सुनसरी । कोरोना भाइरस सङ्क्रमणअघिसम्म कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न देशबाट आउने विदेशी पर्यटक भरिभराउ हुन्थे । विगतमा साइबेरिया, अष्ट्रिया, भारतलगायत मुलुकबाट कोसीटप्पु आउने चरा, विश्वमै दुर्लभ मानिएको अर्ना, हात्तीलगायत हेर्न र तिनीहरूका बारे अध्ययन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउने गर्थे । जसका कारण यहाँका पर्यटन व्यवसायीहरूलाई  फुर्सद हुँदैनथ्यो । तर, विदेशी पर्यटक कोरोना महामारीयता खासै आएका छैनन् ।

साढे तीन वर्षयता विदेशी पर्यटक आएका छैनन् । कोसीटप्पुमा अष्ट्रेलिया, क्यानाडा, जापान, चीन, युएस, युके तथा युरोपबाट पर्यटक आउने गरेका थिए । ‘आजभोलि कोसीटप्पुमा बोटिङ र जङ्गल सफारी गर्न आन्तरिक पर्यटकहरू मात्र आउने गरेका छन्’–कोसीटप्पु क्षेत्रमा होम–स्टे सञ्चालन गरिरहेका राजदेव मेहताले भने । कोसीटप्पु क्षेत्रमा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका अर्का गोपाल कार्की पर्यटन व्यवसायमा सरकारले वार्षिक रूपमा करोडौं राजस्व असुली गर्न सक्ने सम्भावना भए पनि पर्यटन प्रवद्र्धनका लागि काम नगरेको गुनासो गर्छन् । ‘कोसीटप्पु एक नम्बर प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य हो’ उनले भने, ‘यो कुरा हामीले पटक–पटक ध्यानाकर्षण गराउँदै पनि आएका छौं । तर, विडम्बना अहिलेसम्म केही सीमित व्यक्तिको पहल र प्रयासमा मात्रै यहाँ पर्यटन व्यवसाय चलेको अवस्था छ ।’ ‘पर्यटन प्रवद्र्धनका निम्ति सरकारले लोभलाग्दो प्रतिबद्धताबाहेक अरू केही गरेको पाइँदैन’–उनले भने । ‘पर्यटक भनेपछि विदेशी पाहुना धेरैले बुझ्छन् तर, कोरोना महामारीपछि भने दिगो पर्यटनको मुख्य आधार भनेकै आन्तरिक पर्यटक हो भन्ने आभास भएको छ’ –कोसीटप्पु अकुवा बडर््स होटल सञ्चालक सुरज गिरीले भने ।

कोरोना महामारीका कारण वाह्य पर्यटक नआउँदा थलिएको यहाँको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटकले धानेको उनी बताउँछन् । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा चरादेखि दुर्लभ अर्नाबारे अध्ययन तथा घुमघाम गर्न विदेशी पर्यटक आउने गरेका छन् । उनीहरू प्रायःजसो जाडोको समयमा कोसीटप्पु आउने गर्छन् । तर, यसपटक अवस्था फरक छ । विदेशी पर्यटकहरू आउन पाएका छैनन् । जसले गर्दा विगतमा यतिबेला वाह्य पर्यटकले भरिभराउ रहने कोसीटप्पु क्षेत्रका होटलहरू आजभोलि भने आन्तरिक पर्यटकको भरमा चलेका छन् । विदेशी पर्यटक नआउँदा अपेक्षा गरिएअनुसार आम्दानी नभए पनि कोसी टप्पुजस्ता नयाँ गन्तव्यको प्रचारमा सरकारी पक्षले ध्यान दिनुपर्ने आवश्यकता रहेको संरक्षणकर्मी कुरबान मन्सुरी बताउँछन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षले आफ्ना विशेषताहरूका बारेमा जानकारी गराउँदै सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम गरिनुपर्ने उनको भनाइ छ । यता कोसी टप्पु वन्यजन्तु आरक्ष अवस्थित कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोसीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत नगरेसम्म पर्यटन प्रवद्र्धन गर्न नसकिने बताए । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकार लागिपरेको दाबी गर्दै उनले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत प्रदेश र सङ्घीय सरकार कोसीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्न चासो नदिएको गुनासो गरे ।जंगली जनावर र सर्वसाधारणबीचको द्वन्द अन्त्य गर्दै कोसीटप्पुको संरक्षण एवम् पर्यटकीय विकासका लागि सबै एकमत हुनुपर्ने आवश्यकता रहेको अध्यक्ष अन्सारीको कथन छ ।

सात महिनामा आए १ सय १९  विदेशी पर्यटक
१ नम्बर प्रदेश अन्तर्गत सुनसरी र उदयपुर जिल्लामा सप्तकोसी नदीले बनाएको टापुमा कोसीटप्पु वन्यजन्तु आरक्ष अवस्थित छ । कोसीटप्पु वन्यजन्तु आरक्षलाई नेपालको पूर्वी तराईको महŒवपूर्ण पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ ।

२०३२ सालमा स्थापना भएको आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । नेपालमा संरक्षित क्षेत्रको वर्गीकरणअनुसार वन्यजन्तु आरक्ष, रैथाने अर्ना पाइने एकमात्र आरक्ष, विश्व रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र, पंक्षी अवलोकन, अध्ययन, अनुगमनको लाई उत्कृष्ट क्षेत्र, जस्ता अनेकौं विशेषताले भरिपूर्ण क्षेत्र हो, कोसी टप्पु वन्यजन्तु आरक्ष । तर, पर्याप्त अवसर सम्भावना बोकेको क्षेत्र भए पनि कोसीटप्पु वन्यजन्तु आरक्षले अपेक्षित लाभ लिन सकेको छैन ।

पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको आरक्ष प्रचार–प्रसार तथा पूर्वाधार विकास अपेक्षाअनुसार नहुँदा फस्टाउन नसकेको हो । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १ सय १९ जना मात्रै विदेशी पर्यटक आएका छन् भने सार्क देशका ३४ र ६ हजार ६ सय १० जना नेपाली नागरिक कोसीटप्पु आएको देखिन्छ । जबकि आर्थिक वर्ष २०७८÷०७९ सालमा १ सय ६ जना विदेशी पर्यटक आएका थिए भने सार्क देशका २४ जना र ११ हजार ३७ जना नेपाली नागरिक कोसीटप्पु वन्यजन्तु आरक्ष आएको तथ्याङ्कले देखाउँछ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले लगानी गर्ने माहोल बनाएमा आफूहरू कोसीटप्पुमा लगानी गर्न तयार रहेको पर्यटन व्यवसायी एवम् होटेल व्यवसायी बताउँछन् । कोसीटप्पुमा भएका दुर्लभ मानिने जनावरहरू अन्तै पठाएर सरकारले कोसीटप्पुको पहिचान मेटाउने काम गरेको उनीहरूको आरोप छ ।