विराटनगर । विराटनगर–२ मा रहेको तुलसी बहुमुखी सहकारीले निक्षेपकर्ताको रकम दिन ढिलो गरेपछि आन्दोलनमा उत्रिएका छन् । सहकारीले निक्षेपकर्ताहरूको लाखौं रुपैयाँ दिन आलटाल गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेराउ पनि गरे । बचत गरेको रकम सावाँ र ब्याजसहित दिनुपर्ने माग राख्दै निरन्तररूपमा निक्षेपकर्ताहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले सहकारीका सञ्चालकसमेत रहेका उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो । मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङमा निक्षेपकर्ताहरूसँग प्रशासनको छलफल भएको थियो । ‘छलफलमा ढिलोमा पाँच दिनसम्ममा अवधि पूरा भएका निक्षेपकर्ताहरूको रकम फिर्ता दिए पक्राउ परेका सचिव र उपाध्यक्षलाई प्रहरीले छोड्नेछ । नभए प्रहरीले कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ’ डिएसपी कार्कीले भने, ‘अहिले अभद्र व्यवहारमा म्याद थप गरिएको छ ।’
अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर सहकारी ऐनअनुसार काम कारबाही नगर्दा तुलसी सहकारीको करोडौं रुपैयाँ जोखिममा रहेको छ ।
विराटनगर–४ की विमला भट्टराईले तुलसी सहकारीमा मुद्दति खातामा १८ लाख जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले सावाँ र ब्याज रकम दिन आलटाल गरेको बताइन् । ‘मुद्दति खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म सावाँ र ब्याज दिन सकेको छैन’ उनले भनिन्, ‘सहकारी धाएको महिना दिन हुन लागिसक्यो । तर, सहकारीले भाखा दिँदै मिति सार्ने गरेको छ ।’ उनका अनुसार सहकारीले अहिलेसम्म सावाँ र ब्याज रकम दिएको छैन । ‘सहकारीले भाका दिएको दुई दिन बितिसक्दा पनि बचत गरेको रकम नदिएपछि सहकारी आएका थियौं । यहाँ सहकारीका सञ्चालक र समितिका कोही पनि भेटेनौं । अहिले अध्यक्ष पनि सम्पर्कविहीन हुनुभएको छ ।’
विराटनगरकी ममताकुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउनुपर्ने बताइन् । ‘फिक्स डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तौं बितिसक्यो । अहिलेसम्म दिने छाँटकाँट छैन’ –उनले भनिन् ।
दुःख गरेर खाई नखाई राखेको रकम डुब्यो भने आफू सडकमा आउने उनले सुनाइन् । ‘आफूसँग भएको रकम सबै यही सहकारीमा बचत गरेको छु’ उनले भनिन्, ‘आफूले जम्मा गरेको रकम सहकारीले दिएन भने म त सडकमा आउँछु ।’
यसरी तुलसी सहकारीमा निक्षेप जम्मा गर्ने बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन आउनेको भीड लाग्ने गरेको छ । पछिल्लो दश दिनयता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनी अहिले कार्यालयमा आउने नगरेको त्यहाँका कर्मचारीले बताएका छन् । २०७१ सालमा सहकारी स्थापना भएको थियो । बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै सहकारीमा जम्मा गरेको रकम दिन आलटाल गरेपछि निक्षेप जोखिममा परेको हो ।
आफ्नो बचत रकम झिक्न आउने सेवाग्राहीलाई बारम्बार झुक्याउने काम भइरहेको छ । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् । तर, बचतकर्ताको रकम झिकेर सञ्चालकले मनोमानी व्यक्तिगत खर्च गरेका कारण सहकारीमा समस्या आएको बुझिएको छ । तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा समेत केहीदिनअगाडि नै तालाबन्दी भएको छ ।
सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापीरूपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ । लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिए पनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्तासामु सहकारीको अवस्था सार्वजनिक नगर्दा समस्या देखिएको छ ।
सहकारीका मेनेजर सीताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए । ‘अहिले तरलताको कारणले समस्या आएको हो’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरूको रकम क्रमशः फिर्ता दिनेछौं । केही समय लाग्छ । तरलताको अभावको कारणले समस्या आएको हो । यो समस्या समाधान गर्नेतर्फ सहकारीका सञ्चालकहरू लागिपरेका छौं । विस्तारै सबैको पैसा फिर्ता हुनेछ ।’