भद्रपुर । झापाको भद्रपुर क्षेत्रमा चोरीका घटना बढिरहेको पाइएको छ ।
भद्रपुर–चन्द्रगढी क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेको हो । जिल्लामा नेपाल प्रहरीकामात्र दर्जन बढी साधा पोसाकमा प्रहरी परिचालित छन् । एसपी, डिएसपी, इलाका तथा वडाका आ–आफ्नै विश्वासपात्र परिचालित छन् । उनीहरूको मुख्य ध्यान नै तस्करीतर्फ रहेको छ ।
असोज महिनायता मात्र नियाल्ने हो भने भद्रपुरमा दर्जनबढी चोरीका घटना भएको उजुरी परेको छ । तर, प्रहरीले एक जना पनि नियन्त्रणमा लिन सकेको छैन । शनिबार साँझ ६ बजे भद्रपुर–५ स्थित कृष्णराज कम्प्लेक्स सिनेमा हलअगाडिबाट मे.७ प २०६३ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल चोरी भएको छ ।
सञ्चारकर्मी प्रदीप बस्नेतको सो मोटरसाइकल चोरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले स्वीकारे । चोर पत्ता लगाउन प्रहरी परिचालन भइरहेको उनले जानकारी दिए । वडा प्रहरीले हेर्ने क्षेत्रमा अन्य चोरीका घटना नरहेको उनले दाबी गरे ।
त्यस्तै भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसै घर फोर्ने गिरोहले दर्जनबढी घरबाट नगद, गरगहना, भाँडाकुँडासमेत चोरिरहेका छन् । चरनमा रहेका खसीबोका, कुखुरा चोर्ने चोरको पनि बिगबिगी बढ्दो छ । चोरिएका सामग्रीसहित चोर फेला परेको एउटा पनि घटना नदेखिनुले चोरको मनोबल बढ्न पुगेको स्थानीयको गुनासो छ ।
मोबाइल, ल्यापटप, साइकल, मोटरसाइकल, पानी तान्ने पम्प, कलधारा चोरी गर्ने पनि उत्तिकै सक्रिय देखिए पनि प्रहरीले समातेर कानूनको दायरामा ल्याउन सकेको छैन । चोरले केही महिनाअघि दिउँसो भद्रपुर–१० मा विष्णु पाञ्चायन मन्दिरका पूजाका सामग्री, रमेशकुमार न्यौपानेको साइकल चोरी गरेको विषयमा प्रहरीलाई जानकारी गराए पनि हालसम्म चोर पत्ता लगाउन सकेको छैन ।
भद्रपुर–९ का पूर्व वडा सदस्य नूतन पौडेल पनि दुले चोर पीडित हुन् । उनको घरबाट केही महिनाअगाडि लाखौंका गरगहनासहित चाँदी र पित्तलका भाँडाकुँडा दिउँसै चोरिएका थिए । घरमा कोही नभएको मौका छोपेर चोरले दिउँसै घर फुटाएर चोरेको थियो । घटना भएको केहीबेरमै जानकारी पाएर प्रहरीलाई चोर पत्ता लगाउन निवेदन दिए पनि चोर समातिएको छैन ।