वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडा नं. २ पुनरवासस्थित वराह आदर्श क्याम्पसबाट आदर्श खानेपानी ट्याङ्कीसम्म पुग्ने सडकको नाम हो, ‘पवित्रा लिम्बू स्मृति मार्ग ।’
७८ मिटर लम्बाइ र ११ फिट चौडाइको यो कच्ची सडक स्थानीय लालकुमार राईले आफ्नी श्रीमती पवित्राको सम्झनामा निर्माण गरिदिएका हुन् । सडकका लागि उनले आफ्नो नाममा रहेको २ कठ्ठा नम्बरी जग्गा दिए, जसको चलन चल्तीको मूल्य करिब २० लाख पर्छ ।
गतवर्ष निधन भएकी पवित्राको नाममा लालकुमारले चतरा अस्पतालमा २ लाखको अक्षयकोष पनि स्थापना गरिदिएका छन् भने गाउँका विपन्न ३० जनाको आफ्नै खर्चबाट स्वास्थ्य बिमा गरिदिएका छन् । यसलाई उनी आफूहरूको मायाको चिनो ठान्छन् ।
लालकुमार र पवित्रा एक–अर्कालाई खुब माया गर्थे । उनीहरूबीच धारामा पानी भर्ने क्रममा चिनजान भएको थियो, त्यसपछि प्रेम भयो अनि विवाह ।
लालकुमार २०४३ सालमा खोटाङको हलेसीबाट पढ्नका लागि धरान झरेका थिए । धरान–१९ मा बसेर पढ्दै गरेका १८ वर्षीय किशोर लालकुमार पानी भर्न धारामा जाँदा छिमेकी पवित्रा लिम्बूसँग भेट भयो । त्यसबेला पवित्रा ३२ वर्षकी थिइन्, उनीभन्दा १४ वर्ष जेठी । धारामा पानी भर्दाभर्दै उनीहरूको चिनजान भयो, थाहै नपाई गहिरो माया बस्यो । मायालाई उमेरले छेक्ने कुरै भएन ।
राजनीतिमा आस्था राखेका कारण खोटाङमा बसेर पढ्न गाह्रो भएपछि धरान झरेका थिए उनी । धरानको शिक्षा सदन स्कुलमा पढ्नका लागि नाम पनि लेखाए । आर्थिक अवस्था कमजोर भएका उनलाई स्कुलले मागेको १ रुपैयाँ ७० पैसा तिर्न समस्या भयो । त्यसपछि स्कुल छाडेर घर फर्किने निधोमा पुगे ।
पवित्रासँगको पवित्र माया मनमै थियो । गाउँ फर्किने खबर सुनाउन अनि बिदा माग्नका लागि उनलाई भेट्न गए । ‘म घर जाँदै छु, तपाईसँग बिदा पो माग्न आएको मात्र के भनेको थिएँ, उनले म पनि तपाईंसँगै हलेसी हेर्न जान्छु भन्दै लत्ताकपडा बोकेर तयार भइन्’ उनी सम्झन्छन्, ‘म त छक्क परेँ, जिस्केको होला भनेको त साँच्चै जाने भनेपछि मैले पनि हुन्छ भनेँ । तर, घरमा के भन्ने हुन् भनेर लगिनँ ।’
उनलाई आफूभन्दा जेठी केटी विवाह गर्दा परिवारले गाली गर्लान् भन्ने डर थियो । धरान–१९ बाट स्कुलनजिकै कोठा सरेर पवित्रालाई त्यहीँ राखेर एकहप्तामा लिन आउँछु भनेर उनी पहाडतिर लागे । घरबाट फर्किएपछि कोठामा पुग्दा पवित्रा थिइनन् । उनी पनि आफ्नो माइतीघर गएकी रहिछन् । उनी भन्छन्, ‘त्यसपछि चाहिँ उनलाई लिएर पहाडको घर गएँ । सुरुमा त परिवारले लाहुरे परिवारकी धनीकी छोरी ल्याइस्, अब तँलाई मार्छन् भनेर गाली गरे । अनि पछि बुहारी मानेर भिœयाए ।’
लालकुमार कम्युनिष्ट विचारधारासँग जोडिएर राजनीतिमा सक्रिय थिए । कतिबेला पक्राउ परिन्छ भन्ने टुङ्गो थिएन । करिब एक महिना हलेसीको बसाइपछि फेरि धरान झरे अनि ससुराली गए । उनी भन्छन्, ‘सुरुमा त ससुरालीले पनि मानेनन्, मेरो नम्र बोली व्यवहार देखेर होला पछि ज्वाइँ स्वीकारे ।’
०४३ सालको मङ्सिर महिनामा विवाह गरेर चार–पाँच महिना धरान बसी उनीहरू फेरि पहाड जाने भए । चतराको बाटो भएर घर जाँदा राति चतरास्थित मामाघरमा बास बसेका थिए । ‘रातभरिको बसाइमा मामाले पहाड नजाओ, म पनि यहाँ एक्लै छु, यहीँ जग्गा किनेर बस भनेपछि मेरो मन बदलियो, त्यसपछि यहीँ हाम्रो स्थायी बसोबास भयो’–उनी भन्छन् ।
लालकुमार र पवित्राका रमाइला दिनहरू बित्दै गए । तर, पाँच–सात वर्षसम्म पनि सन्तान जन्मिएनन् । ‘पवित्राले मलाई सन्तानका लागि अर्को विहे गर्न पनि आग्रह गरिन् । कुनै धर्म सन्तान पालौं भनेर पनि बारम्बार भनिन्, तर मैले दुवै कुरालाई ठाडै अस्वीकार गरिदिएँ’ उनी भन्छन्, ‘मैले आफ्नो सन्तान भएन् भनेर कुनै पिर मान्दिन्ँ । मलाई तिमी भएपछि सबै पुग्यो, अरू केही चाहिँदैन भनेँ ।’
चार दशकसम्म उनीहरू एक–अर्कालाई माया गरेर, हाँसीखुसी जीवन बिताइरहेका थिए । तर, दुई वर्षअघि अचानक पवित्रालाई पाठेघरको क्यान्सर देखियो । धरानदेखि भरतपुरसम्मका अस्पताल पुर्याएर उपचार गर्दा पनि ठीक भएन । २०७८ साल वैशाख १ गते पवित्राले छाडेर गइन् । पवित्राले पहिल्यै भन्ने गरेकी थिइन्, ‘म मरेर गए पनि समाजसेवा कहिल्यै नछोड्नू ।’
पवित्राको त्यही वचन जस्ताको तस्तै पालन गरिरहेको उनी बताउँछन् । घरमा अहिले उनी एक्लै छन् । पहिला पवित्राले स्याहार्ने घर उनी आफै चिटिक्क पारेर स्याहार्छन् । उनी भन्छन्, ‘हाम्रो प्रेम गृहस्थ भएर पनि विशुद्ध पवित्र र आध्यात्मिक थियो । उनी मलाई मायाले तँ भन्थिन् । मलाई कहिल्यै हामी श्रीमान् श्रीमतीजस्तो लागेन । सधैँ प्रेमीप्रेमिकाजस्तै लाग्यो । प्रेम उमेरले पुरानो भए पनि अनुभव र विचारले अहिले पनि ताजा नै छ ।’