नु पर्ने उनको भनाइ छ ।
मेचीनगर १० का वडाध्यक्ष नारायण खनालका अनुसार ठेकेदारको खोजी कार्य जारी छ । सम्झौता गर्ने ठेकेदार कम्पनीलाई कालो सुचिमा राख्ने प्रकृया अघि बढेको छ । छिटै विशेष कानुनी प्रकृया अवलम्बन गरेर कार्य सम्पन्नतर्फ लाग्ने आश्वासन दिए ।
नगर अस्पताल अलपत्र पारेर लामो समयदेखि सम्पर्कविहिन बनेका ठेकेदार बोहोरालाई २०७८ कार्तिक ५ गते २ करोड ६० लाख पेश्की रकम नगरले भुक्तानी गरेको देखिन्छ । २ बर्षअघि निकै तामझामका साथ शिलान्यास भएको नगर अस्पताल अहिले वेवारिसे अवस्थामा छ ।
अस्पताल मात्र होइन् नगरमा धेरै विकास निर्माणका काम अलपत्र छन्, जसका कारण जनताले तिरेको ठुलो धनराशी बलुवामा पानी जस्तै भएको छ ।