विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिक उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे । स्कुलको वार्षिक उत्सवको उद्घाटन गर्दै नगरप्रमुख कोइरालाले संस्कार र सीपसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । अहिलेको आवश्यकता भनेको संस्कारसहितको रोजगारमुखी शिक्षा भएकोले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

स्कुलका भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले स्वागत मन्तव्य राखेकी थिइन् । वार्षिक उत्सवको अवसर पारेर फनफिस्टा पनि आयोजना गरिएको थियो । फनफिस्टामा एक दर्जन बढी स्टलहरू रहेको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । कार्यक्रममा बोल्दै सुवालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि स्कुलले विशेष ध्यान दिएर काम गरेको बताए  ।

वार्षिक उत्सवमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन र फेसन शो पनि प्रस्तुत गरी सहभागीहरूलाई दिनभर मनोरञ्जन प्रदान गरे । कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरूले मनोरञ्जनात्मक खेलहरू पनि देखाएर रमाइलो गरे । वार्षिक उत्सवका अवसरमा एलकेजीदेखि कक्षा १० सम्म प्रथम, द्वितीय र तृतीय हुने ६८ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरियो ।

यस्तै २५ वर्षसम्म गौतम बुद्ध स्कुलमा अध्यापन गराउने चार जना शिक्षकहरूलाई सम्मान गरियो । सम्मानित हुनेमा धीरज राजवंशी, गुणसागर पण्डित, भाष्कर डङ्गोल र कमलसेन गुप्ता रहेका छन् ।

यस्तै उत्कृष्ट शिक्षकमा प्राइमरीतर्फ पुष्पा बस्नेत र सेकेण्डरीतर्फ पुजन तामाङलाई सम्मान गरेको थियो । यस्तै प्राइमरीतर्फबाट ग्रेड टिचरमा सङ्गीता शर्मालाई सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरूलाई स्कुलका हेड टिचर अर्जुन मल्ल ठकुरी, कमलशेन गुप्ताले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।