बिर्तामोड । बिद्यार्थीलाई ब्यवहारिक शिक्षा उपलब्ध गराउने उदेश्यले झापाको ईडन गार्डेन एजुकेशन फाउण्डेशनले कृषिथोक बजारमा तरकारी किनमेल गराएको छ । बिद्यार्थीको व्यवहारमा परिवर्तन गराउन किनमेल गराएको बिद्यालयले जनाएको छ ।
अधिकाशं विद्यालयहरुमा पुरानै परिपाटीमा सैद्धान्तिक ज्ञान मात्र दिने चलन अझ छ । यसले आजको विद्यार्थीहरुको समग्र विकास गर्न नसक्ने कुरालाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका वार्ड ४ मा रहेको बिद्यालयले निरन्तर रुपमा विद्यार्थीको व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्न फरक फरक शैलीका व्यवहारिक सीप सम्बन्धि प्रयोगात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
अहिलेको समयमा विद्यार्थीहरु धेरै जसो इन्टरनेट र मोबाइलमा समय विताउने तथा सृजनात्मक र रचनात्मक कार्यमा विद्यार्थी निष्कृय रहेका छन् । साना साना व्यवहरिक ज्ञानमा समेत विद्यार्थीहरु अनविज्ञ रहेको अवस्थामा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले यस विद्यालयल कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीलाई प्रतिव्यक्ति २ सय रुपैंयाँका दरले बिर्तामोडको कृषिथोकमा लगि दैनिक आवश्यक पर्ने साग सब्जी किनमेल गर्न सिकाएको छ ।
यसले विद्यार्थीको किनमेल गर्ने सिप, पैसा बचाउने सिप विकास हुने र आत्मनिर्भर बन्न सक्ने कला विद्यार्थीमा विकास हुने बिश्वास बिद्यालयले लिएको छ । झापामा यो खालको व्यवहारिक सीप पहिलोपटक ईडेनले आरम्भ गरेको विद्यालयका सहायक प्रधानाध्यापक खेमराज शर्मा आचार्य बताउछन् ।
झापा जिल्लामा नै नौलो किसिमको र अत्यन्तै व्यवहारिक सीप विद्यालयले दिएकोमा अत्यन्तै खुशी लागेको साग सब्जी विक्रेता खड्ग राजवंशी बताउछन । विद्यालयले निरन्तर रुपमा यस्ता कार्यक्रम गर्दै आएको र अझ प्रभावकारी रुपमा व्यवहारिक कला सिकाउनु पर्ने र यो कार्यक्रम झापा जिल्ला नमुना कार्य रहेकोले यस विद्यालयकको अभिभावक हुन पाएकोमा गौरव रहेको विद्यालयका एकजना अभिभावक ओमनाथ दङ्गाल बताउछन् ।
उक्त प्रयोगात्मक अभ्यासमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । खुला वातावरणमा स्वतन्त्र रुपमा किनमेल गर्न पाउदा विद्यार्थीहरु प्रफुल्ल देखिन्थे । यस्तो राम्रो र व्यवहारिक शिक्षा प्रदान गरेकोमा विद्यार्थीहरुले विद्यालयलाई धन्यवाद समेत दिएका थिए ।
२ सयमा बढी सब्जी खरिद गर्ने विद्यार्थीलाई विद्यालयले पुरस्कृत समेत गरेको थियो । जस्मा कक्षा ६ मा अध्ययनरत छात्रा पुष्पा महत, प्रथम आरुषी मैनाली दोस्रो कक्षा ५ मा अध्ययनरत अर्नब कटवाल र ६ का छात्र आयुष न्यौपाने तेस्रो भएका थिए ।