आज विश्वभर प्रेमदिवस अर्थात् भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिन प्रेम फल्नेफुल्ने विश्वास लिइन्छ । प्रेमिल जोडीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइन्छ । तर, एउटा प्रेमीले प्रेमिकालाई गरिने प्रेमलाई मात्रै भ्यालेन्टाइन डेका रुपमा बुझ्नु हुँदैन । यसको अर्थ सङ्कुचन गर्नु हुँदैन ।

भ्यालेन्टाइनले रोमन शासकको निर्देशनको अवज्ञा गर्नुको अर्थ प्रेम अजर र अमर हुन्छ भन्ने पनि थियो । उनले जेलमा रहेकै बखतमा त्यहाँका युवायुवतीलाई प्रेम गर्न उत्प्रेरित मात्रै गरेनन्, विवाहसम्म गरिदिए । यसको अर्थ प्रेम अकाट्य हो, यसको अनुभूति मात्रै फरक फरक हुन्छ । आमा र छोराबीचको प्रेम, दिदी र भाइबीचको प्रेम, सासू र बुहारीबीचको प्रेम, भाइ र दाजुबीचको प्रेम, गुरू र शिष्यबीचको प्रेम । आखिर सबै सबै प्रेमकै रुप हुन् । तर, त्यसलाई कसरी अनुभूत गर्ने भन्नेमा मात्रै फरक हुन्छ । १४ फेब्रुअरीलाई खाली प्रेमिप्रेमिकाबीचमा मायाको रुपमा मात्रै बुझ्नु हुँदैन । यसलाई व्यापक अर्थबाट बुझ्ने हो भने वैश्विक हुनुको अर्थ झन् फरक हुन्छ । प्रेम हरेक मानव जीवनको अक्सिजन हो । यो, त्यो अक्सिजन हो, जुन अनियन्त्रित छ । सीमाहीन छ । कसैले यतिउति प्रेम गर्छु भन्नु त्यो देखावटीपन मात्रै हो । प्रेमको कुनै सीमितता हुँदैन । प्रेम बाँच्ने आधारशीला हो । यस आधारशीलाको सीमितता हुनु यसको अर्थ सङ्कुचन हुनु हो ।

प्रकृति र मानवबीच पनि यस्तै प्रेम छ । आज हामी जलवायु परिवर्तनको कुरा गर्छौं । यो कुरा किन गरिरहेका छौँ ? यसको सम्बन्ध मानवसँग किन छ ? किनकि मानव प्रकृतिको श्रेष्ठतम् प्राप्ति हो । त्यो प्राप्तिमा अगाध प्रेम छ । जलवायु परिवर्तनले प्रकृतिको सौन्दर्यलाई निमोठ्छ । प्रकृतिको मातृत्वलाई लुट्छ । त्यसकारण मानवले जलवायु परिवर्तनमा देखा परेका समस्यालाई निराकरण गर्नका लागि हरदम प्रयास गर्छ । जबकि यो समस्याको कारक तत्व नै मानव हो । मानव र प्रकृतिबीच शदिऔँदेखिको नाता छ अर्थात् प्रेम छ । त्यही प्रेमका कारण हामी प्रकृतिलाई माया गरिरहेका हुन्छौँ ।

मायाको परिभाषा असीमित छ । हाम्रो शब्दकोशले प्रेमलाई यसरी परिभाषित गरेको छ, ‘कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवम् गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मियता; अनुराग ।’ यो अनुराग वा आत्मियता विपरीत लिङ्गीबीच मात्रै सीमित हुँदैन । प्रेम त परिवारसँग पनि हुनसक्छ, साथीहरुसँग पनि हुनसक्छ । आफ्ना प्रियजनसँग पनि हुनसक्छ । प्रेमले हरबखत मानिसलाई बाँच्ने ऊर्जा दिन्छ । एक प्रकारले भन्ने हो भने प्रेम ‘चालक’ हो । जसरी विद्युत् प्रवाह गराउनका लागि चालकको महत्वपूर्ण भूमिका हुन्छ । त्यसरी नै मानव जीवनलाई प्रवाह गराउन यसले भूमिका खेलेको हुन्छ । असीमितता अथा अमूल्य चिजलाई मूल्यमा वा सीमिततामा कन्भर्ट गर्नु हुँदैन । त्यसले अर्थलाई बेअर्थी बनाइदिन सक्छ । तर, आजकाल हाम्रा प्रेमहरु ‘पैसा वा अर्थ’ सँग जोडिन थालेका छन् । प्रेमको दर्शन पैसासँग साटिएको छ । यो हुनु भनेको भ्यालेन्टाइनलाई दोस्रो पटक मृत्युदण्ड दिनु जत्तिकै हो । जसले प्रेमलाई सार्थक बनाउने हरसम्भव प्रयास गरे । शासकले उनको भौतिक शरीरको प्राण त लिए । तर, प्रेमको सुवास झनै फल्दैफुल्दै गयो । इस्वी संवत् २६९ बाट सुरू भएको भ्यालेन्टाइन डे आज थप सार्थक बन्दै गएको छ ।

