सुनसरीको धरान हुँदै चतरा पुग्ने सडकको दुर्दशा हेरी साध्य छैन । हिउँदभरिको साझा समस्या धुलाम्मे र बर्खाभरिको साझा समस्या बाढीको छ । बाढी आएमा सवारी गुड्न सक्दैनन् । गुडीहाले पनि कुन ठाउँमा लगेर बेपत्ता बनाउने हो टुङ्गो हुँदैन । बर्खायाममा खोला तर्नु पर्ने हुँदा कतिपटक मानिससहित सवारी बगाएको छ । धरानदेखि १२ किलोमिटर क्षेत्र पर्ने धरान–चतरा सडक–खण्डको पनि बगुवादेखि खारखोलासम्मको अवस्था एकदमै नाजुक छ । तर, यो सडक यसअघि काठमाडौँ बालाजुस्थित नागार्जुन कम्पनीले ठेक्का पारेको थियो । ठेक्का पाएको नागार्जुनले पेटी ठेक्काको रूपमा हजबुल मियाँको एचएम बिल्डर्सलाई जिम्मा दिएको थियो । सडक त बन्यो तर, कमसल सडकका कारण छिट्टै भत्कियो । अहिले यही सडक भएर मदन भण्डारी राजमार्गको चर्चा चलेको पनि आधा दशकको हाराहारीमा पुग्न लागिसकेको छ । सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । यो सडकअन्तर्गत सर्दुदेखि बगुवाखोलासम्मको सडक–खण्डको कालोपत्रे गर्ने जिम्मा काठमाडौँको श्रेष्ठमोतीदान ज्वाइन्ट भेन्चरलाई दिएको छ । भेन्चरले २०७८ असार २८ गते सम्झौता गरी २०८० पुस २८ गतेसम्म निर्माण सम्पन्न गर्ने भनेको छ । तर, हालसम्म काम भएको अवस्था छैन ।
यस सडक–खण्डमा एचएम बिल्डर्सले कालोपत्रे गरेको थियो तर, उक्त कालोपत्रेको अहिले नामोनिसान छैन । विशेषगरी ठेकेदारको काम गर्ने शैली र उसको गुणस्तरमाथि बारम्बार प्रश्न उठे पनि सम्बन्धित निकायले चासो नदिएको अवस्था छ । जुन रूपमा चासो हुनुपर्ने हो, त्योअनुरूप सरकारले पहलकदमी लिएको पाइँदैन । आखिर किन सडकहरू चाँडो चाँडो भत्किन्छन् ? के सडकहरूको मापदण्ड पुगेको छ कि छैन भनेर जाँच हुँदैन ? भए पनि किन झारा टार्ने हिसाबले मात्रै हुन्छ ? यस्ता आमप्रश्नको घेरामा जहिल्यै ठेकेदार कम्पनी र नियमनकारी निकाय परिरहेका हुन्छन् तर, हालसम्म पनि त्यसको उचित उत्तर आउन सकेको हुँदैन । धरान चतरा सडक–खण्डमा जुन खालका त्रुटिपूर्ण कामहरू भएका छन् । त्यसको लेखाजोखा गर्ने संयन्त्र नहुँदा नीतिगत भ्रष्टाचारहरू मौलाएका छन् । धरान–चतरा सडक–खण्ड यहाँको धार्मिक पर्यटनसँग जोडिएको छ । धार्मिक पर्यटनलाई थप बल पुर्याउनका लागि यी सडकहरूको सुधार हुनु आवश्यक छ । तर, ठेक्का लागे पनि काम नहुँदा यो सडक जहिल्यै अलपत्र पर्ने गरेको छ ।
सडकको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किन काम अगाडि बढाइरहेको छैन भन्ने विषयमा अब स्थानीय सरकार तथा वडा कार्यालयहरूले पनि प्रश्न गर्न थाल्नुपर्छ । आफ्नो क्षेत्रमा पर्ने सडकहरू किन निर्माण भइरहेका छैनन् । कतिवटा सडकहरू ठेक्का लागेका छन् । कामको अवस्था के छ ? कसरी काम भइरहेको छ भन्ने चासो र चिन्ता अब स्थानीय सरकार र मातहतका वडा कार्यालयहरूले लिनुपर्ने बेला आएको छ । केन्द्रबाट ठेक्का लागे पनि उक्त सडकको भोक्ताका हिसाबले पनि स्थानीय सरकारहरूले चासो देखाउनुपर्छ । स्थानीयवासीलाई त्यसबारे सचेत गराउनुपर्छ । किनकि सडक प्रयोगकर्ताका हिसाबले त्यहाँका स्थानीय नै हुन्छन् । यदि सडक गुणस्तर अनुरूप बनेका छैनन् भने प्रश्न गर्ने जिम्मेवारी पनि स्थानीयकै हो । स्थानीय सरकारकै हो । भलै, केन्द्रले बजेट छुट्याएको होस् । बजेट कुनै न कुनै रूपमा हाम्रो करकै अंश हो । त्यसकारण निगरानी राख्नु सबैको जिम्मेवारी हो । अब हाम्रा सडकहरू कस्ता बनिरहेका छन् ? कसले बनाइरहेको छ ? त्यसको गुणस्तर कस्तो छ भन्ने विषयमा चासो राख्ने बेला आएको छ । अन्यथा फेरि पनि केही वर्ष नबित्दै धुलाम्मे र हिलाम्मे सडकमा हिँड्न बाध्य हुनेछौँ ।