विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणमा रकम बरामद गरेको छ ।
नेपाली ९ लाख २० हजार रुपैयाँसहित विराटनगरबाट बुधबार राति विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई पक्राउ गरेको हो ।
साहलाई विराटनगर–१० बाट राति ८ः३० बजेतिर पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । बीआर ३८ एन ४९३० नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरेको रकम हुण्डीको भएको आशङ्का गरिएको छ । पछिल्लो समय भारतबाट अवैधरूपमा हुण्डीमार्फत् रकम पठाउने गरेको पाइएको छ । पक्राउ परेका साहको साथबाट प्रहरीले बरामद गरेको रकमको पनि स्रोत खुलाउन नसकेको कारणले हुण्डीको रकम भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको डिएसपी कार्कीले बताए ।