सिनेमामा दर्शकले चिन्ने भनेको हिरोलाई हो । त्यसका पात्रहरूलाई चिन्ने हो । फिल्ममा बिक्ने भनेको हिरो हो । फिल्मको निर्देशकलाई कमैले मात्र चिन्छन् । धेरैले त चिन्दै चिन्दैनन् । चिन्ने नै हिरो र पात्रहरू हुन् ।

अहिले नेपालको राजनीतिमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरू चाहे ती काङ्ग्रेस हुन् या माओवादी हुन्, या त एमाले हुन् र अन्य स–साना दलहरू हुन् । ती दलहरूका शीर्षनेताहरू र त्यसमा संलग्न जिम्म्मेवार नेताहरू ती सिनेमाका पात्रहरूजस्तै राजनीतिक रङ्गमञ्चमा चिन्ने र देखिने पात्रहरू मात्र हुन् । ती दलहरूको निर्देशक भनौं या डाइरेक्टर ती सिनेमाको जस्तै पर्दापछाडि छन् । अहिलेको प्रतिनिधिसभाको निर्वाचनपछि कसैले पनि सरकार निर्माण गर्न स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि दलहरूको राजनीतिमा देखिएको चरित्र विचार, अभिव्यक्ति र विचलनले यस्तै संशय र प्रश्न उठ्छ ।

निर्वाचन र त्यसपछि सरकार निर्माणसम्म पाँचदलीय गठबन्धन यथावत् रहने प्रतिबद्धता काङ्ग्रेसलगागायत सबै दलले गरेका थिए । सरकारको नेतृत्व गर्ने विषयमा मतान्तर हुँदा पाँचदलीय गठबन्धन भङ्ग भयो । एमालेको नेतृत्वमा अर्को सातदलीय गठबन्धन बन्यो र सरकारको नेतृत्व प्रचण्डले गर्दै सरकार बन्यो ।

यतिसम्म हुनु राजनीतिमा कुनै आश्चर्य त हैन । आश्चर्य त विश्वासको मत लिने क्रममा नेपाली काङ्ग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा देखियो । अहिले राजनीतिमा चर्चा भएजस्तो सभामुख, राष्ट्रपति पद प्राप्तिको लागि विश्वासको मत दिएको र राजनीतिक सन्तुलनकै लागि यस्तो गरिएको हो भनिए पनि यो विचारमा विश्वास गर्न सकिँदैन । आखिरमा प्रचण्ड सरकारलाई विश्वासको मत दिनु नै थियो भने  प्रचण्ड नेतृत्वको सरकारलाई विश्वास गर्नु नै थियो भने पाँचदलीय गठबन्धन रहँदै प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्न किन काङ्ग्रेस मानेन् ? र विश्वासको मत चाहिँ किन दियो ? यही प्रश्न र अन्य संशयले राजनीतिक दलमा निर्देशक छन् किन नभन्ने ? देउवा र त्यस दलका पदाधिकारी देखिने पात्र हुन् ?

यस्तै माओवादी दलमा पनि छ । पाँचदलीय गठबन्धन भङ्ग गरेर सातदलीय गठबन्धन गर्दै सरकारको नेतृत्व गर्न पुगेका प्रचण्ड काङ्ग्रेसको विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिको नाममा सातदलीय गठबन्धनको आवरणभित्र नरही आफू अनुकूलको राजनीति गर्न उद्यत छन् र यसैको उदाहरण ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनु हो । अहिले राजनीतिक दलमा इमान्दारिता चारित्रिक अनुशासन र विश्वासमा विचलन मात्रै आएन ती राजनीतिक दलको धर्म, विचार र सिद्धान्तसमेत स्खलन हुँदै गएको छ । माओवादी दलले सरकार निर्माण गरेदेखि नै त्यो पार्टीमा आएको निर्णय क्षमता र सातदलीय गठबन्धनको आवरणभित्र नरहने राजनीतिकशैलीले माओवादी पनि त्यस पार्टीको देखिने पात्र मात्र हो र निर्देशक पर्दापछाडि छन् त ?

