धरान । रोटरी क्लब अफ धरान घोपाले बिहीबार धरान–१६ स्थित शारदा बालिका नमुना माविमा विद्यार्थी लक्षित दन्त शिविर आयोजना गरेको छ ।

घोपाले कक्षा ६ सम्मका १ सय ६३ जना विद्यार्थीको दाँत जाँच गरेको थियो । शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त महाविद्यालयअन्तर्गत चिकित्सकको टोलीले जाँच गरेको थियो ।

कार्यक्रममा चारजना विद्यार्थीको दाँत फुकालिएको रोटरीका अध्यक्ष किशन मास्केले जानकारी दिए । उनका अनुसार ४३ जनाको दाँत फुकाल्नुपर्ने देखिएको छ भने एक सय ३० जनाले दाँत भर्नुपर्ने देखिएको छ । दाँत भर्नुपर्नेहरूको हकमा भने ५० प्रतिशतसम्म रोटरीले निःशुल्क गरिदिने र ५० प्रतिशत चाहिँ स्वयम्ले तिर्नुपर्ने गरी बीपीमा व्यवस्था मिलाइएको छ ।

इन्ट्याक क्लब बालिका स्कुलको सहयोगमा कार्यक्रम गरिएको हो । अब कक्षा ७ देखि माथिका विद्यार्थीहरूको लागि आउँदो मङ्गलबार शिविर आयोजना गरिएको अध्यक्ष मास्केले जानकारी दिए । दन्त महाविद्यालयका प्रमुख प्रा.डा. आशिष श्रेष्ठको नेतृत्वमा आएको टोलीले जाँच गरेको थियो । रोटरीले भिटामिन डी को खोप लगाउने कार्यक्रम पनि गर्दै आएको छ ।