सुनसरी । सेवाग्राहीसँग तोकिएको दस्तुरभन्दा बढी रुपैयाँ लिएको भन्दै भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ को कार्यालयमा कार्यरत कर्मचारी र पुरुष वडासदस्यबीच हानाहान भएको छ  ।

नागरिकताको सिफारिस र विवाह दर्ताको प्रतिलिपि निकाल्न वडा कार्यालय पुगेका स्थानीय नजामुद्दिन मियाँसँग वडा कार्यालयका कर्मचारी सोही स्थान बस्ने लुकमान मन्सुरीले नागरिकता सिफारिसको दस्तुरबापत ५ सय र विवाह दर्ताको प्रतिलिपि (निस्सा) निकाल्न १ हजार रुपैयाँ लिएपछि सोही विषयमा निजले वडासदस्य कलिम मियाँलाई जानकारी गराउँदा दस्तुरभन्दा बढी रुपैयाँ सेवाग्राहीसँग किन लिएको भन्दै मङ्गलबार कार्याल समयमा सोधपुछ गर्दा दुवै पक्षबीच हानाहान भएको थियो ।

नागरिकताको सिफारिस बापत हारुन मियाँ नाम गरेका कार्यालय सहयोगीले ५ सय रुपैयाँ र वडा कार्यालयका कर्मचारी लुकमान मन्सुरीले विवाह दर्ताको प्रतिलिपि बापत १ हजार रुपैयाँ लिएपछि विवाद उत्पन्न भएको प्रत्यक्षदर्शी कलामुद्दिन मियाँले बताए ।

वडा कार्यालयका कर्मचारीले स्थानीय सेवाग्राहीसँग विभिन्न सिफारिसमा अनावश्यक रुपैयाँ असुली गर्न थालेको गुनासो आफूकहाँ आएपछि सोधपुछ गर्दा कर्मचारी र उनका आफन्तले आफूलाई अनाहकमा कुटपिट गरेको वडासदस्य कलिम मियाँको दाबी छ ।

कर्मचारी लुकमान र उनका भाइ शिक्षक उसमान मियाँले आफूलाई कुटपिट गरेको वडासदस्य कलिम मियाँको भनाइ छ । उनले जनताको गुनासो आएपछि आफूले सेवाग्राहीसँग किन घूस लिएको भनी सचेत गराउँदा कुटपिट गर्नेमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

वडा कार्यालयमा आउने हरेक सेवाग्राहीसँग दस्तुरबाहेक पनि कुनै न कुनै बहानामा वडाका कर्मचारीहरूले अतिरिक्त रकम लिएर मात्रै काम गर्ने गरेको स्थानीयबासीको आरोप छ ।