निर्वाचनको समयदेखि नै निर्वाचन प्रयोजनकै लागि अन्य राजनीतिक दलसँग गरेको गठबन्धन र सातदलीय गठबन्धनका सूत्राधार एमालेले सात दलसँग गरेको गठबन्धन र तिनीहरूको सर्त निःशर्त स्वीकार गर्नु पनि राजनीतिमा उदेकलाग्दो छ । कुनै राजनीतिक दल सङ्घीयता विरोधी, कुनै राजनीतिक दल राजावादी र हिन्दु राज्यका पक्षधर रहेका समेतको सातदलीय गठबन्धन गणतन्त्रको लागि अनुत्पादक हुन सक्छ । यस्तो दृश्यको आँकलन हुँदाहँुदै गठबन्धन गर्नुले पनि एमाले पनि राजनीतिमा देखिने पात्र मात्र हो र यिनीहरूको निर्देशक अरू कोही छन् कि ? भन्ने बुझ्न सकिन्छ ।

केही दिनपूर्व मेची–महाकाली अभियान सुरु भएको छ । त्यो अभियानमा पूर्व राजा ज्ञानेन्द्र शाहका सपरिवार उपस्थित गराएर हजारौं नागरिकको उपस्थितिमा ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउँदै राजतन्त्र भिœयाउने झझल्को नागरिकको मनमस्तिष्कमा पार्न सक्नु राजनीतिक दलका लागि चुनौती हो । यो अभियानविरुद्ध कुनै पनि राजनीतिक दलले विरोध गरेनन्, मौनता साधे । एमाले र काङ्ग्रेस दुवैलाई राष्ट्रपति पद चाहिएको छ । त्यसैका लागि दुवै दलले मौनता साधेका हुन सक्छन् । तर,  राष्ट्रपति पदका लागि यसरी मौनता साध्नु यी दुवै राजनीतिक दलहरूलाई महँगो पर्न सक्छ, यो मेची–महाकाली अभियान ।

माओवादीलाई भने यो अवसर सुवर्ण अवसर भएको छ । प्रचण्डको नेतृत्वको सरकार अझ गृहसमेत आफ्नै जिम्मामा रहेको समयमा यो ‘मेची–महाकाली अभियान’ सुरु हुनु र कुनै राजनीतिक दलले सरकारको विरोध नगर्नुले प्रचण्ड अब आउँदा दिनमा अरू प्रचण्ड भएर आउन सक्नेछन् ।

अहिले राजावादीहरूको चलखेल बढ्दै गएको छ र चलखेलको समय अहिले हुनु र प्रचण्डको सरकारलाई राष्ट्रिय दलको मान्यता प्राप्त गरेका सबै दलको विश्वास रहनु यो संयोगमात्र हो भन्ने मान्न सकिँदैन । विश्वासको मत प्राप्त गरेको प्रचण्ड सरकारले गरेका सबै निर्णयहरू विश्वासको मत दिने सबै राजनीतिक दलको पनि निर्णय हो भन्दा फरक नपर्ला ।

झट्ट हेर्दा वर्तमान राजनीतिको शैली र रणनीति हेर्दा सबै राजनीतिक दलहरूलाई त पहिलेदेखि नै प्रतिगामी आरोप लागेकै हो । अब यसमा माओवादी मात्रै हैन, नेपाली काङ्ग्रेस पनि प्रतिगामी पथमा उन्मुख त छैन ? भन्ने प्रश्न उब्जिन्छ । यसो किन नभन्ने सबै राजनीतिमा देखिने पात्रमात्र हुन् । यिनीहरूको निर्देशक अरू नै छन् । अहिलेको वर्तमान राजनीति र दलहरूको रणनीतिले यसै भन्छ ।