सुनसरी । चिकेन पक्स अर्थात् ठेउला रोगका बिरामीले उपचारको सट्टा देउता चढेको भनी रोगलाई लुकाउने गरेको पाइएको छ ।
केही दिनअगाडि दादुरा रोग फैलिएको सूचना पाइएपछि स्थलगत अनुगमन गर्दा कोसी गाउँपालिका–७ स्थित हरिपुरमा ठेउला रोग फेला परेको थियो । सामान्यतः शरीरको छालामा फोका आउनुलाई ठेउला भनिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, युएन क्षेत्रीय कार्यालय धनकुटाका प्रतिनिधि, कोसी गाउँपालिका क्षेत्रका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिले अनुगमनको क्रममा सो रोग फेला परेका थिए । यो सरुवा रोग पनि हो । यद्यपि ठेउला रोग भेटिएका क्षेत्रका बिरामी यसलाई देउता भनिरहेका छन् ।
माघ २५ गते अनुगमन टोलीले कोसी गाउँपालिका–७ की मुनिया सदाको परिवारमा ७ जना र सोही स्थानका भगवानी सदाको परिवारको ५ जना गरी १२ जनामा ठेउला रोग फेला पारेको कोसी गाउँपालिका–७ का अध्यक्ष लालदेव सदाले बताए । ठेउला रोग देखिएका बिरामीलाई घरमै बस्न सुझाव दिएको उनले बताए । चिकित्सक नेतृत्वको अनुगमन टोलीले चिकेन पक्स रोग भएको पुष्टि गरे पनि सदा समुदाय भने यसलाई देउताको संज्ञा दिइरहेको उनको भनाइ छ ।
‘यो कुनै रोग होइन, हाम्रो देउता हो’ स्थानीय ६५ वर्षीया मुनिया सदाले भनिन्, ‘नातिनतिनामा देखिए पनि विस्तारै हराउँदै गएको छ ।’ अर्का स्थानीय टिमा सदा भन्छन्, ‘अस्ति माता निस्केको थियो, यसमा कुनै औषधोपचार आवश्यक छैन ।’ सदा समुदायका अनुसार शरीरमा देखापरेको फोका कुनै रोग नभई आफूहरूले मान्ने देउता भएको र यो आफै निको हुने उनीहरूको बुझाइ छ ।
यस वडामा सदा समुदायका २ सय ५० देखि ३ सय घरपरिवार बसोबास गर्छन् । कोसी गाउँपालिका–७ का विद्यानन्द पाठकले चिकेन पक्स समुदायमा फैलिएकाले यसलाई रोक्न तत्काल सतर्कता अपनाउनुपर्ने बताए । चिकेन पक्स हावाबाट फैलिन्छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डाक्टर सागर प्रसाईंले अनुगमनका क्रममा उक्त रोग स्थानीयमा फेला परे पनि सदा, मुसहर जस्ता समुदाय भने त्यसलाई देउताको संज्ञा दिइरहेको बताए ।
तर, उनले यो एक प्रकारको रोग नै भएको र हावाको माध्यमबाट चाँडै फैलिने भएकाले यसका लागि ‘एकान्त बास’ बसेमा ठीक हुँदै जाने बताए । ‘केही दिनअगाडि दादुरा रोग फैलिएको सूचना प्राप्त भएपछि अनुगमन गर्न जाँदा चिकेन पक्स रोग भेटिएको थियो’ उनले भने, ‘हावाबाट फैलिने यो रनेग एउटा भाइरसका कारणले हुने हो, यसलाई कतिपय समुदायले देउताका रूपमा मान्छन् ।’
यता सुनसरीको बर्जु गाउँपालिका–२, दुहबी नगरपालिका–३ मा पनि चिकेन पक्स रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । चिकेन पक्स रोगबाट तत्कालै बिरामीको मृत्यु नभए पनि यस रोगले अन्य खालका रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर पार्ने डा. प्रसाईं बताउँछन् ।
‘चिकेन पक्सबाट तत्कालै मान्छेको मृत्यु हुँदैन’ उनले भने, ‘तर, यो रोगले अन्य रोगबाट लड्ने इम्युनिटी पावर कम गरिदिने हुनाले अन्य रोगले आक्रमण गर्ने सम्भावना बढी रहन्छ । यो भाइरसको कुनै औषधोपचार हुँदैन, त्यसैले जतिबेला जुन रोगको लक्षण देखापर्छ, सोहीअनुसार औषधि चलाउनुपर्छ ।’