विजयपुर । धरान–११ मा ८ वर्षीया एक बालिका संरक्षककै यातनाको सिकार बनेकी छन् । संरक्षक नाताले ठूलीआमा पर्ने सुमित्रा रोक्काको कुटपिटबाट घाइते बनेकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

सङ्खुवासभा घर भएकी बालिकाकी आमाको निधन भइसकेको छ । बुबाले अर्की श्रीमती विवाह गरेपछि ती बालिका धरान–११ स्थित कुविरता चोकमा रहेकी नाताले ठूलीआमा सुमित्रा रोक्कासँग बस्दै आएकी थिइन् ।

सङ्गम महिला समूहकी अध्यक्ष तथा धरान–११ की स्थानीय पूजा विमलीले संरक्षक रोक्काबाटै बालिकाले चरम यातना पाएको बताइन् । उनका अनुसार माघ २६ गते कोठाभित्र कुटपिट भएको थियो । कुटपिट गरेपछि कक्षा १ मा अध्ययन गर्ने  ती बालिका घरबाहिर निस्कन छोडेकी थिइन् । उनले भनिन्, ‘पुनः फागुन १ गते पनि निर्घात रूपमा कुट्दै गर्दा समूहका दिदीबहिनीले भेटेर खबर गरे । बुझ्दा कोठाभित्र लुकाएर कुट्ने गरेको पाइयो ।’

कुटपिटबाट घाइते बालिकाको हाल प्रतिष्ठानमा उपचार भइरहेको छ । उनले भनिन्, ‘प्रतिष्ठानमा उपचार हुँदै गर्दा सुमित्राको छोराले घरमा ल्याएछन् । हामीले प्रहरीलाई खबर गरेपछि पुनः प्रतिष्ठानको आकस्मिक कक्षमा नै उपचार भइरहेको छ ।’  उनले बालिकाको न्यायका लागि इलाका प्रहरी कार्यालय धरानमा जाहेरीसमेत दिएको बताइन् । उनले भनिन्, ‘न्याय पाउनुपर्यो भनेर कार्यपालिका सदस्य सिर्जना नेपाल सुवेदी र महिला बालबालिका हेर्ने वडासदस्यलाई पनि जानकारी दिएर जाहेरी दिएका छौँ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले प्राविधिक कारणले जाहेरी दर्ता नभएको बताउँदै भने, ‘भोलि दर्ता हुन्छ । अदालतबाट म्याद थप पनि गर्छौं ।’  

अध्यक्ष विमलीका अनुसार बालिकाको उपचारमा संलग्न चिकित्सकले बालिकाको गुप्ताङ्गमा चोट देखिएको र पाठेघरमा रगत जमेकाले बलात्कार भएको हुनसक्ने बताएका थिए । बलात्कृत भएको आशङ्का लागेपछि ती बालिकालाई सोधपुछ गर्दा बालिका सँगै विद्यालयमा अध्ययन गर्ने ५ वर्षीय बालकलाई देखाएकी थिइन् । महिला समूहकी अध्यक्ष विमलीले भनिन्, ‘ती बालिकाले देखाएको बालकलाई प्रहरीले विद्यालयबाटै पक्राउ गरी ल्याएको थियो । ५ वर्षीय बालकदेखि यस्तो नहुने भन्दै प्रहरीले शिक्षकको रोहवरमा छोडिदियो ।’

गुप्ताङ्गमा चोट र पाठेघरमा रगत जमेको विषयमा सुमित्राले आफूले औंला हालेको बयान दिएको अध्यक्ष विमलीले बताइन् । उनले भनिन्, ‘बालिकाको गुप्ताङ्गमा चोट हुनु र पाठेघरमा रगत जम्नुले आशङ्का उब्जिएको छ । प्रहरीले अनुसन्धान गरिरहेकाले यस विषयमा बोलेका छैनौं । घटनाले अर्को रूप पनि लिन सक्छ ।’

धरान–११ की वडासदस्य सङ्गीता लोहनीले बालिकालाई चरम यातना दिएको बताइन् । उनका अनुसार बालिकाको टाउकोलगायत विभिन्न ठाउँमा चोटपटक भएको बताइन् । उनले सुमित्राले बालिकालाई विद्यालयमा पनि कमै मात्र पठाउने गरेको बताइन् । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मल्लले कुटपिटमा संलग्न आरोपित सुमित्रालाई पक्राउ गरेको बताए । उनले भने, ‘संरक्षकदेखि नै यातना भएको छ ।’  उनले आज (बिहीबार) म्याद थप गरी अनुसन्धान गर्ने बताए । उनले भने, ‘मेडिकल परीक्षण भने भइसकेको छैन ।’