विराटनगर । विराटनगर–५ जानकी पथका ८५ वर्षीय छविलाल खतिवडा दाँतमा असाध्य पीडा भएपछि रातभरि सुत्न नसकेको दुईदिन भयो । रातभरिको दुखाइको कारणले उनी आइतबार सबेरै विराटनगरस्थित कोसी अस्पताल आए । उनी घरबाट खाना खाएर ९ बजे हस्पिटल हिँडे । साढे ११ बजे पैदल हिँडेरै हस्पिटल आइपुगेका थिए । उनी डेढ घण्टा पैदल हिँडेपछि कोसी अस्पतालको ओपीडीमा आए । सुरुमा उनी ओपीडी काउन्टरतिर लागे । काउन्टर बन्द थियो । त्यसपछि ओपीडी भवनभित्र रहेको सोधपछु डेस्कमा पुगे । उनले त्यहाँ आफ्नो समस्या राखे ।

‘दाँत दुःखेर रातभरि सुत्न सकेको छुइनँ । डाक्टर सा’व कता बस्नुहुन्छ ? । सोधपुछ कक्षमा बसेका कर्मचारीले भने, ‘आज चिकित्सकहरूको हड्ताल हो । डाक्टर हुनुहुन्न ।’ ती कर्मचारीको कुरा सुनेपछि वृद्धा निराश देखिन्थे । कान काम सुन्ने खतिवडालाई कर्मचारीको भनाईमा विश्वास लागेन । त्यसपछि उनी दन्त रोग विशेषज्ञ डाक्टर बस्ने कोठा तिर लागे । कोशी अस्पतालको ओपीडीको दोस्रो तलाको १४ नम्बर कोठामा दन्तरोग विभाग रहेको छ । लौरोको सहारामा हिँडडुल गर्ने खतिवडा भूइँतलाबाट १४ नम्बर कोठातिर लागे । भूइँतलाबाट झण्डै आधा घण्टा लगाएर उनी दन्तरोग विभाग रहेको कोठामा पुगे । त्यहाँ पनि कर्मचारी र नर्स मात्र थिए । ‘फेरि वृद्धा खतिवडाले दुई महिनाअगाडि काटेको ओपीडी पुर्जी र गोजीमा राखेको स्वास्थ्य बिमा कार्ड देखाउँदै भने, ‘नानी दाँत दुःखेर असह्य पीडा भयो । रातभरिदेखि सुत्न सकेको छुइनँ । यो दाँत उखालिदेउन बाबै !’ रातभरि सुत्न नसकेको पीडा उनले नर्सलाई सुनाए । वृद्ध खतिवडाको कुरासुनेपछि दन्त विभागमा रहेका एक जना कर्मचारीले भने, ‘हामीले त खोल्न मिल्देन बा । डाक्टरले मात्र गर्नुहुन्छ । आज चिकित्सकको विरोधको कारणले ओपीडी बन्द छ । भोलि आउनु ।’ यहाँ पनि सोधपुछ डेस्कमा भनेकै कुरा दोह¥याएपछि वृद्ध निराश भएर ओपीडि भवनबाट बाहिरिए ।

हस्पिटल परिसरमा पुगेका वृद्ध खतिवडाले गुनासो पोख्दै भने, ‘घण्टौं लगाएर पैदल हिडेर सरकारी हस्पिटल आए । त्यहाँ आएपछि डाक्टरले हेरेर औषधि उपचार गरिदिए केही जाति हुने थियो कि भनेको त्यो पनि आज भएन । यहाँ भएको भए बिमाबाट उपचार हुने थियो । निजी हस्पिटल गयो भने त पैसो सकिहाल्छ  नि ! । आर्थिक विपन्न भएको बिरामीले निजीमा उपचार गर्न सकिँदैन बाबै । बरु फेरि आउँछु । अहिले घरतिरै लागे ।’

यी त प्रतिनिधि पात्र मात्र रहे । चिकित्सकको आन्दोलनले बिरामीहरूमाथि झन् पीडा थपेको उपचार गराउन कोसी अस्पताल आएका बिरामीहरूको गुनासो थियो । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोसीमा दैनिक १ हजारदेखि १ हजार ५ सय जना बिरामी ओपीडीमा स्वास्थ्य जाँच गराउने आउने अस्पतालको अभिलेखमा देखिन्छ ।

चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । कोसीका चिकित्सकहरू पनि ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिँदा यहाँ आइतबार आएका बिरामी मर्कामा परे । मोरङ कानेपोखरी गाउँपालिका—६ का सावित्रा पराजुली पेट दुःखेपछि उपचारका लागि कोसी आएका थिए । कोसी अस्पतालमा आन्दोलनको कारणले ओपीडीमा चिकित्सकहरू भेटिएनन् । उनी पनि उपचार नगरी घर फर्किइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको थियो ।

सोही घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको थियो ।