धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्बोधन गर्ने गरी प्रदेश १ को स्वास्थ्य मन्त्रालयस्तरीय समन्वय समिति गठन भएको छ ।

प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बूसहितको टोलीसँग प्रतिष्ठानका पदाधिकारीहरूबीच सोमबार समन्वय बैठक बस्दै ६ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा प्रदेश १ को स्वास्थ्य मन्त्रालयका तर्फबाट तीनजना र बीपी प्रतिष्ठानका तर्फबाट तीनजना गरी ६ जनाको समन्वय समिति गठन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल विकास महाशाखाका प्रमुख सागर प्रसाईंले जानकारी दिए । उनका अनुसार उक्त समितिले बीपीको समस्याको विषयमा छलफल गर्दै प्रदेश तहबाट समाधान गर्न सकिने विषयलाई प्रदेशले निराकरण गर्ने र सङ्घीय तहबाट समाधान गर्ने विषयलाई सङ्घीय सरकारकहाँ लाने निर्णय भएको छ ।

‘कतिपय समस्या प्रदेशले पनि गर्नसक्ने देखियो, कतिपय चाहिँ सङ्घीय सरकारले नै सम्बोधन गर्नुपर्ने देखियो’ उनले फोनवार्तामा भने, ‘प्रदेशले सकारात्मक रूपमा सहयोग गर्ने मन्त्रीज्यूले प्रतिबद्धता गर्नुभएको छ ।’ बैठकपश्चात् मन्त्री लिम्बूले अस्पतालको विभिन्न शाखाहरू तथा स्वास्थ्य उपचार गरिने क्षेत्रहरूको निरीक्षण गरेकी थिइन् ।

निरीक्षणपश्चात् उनले प्रदेश तहबाट हुनसक्ने समस्यालाई प्रदेशले नै सम्बोधन गर्ने बताएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. जगत प्रसादले बताए । उनका अनुसार मन्त्री लिम्बूले कतिपय विषय केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने खालको रहेकाले आफ्नो तहबाट गर्ने प्रतिबद्धता गरेकी थिइन् । ‘मन्त्रीज्यूले प्रदेशले समाधान गर्नसक्ने प्रदेशले नै गर्छ भन्नुभएको छ, प्रदेशबाट हुन नसक्ने केन्द्र सरकारलाई पहल गरिदिन्छु भन्नुभएको छ’–स्वास्थ्य महाशाखा प्रमुख प्रसाईंले भने ।

त्यसक्रममा अस्पतालको आकस्मिक कक्ष, आइसियु, बच्चा वार्डलगायतमा निरीक्षण गरी अस्पतालको विषयमा बाहिर आएजस्तो विकृति आफूले नपाएको बताइन् । समन्वय बैठकमा बीपी प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत प्रसाद, शैक्षिक शाखाबाट डा. सिवेन्द्र झा, आर्थिक प्रशासन शाखा प्रमुख मोहन राईले प्रतिष्ठानको स्वास्थ्य सेवादेखि लिएर शैक्षिक सेवा, आर्थिक अवस्थाको बारेमा पनि जानकारी गराएका थिए ।

प्रतिष्ठानलाई सुधार गर्नका लागि नयाँ टिमले हरदम प्रयास गरिरहेको अस्पताल निर्देशक प्रा. डा. प्रसादले जानकारी दिए । हालै प्रतिष्ठानमा शिक्षाध्यक्ष भएका प्रा.डा. सञ्जीवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।