सुनसरीको बर्जु गाउँपालिकामा एक ७ महिने शिशुमा दादुरा देखिएको छ । दादुरा तीव्र सङ्क्रामक रोग हो । त्यति मात्रै हैन, बालबालिकाको ज्यानैसमेत लिने क्षमता हुन्छ । अहिलेको चिन्ता भनेको महामारीको रूप धारणपूर्व नै यसलाई रोक्ने भरमग्दुर प्रयास गरिनुपर्छ । एउटा रोगीबाट झण्डै १८ जनासम्मलाई रोग सार्न सक्ने क्षमता भएको मानिन्छ । यो एकदमै डरलाग्दो रूप हो । यसको नियन्त्रणमा स्थानीय सरकार पनि जुट्न आवश्यक छ । दादुराको विगत कोट्याउने हो भने सन् २००१ मा विश्वभरि फैलिएको थियो । त्यतिबेला ७ लाख ४५ हजार बालबालिकाको ज्यान गएको अनलाइन विश्वकोष विकिपिडियाले उल्लेख गरेको छ । विषाणु (भाइरस)बाट हुने यो सङ्क्रामक रोगलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने तत्कालै प्रकोपको रूप लिने सम्भावना हुन्छ । अझ महामारीको रूपमा फैलिन नदिनका लागि पनि हरसम्भव प्रयास गर्न जरुरी छ ।
बर्जु गाउँपालिकामा ७ महिने शिशुमा कसरी आइपुग्यो ? यो चाहिँ गम्भीर विषय हो । यसअघि नेपालमा नेपालगञ्जमा यसले झण्डै झण्डै महामारीको रूप लिने अवस्था पुगेको थियो । नेपालगञ्जबाट सुनसरीमा देखिनु एकदमै अनौठो मान्नुपर्ने हुन्छ । हावाको माध्यमबाट सर्दा पनि यति लामो दूरीमा सर्नु असम्भव झैँ मानिन्छ । त्यसकारण त्यहाँ अन्यलाई पनि दादुरा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । नगरको स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालयहरूले यसलाई नियन्त्रण गर्न आजैबाट पाइला चाल्न आवश्यक छ । ढिला गरी महामारीको रूप धारण गरेमा त्यसको जिम्मेवार पनि यी संस्थाहरूले लिनुपर्ने हुन्छ । सावधानी अपनाउनका नागरिकहरूलाई सूचित गर्नुपर्छ । दादुराले ज्यानैसम्म लिने भएकाले पनि यसलाई सकेसम्म नियन्त्रण गर्न आवश्यक छ ।
पाँच वर्षभन्दा मुनीका बच्चाहरूमा दादुरा डरलाग्दो रूपमा रहेको छ । समयमा यसको खोप लिएमा भने न्यूनीकरण हुन्छ । हामीकहाँ खोप लिनुपर्छ भन्ने ज्ञान पनि कतिपय ग्रामीण क्षेत्रमा भएको पाइँदैन । खोप नलगाए पनि हुन्छ भन्ने आमधारणालाई चिर्नका लागि पनि सचेतना तथा जनचेतना कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउनुपर्छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा जन्मिने बच्चाहरूको तथ्याङ्क राखेर उनीहरूलाई खोप लगाएको नलगाएको लेखाजोखा राख्नुपर्छ । सूचीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । खोपलाई प्रभावकारी बनाउन आजको आवश्यकता हो किनकि नेपाल सरकारले सन् २०२३ सम्म दादुरामुक्त बनाउने लक्ष्य राखेको थियो । त्यो लक्ष्यलाई ‘मिट’ गर्नका लागि सबैबाट पहलकदमी हुन आवश्यक छ । नियन्त्रण हामीबाटै सम्भव छ । सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारीलाई बहन गरिदिने हो भने हामीले यस्ता रोगहरूलाई नियन्त्रण गर्न समय लाग्दैन । तर, हेल्चेक्र्याइँ ग¥यौँ भने महामारीको रूप धारण गर्न पनि समय लाग्दैन । यसतर्फ सबै सचेत र सजग हुन जरुरी छ ।