पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामको कुम्मायक धार्मिक स्थलमा विश्व सान्ति मानव एकता सेवाको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन ५ गतेदेखि १२ गतेसम्म संचालन हुने सप्ताहब्यापी सेवाको अन्तिम तयारी पूरा भएको हो । सप्ताहब्यापी सेवामा किरात धर्मगुरु आत्मनन्द लिङदेन सेइङ र गुरुआमा पवित्राहाङमा लिङदेनले उद्घाटन गर्ने विश्व शान्ति मानव एकता सेवा समितिका सह–कोषाध्यक्ष महेश कुमार सेर्माले बताए ।
बिश्वका मानवहरुको एकता र सान्तिको लागि फागुन ५ गतेदेखि १२ गतेसम्म सप्ताहब्यापी सेवामा १ करोड खर्च हुने अनुमान गरिएको छ । तीन सय पुजारीको उपस्थीति हुने सो सेवामा देश विदेशबाट १ लाख भक्तजनहरुको उपस्थीति हुने आयोजकले जनाएको छ । सप्ताहव्यापी सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ बत्ति बाल्ने तयारी छ । सप्ताहव्यापी कार्यक्रम सफल पार्न गाउँपालिकाले विद्युत, खानेपानी र अन्य व्यवस्थापन मिलाएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए ।
पूर्वकै पर्यटकीय क्षेत्र समेत रहेको धार्मिक स्थलमा अहिलेसम्मकै ठुलो सप्ताहव्यापी सेवा हुन लागेको हो । जस्को तयारीको लागि गेठ, हेलिप्याड, मन्दिर सरसफाइ, भक्तजनको व्यवस्थापन समेत गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पार्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।