प्रेम अकाट्य छ । जसरी नङ र मासुको सम्बन्ध छ । त्यसरी नै प्रेमको सम्बन्ध हरेक मानव जातिका लागि अपरिहार्य छ । यो भावनात्मक चिज हो । भावना अभौतिक चिज हो । तर, त्यसले भौतिक चिजमार्फत् विचरण गरिरहेको हुन्छ । सूचनाप्रविधिको युगमा हामीले भन्ने गरेको ‘भर्चुअल संसार’ भनेजस्तै प्रेम पनि भर्चुअल हुन्छ । जसलाई हामी छुन सक्दैनौ तर महसुस गर्न सक्छौँ । भर्चुअल संसारमा प्रवेश गर्नका लागि हामी कम्प्युटर, इन्टरनेट तथा त्यस्ता भौतिक सामग्रीको प्रयोग गरिरहेका हुन्छौँ । हाम्रो शरीर पनि प्रेममा प्रवेश गराउने यन्त्र नै हो । प्रेम जीवन जिउने यस्तो सूत्र हो । जुन सूत्रले हामी हामीलाई जोडिरहेको छ । मानव मानवलाई जोडिरहेको छ । मानवदेखि प्रकृतिलाई जोडिरहेको छ । प्रकृतिको चराचर जगत्लाई जोडिरहेको छ । मानवको एउटा वृक्षसँग पनि प्रेम हुन्छ, पहाडसँग पनि । हिमालसँग पनि प्रेम हुन्छ, तराईसँग पनि । त्यहाँ भएका चराचर जगत्सँग पनि । त्यसैले प्रेम अनौठो हुन्छ । प्रेममा रतिराग हुँदैन, ईष्र्या हुँदैन, घमण्ड हुँदैन, अभिमान हुँदैन । सानो, ठूलो, गरिब, धनी, विपन्न, सम्पन्न, उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग भन्ने ‘वर्गीकरण’ हुँदैन । न त हुन्छ आकार, न त हुन्छ रुप ।

प्रेम मन हो । जसरी मनको कुनै आकार हुँदैन । आकारविहीन, रुपविहीन वस्तुले संसारलाई जोडेको हुन्छ । युद्ध, घृणा, हत्या, आतङ्क, द्वन्द्व यी क्षणिक चिज हुन् । जसमा प्रेमको एउटा अंश पनि हुँदैन । यदि प्रेम हुन्थ्यो भने यी कुराहरु हुँदैनथे । आज पहिलो, दोस्रो र तेस्रो विश्वको कुरा गर्छौं । वास्तवमा यी वैभवहरु कृत्रिम हुन् । प्राकृतिक होइन् । प्रेम प्राकृतिक हो । प्राकृतिक चिजमा वैभवता हुँदैन । सम्पन्नता हुँदैन । आकार हुँदैन । रुप हुँदैन । केवल हुन्छ त प्रेम । आज हामी प्रेमको नाउँमा भ्रम सिर्जना गरिरहेका छौँ । त्यस्तो सिर्जना जुन शाश्वत छैन । हरेक प्रेमलाई पैसामा कन्भर्ट गरिरहेका छौँ । यसले हामीलाई क्षणिक खुसी त देला तर त्यसले दीर्घकालीन सन्तुष्टि दिन सक्दैन । भौतिक चिजले हाँसो किन्न सक्दैन । किनेको जस्तो लाग्छ । तर, त्यही हाम्रो भ्रम हो । भौतिक जीवन नै भ्रमपूर्ण हुन्छ । यो मिनेट मिनेटमा फेरबदल भइरहेको हुन्छ । परिवर्तन भइरहेको हुन्छ । परिवर्तन त्यो चिज हुँदैन, जुन चिज सुद्ध हुन्छ । शाश्वत हुन्छ । प्रमाणिक हुन्छ । नित्य हुन्छ । त्यही नित्य नै प्रेम हो । त्यसकारण यो सीमाहीन हुन्छ ।

यदि कुनै केटाले कुनै केटीलाई यति माया गर्छु, उति माया गर्छु भनेर भन्नु उसको मुर्खता मात्रै हो । केटीले त्यस कुरालाई विश्वास गर्छ भने त्यो भ्रम हो । भ्रम कुनै न कुनै दिन टुट्छ । जसरी सपनाहरु टुट्छन् । सपनासँग प्रेमको सम्बन्ध हुँदैन । प्रेम बिकाउ पनि हुँदैन । प्रेम बजारमा बेच्न पनि राखिँदैन । त्यसकारण प्रेम पैसामा कन्भर्ट हुँदैन । सायद, भ्यालेन्टाइनले उत्प्रेरणा गर्न खोजेको प्रेम नित्य थियो । त्यसैकारण उत्प्रेरक भई आफ्नो जीवनलाई उत्सर्ग गरे । आज उनैको नाममा प्रेमदिवस । सार्थक जीवन बाँच्नका लागि प्रेमदिवस ।