विजयपुर । धरान–६ स्थित सरस्वती मावि पानबारीले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार सार्वजनिक सामाजिक परीक्षण प्रतिवेदनले बालबालिकाले विद्यालय छाड्ने दरलाई प्रमुख समस्याको रूपमा देखाएको छ । प्राथमिक तहका बालबालिकाले विद्यालय छाड्ने गरेको प्रतिवेदनले औंल्याएको हो ।
विद्यालयले शैक्षिक २०७८÷०७९ सालको प्रतिवेदन सार्वजनिक गरेको हो । विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष विनोद विश्वकर्माको संयोजकत्वमा ८ सदस्यीय सामाजिक परीक्षण समिति बनेको थियो । संयोजक विश्वकर्माले सामाजिक परीक्षण प्रतिवेदनले विद्यालयका समग्र अवस्था देखाउने बताए ।
विद्यालयका शिक्षक तथा समितिका सदस्य–सचिव ठमेन्द्र बरालले बालबालिकाले विद्यालय छाड्ने दर नै समस्यारूपमा देखिएको बताए । विद्यालयका प्रधानाध्यापक गङ्गाप्रसाद धमलाले बालबालिकाले विद्यालय छाड्ने समस्या समाधान गर्नमा अभिभावकदेखि सबै पक्ष लाग्नुपर्ने बताए । १ नं. प्रदेशका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले विद्यालय छाड्ने दर न्यूनीकरणका लागि पहिले कारण पत्ता लगाउन सुझाए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक सदानन्द भट्टराईले विद्यालयका पुस्तकालयका लागि पुस्तकहरू प्रदान गर्ने बताए । उनले विद्यालय स्थापनाकालमा विद्यार्थीलाई रुखको फेदमा अध्यापन गराएको स्मरण गराए । पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य जानुकादेवी लुङ्गेलीले विद्यालय दर्ताका लागि १५ जना बालबालिका पनि नपुगेको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुट्वालले सरकारी नीतिका कारणले सामुदायिक विद्यालय सञ्चालनमा समस्या आइरहेको बताएका थिए । उनले सामुदायिक विद्यालयमा आर्थिक समस्याका कारणले पनि गुणस्तर सुधार गर्न नसकिएको बताए ।
विद्यालयका प्रधानाध्यापक धमलाले आगामी शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट अध्यापन गर्ने बताए । उनले बालकक्षादेखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराउने बताए । कार्यक्रममा पूर्व प्रधानपञ्च अमरबहादुर आचार्यलगायतको उपस्थिति रहेको विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालले जानकारी दिए ।