धरान । नेपाल चिकित्सक सङ्घले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

सङ्घको शनिबार बसेको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा.जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

शुक्रबार राष्ट्रिपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडिरहेका चिकित्सक सिंहलाई प्रहरीले कुटपिट गरेको थियो । त्यसपछि ट्रमा सेन्टरका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका थिए । सोही विषयमा भएको बैठकपछि सङ्घले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिकलाई दुःख दिनु गलत भएको भन्दै स्वास्थ्य सेवा ठप्प पारिने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक सङ्घको ठहर छ ।’