वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ रेल्वेलाइनमा छुरी प्रहारबाट एक युवा गम्भीर बनेका छन् ।

सामान्य विवादका क्रममा स्थानीय १९ वर्षीय उपेन्द्र पाण्डेमाथि छुरी प्रहार भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । उनीमाथि स्थानीय २० वर्षीय आयुश राई, २१ वर्षीय निमा तामाङ, राहुल खत्री र बादल राईले छुरी प्रहार गरेको इप्रका चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले जानकारी दिए ।

छुरी प्रहारमा संलग्न आयुशलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ भने अरू फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ । घाइते गम्भीर भएकाले चतरा आस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । चतरामा यसअघि पनि छुरी प्रहार भएको थियो ।

यसअघि पनि सोही वडाको पुनर्वासका २१ वर्षीय लोकबहादुर तामाङ र २० वर्षीय कर्म शेर्पालाई छुरी प्रहार गरेर मोबाइल लुटेको आरोपमा इप्रका चक्रघट्टीले पक्राउ गरेको थियो । घर जाँदै गरेका ७ नम्बर वडावासी लक्ष्मण अधिकारीलाई बिचपानी भन्ने स्थानमा उनीहरूले छुरी प्रहार गरी मोबाइल लुटेर भागेका थिए ।

छुरी प्रहारबाट अधिकारीको गालामा चोट लागेको थियो । लुटेराहरूलाई नमुना टोलबाट पक्राउ गरेको थियो । घटना माघ १६ गते भएको हो ।