जनयुद्ध दिवसमा बिदा दिएको विषय सामाजिक सञ्जालहरूमा निकै पेचिलो बन्यो । पेचिलो बन्नुपर्ने पहिलो कारण थियो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको वक्तव्य । उनले नेपालमा बिदा धेरै भएकाले कटौती गर्नुपर्ने अडान राखेका थिए । अर्को जनयुद्ध पार्टी विशेषले आफ्नो स्वार्थसिद्धिका लागि गरिएको युद्धको रूपमा परिभाषित गरिनु । प्रचण्डको वक्तव्य एकाएक जनयुद्ध दिवसको दिनभन्दा अघिल्लो दिन मात्रै किन फेरियो ? यसप्रति पनि धेरैले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । पार्टीले गरेको युद्धलाई किन बिदामा रूपान्तरण गर्ने भन्ने विषय पनि निकै पेचिलो बनेकै छ । नेपालमा बिदा धेरै हो कि थोरै भन्ने विषयमा छलफल अनि बहसको विषय हो । यसमा व्यापक छलफल हुन आवश्यक छ । हामीकहाँ धेरै बिदाहरू हाम्रा संस्कार र संस्कृतिसँग जोडिएका छन् अर्थात् कुनै धर्मविशेषसँग जोडिएको हुन्छ । किनकि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । यो संविधानको प्रस्तावनामै उल्लेख छ । यसकारण पनि सबै जातजाति, धर्म, सम्प्रदायले मान्ने चाडपर्वहरूलाई उत्तिकै सम्मान गरिनुपर्छ । तर, राजनीतिक स्वार्थ सिद्धिका लागि गरिएको आन्दोलनको नाममा किन बिदा दिने ? भन्ने प्रश्न छ । यसबारे पनि व्यापक बहस हुन जरुरी छ ।

हाम्रोजस्तो तेस्रो विश्व विकास, पूर्वाधारलगायतमा धेरै पछाडि छौँ । यसैकारण हामी तेस्रो विश्वमा गनिन्छौँ । राज्य माथि उठ्नका लागि राज्यले केही न्यूनतम् सर्तहरूको पालना गर्नैपर्छ । अनावश्यक बिदाहरू कटौती गर्नैपर्छ । किनभने नेपालमा काम गर्ने प्रवृत्ति नै गलत छ । समयमा काम नहुने र भए पनि त्यसका लागि गलत तौरतरिका अपनाउनु पर्छ । यस्तो प्रणाली भएको मुलुकमा बिदाले थप नागरिकलाई सास्ती हुन्छ । काममा थप दबाव बढ्छ । चुस्त काम हुने देशका लागि बिदाले ताŒिवक अन्तर पार्दैन । जबकि पहिलो विश्व भनिएका देशमा शनिबार र आइतबार दुई दिन बिदा दिइन्छ । जहाँ ५ दिन मात्रै काम हुन्छ । तर, काम चुस्त र सोचेभन्दा छिटोछरितो हुन्छ । त्यहाँ कामको सम्मान गरिन्छ । यहाँ त्यस्तो हुँदैन । यहाँ कसरी ठग्ने र कमभन्दा कम काम गर्ने भन्ने प्रवृत्ति व्याप्त छ । यस्तो अवस्थामा देशले केही फड्को मार्नका लागि सार्वजनिक बिदाहरूलाई कटौती गरेर जान आवश्यक छ । प्रधानमन्त्री भएका प्रचण्ड आफैले पनि बिदा कटौती गर्नुपर्छ भन्नु र केही दिनमा त्यस कुरालाई उल्टाउनुले पनि नियतमाथि प्रश्न उठेको छ । उनले यसको जवाफ पनि दिनुपर्छ ।

बिदाको निश्चित सार्थकता हुनुपर्छ । जनयुद्ध दिवसमा दिइएको बिदाको विषयमा विवादै विवाद उत्पन्न भएको छ । केही पक्षले खुलेर यसको विरोध गरेका छन् । केही पक्ष भने मौन छन् । केही पक्षले स्वागत गरेका छन् । यसलाई कसरी हेर्ने ? त्यो अहम् प्रश्न हो । जनयुद्ध दिवसलाई गलत रूपमा व्याख्या गरिहाल्ने प्रवृत्ति पनि हामीकहाँ हाबी छ । यसको लेखाजोखा पछिल्ला दुई दशकमा हुँदै आएको नै छ । जनताले आमनिर्वाचनमा माओवादीले चालेको कदमलाई कसरी स्वीकारेका छन् भन्ने कुरा जगजाहेर नै छ । तर, कसैले जनयुद्ध मन नपरेकै नाउँमा जनयुद्ध दिवस हुनुहुँदैन भन्ने अड्डी कस्नु चाहिँ उपयुक्त हुन्न । सबैलाई सबै कुरा मन पर्दैन, यो संसारको धु्रवसत्य हो । त्यसकारण सबै कुरालाई कुनै न कुनै रूपमा स्वीकार गर्दै जाने हो । बिदाको सान्दर्भिकता कति छ भन्ने विषयमा पनि सरकारले निक्र्यौल गर्नुपर्छ । लहडका भरमा बिदा दिनुचाहिँ अनुपयुक्त नै हो । त्यसको निर्मम समीक्षा सरकार सञ्चालकले गरुन् ।