झापा मेचीनगरका बासिन्दा लामो समयदेखि हात्तीबाट पीडित बन्दै आएका छन् । भारतबाट आउने हात्तीका बथानले मेचीनगरका बाहुनडाँगीलगायतका क्षेत्रमा लगाएको बाली नष्ट गरिदिने हुँदा किसानले हैरानी बेहोर्दै आइरहेका छन् । त्यति मात्र होइन, हात्तीको आक्रमणबाट धेरै जनाको ज्यानसमेत गइसकेको छ भने धेरैवटा हात्ती पनि मरिसकेका छन् । हात्तीबाट बालीनाली सुरक्षित गर्न मेचीनगर क्षेत्रमा विद्युतीय करेन्ट प्रवाह गरेर तार बारीमा छाडिन्छ । केही साताअघि मात्र झापामा आफैले हात्तीका लागि राखेको विद्युतीय करेन्टमा परेका एकजनाको ज्यान गएको छ । यसरी बर्सेनि मान्छे र हात्तीबीच द्वन्द्व बढ्दो छ । हात्तीले खेतीबाली खाने र मान्छेलाई आक्रमण गर्ने अनि मान्छेले विद्युतीय पासो थापेर हात्तीलाई मार्ने क्रम बढ्दै जानु चिन्ताको विषय हो ।
झापामा अधिकांश हात्ती भारतको कोलाबारी फरेष्टबाट आउने गरेका छन् । दिनभर भारतमा रहेका हात्ती राति नेपालतर्फ आएर क्षति गर्ने गरेका छन् । स्थानीयवासीले हात्ती नियन्त्रणका लागि स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म पटक–पटक ज्ञापन–पत्र बुझाउने, ध्यानाकर्षण गराउने, अनुरोध गर्ने जस्ता काम गरे पनि हात्ती आतङ्क नियन्त्रण हुन सकेको छैन । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले हालै पत्रकार सम्मेलन गरेर हात्ती–मानव द्वन्द्वको दीर्घकालीन समाधान गर्न र हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्न माग गरेका छन् । उनले लामो समयदेखि हात्ती–मानव द्वन्द्वलाई सह अस्तित्वमा रूपान्तरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनले हात्तीसँग लडाइँ गरेर होइन, बरु व्यवस्थापन गरेर पर्यटक बढाउन सकिने भन्दै विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेका छन् । यद्यपि हात्तीबाट बाली क्षति हुने, मान्छे मारिने र मान्छेबाट हात्ती मारिने क्रम रोकिएको छैन । पछिल्लो समय हात्ती मात्र होइन, धेरैजसो जङ्गली जनावारहरू मानव बस्तीमा पसेर बाली नष्ट गर्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरेका घटना बढिरहेका छन् । यसलाई कतिपयले जनावर मान्छेको बस्तीमा पसेको होइन, मान्छेले जनावरको बस्तीमा अतिक्रमण गरेर घरबारी बनाएपछि समस्या आएको भन्ने गरेका छन् । जसरी भए पनि समस्या आउनु राम्रो होइन । मानवीय क्षति जति गम्भीर कुरा हो, हात्तीजस्ता वन्यजन्तुको क्षति पनि पर्यावरणीय हिसाबले उत्तिकै गम्भीर मानिन्छ । दुवैतर्फको क्षति रोक्न सरकारले अध्ययन गरी उपायको खोजी गर्नु आवश्यक छ ।
लामो समयदेखि हात्तीबाट पीडित बनिरहेका मेचीनगरका बासिन्दालाई हात्ती आतङ्कबाट मुक्त गर्नु र क्षतिको उचित राहत दिनु त राज्यको दायित्व नै हो । त्यसबाहेक यस्तो समस्या अन्त्य गर्नका लागि पनि तीनै तहका सरकारले गम्भीरताका साथ सोच्नु पर्ने आवश्यकता छ । त्यसका लागि स्थानीयवासीसँग सल्लाह गरी हात्तीलाई बस्तीसम्म पस्न नसक्ने वा भारतबाट नेपालतर्फ पस्न नसक्ने उपायको खोजी गर्न सकिन्छ । त्यस्तै हात्तीलाई पर्यटनसँग जोडेर पनि कुनै उपायको खोजी गर्न सकिएला । यो क्षेत्रका हात्ती पीडितलाई सरकारले आश्वासन दिन थालेको धेरै समय भए पनि समस्या समाधान नहुँदा स्थानीयहरू पीडित बनिरहेका छन् । अब पनि सरकारले हात्ती–मानव द्वन्द्व अन्त्यका लागि उपायको खोजी गर्न ढिलाइ गर्नु हुँदैन । आश्वासन दिने तर, काम नगर्ने चलन नहटाउने हो भने यसरी नै बर्सेनि मान्छे र हात्ती मर्ने क्रम रोकिने छैन ।