विराटनगर । अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आफ्नै श्रीमान्ले सहयोगीसमेत लिएर श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विराटनगर–१९ घर भएकी २८ वर्षीया प्रियङ्का सुनार साहको उनकै श्रीमान् २९ वर्षीय रमेश साहले तीनजना सहयोगीसँग मिलेर हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

हत्या आरोपमा साहसहित मोरङ कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द राम र सोही ठाउँका ३५ वर्षीय उमेश सरदार र ६३ वर्षीय श्रीराम चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पारिवारिक सम्बन्धमा आएको खट्पटको कारणले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी पोखरेलले बताए । ‘अहिले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ’ एसपी पोखरेलले भने, ‘विस्तृत जानकारी थप अनुसन्धानपछि खुल्नेछ ।’

हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगङ्गा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको गोठमा प्रियङ्काको शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो ।

घरको आँगन जोडिएको गोठमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियङ्काको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव गोठमा फालेको आशङ्का छ ।

हत्या गरेर बोरामा पोको पारी फालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउनासाथ घटनाको अनुसन्धानका लागि डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । दाहाल नेतृत्वको टोलीले शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

योजनाबद्ध हत्या
प्रियङ्काको माइती भारत हो । उनीहरूका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । केही समयदेखि उनीहरूको सम्बन्धमा खट्पट आएको थियो । एक–अर्कालाई आशङ्का गर्दै हुने गरेका झगडा प्रहरीचौकीसम्म पुगेको स्थानीय बताउँछन् ।

आइतबार घुम्ने बहानामा रमेशले श्रीमती प्रियङ्कालाई मोटरसाइकलमा लिएर बूढीगङ्गा गाउँपालिका–२ अमाहीस्थित नर्सिङ चौधरीको घरमा पुगेका थिए । उनका साथमा थिए रमानन्द राम र उमेश सरदार । रमानन्दको दाजुको साथी हुन् घरधनी नर्सिङ । रमानन्दको माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । अमाहीमा ६० वर्षीय चौधरी, उनकी श्रीमती र २४ वर्षीय छोरा मात्र बसोबास गर्दै आएका छन् । आइतबार दिउँसो करिब २ बजेतिर घरमा नर्सिङमात्र थिए । त्यही बेलामा रमेश श्रीमती र अन्य दुई जना लिएर पुगेका थिए । ‘चौधरीको घरमा पुगेपछि रमानन्दले नर्सिङलाई हावा खाना भन्दै गाउँतिर पठाइदिए । घरभित्रको कोठामा रमेश र प्रियङ्का बसे । त्यहीबीचमा उनीहरूबीच विवाद सिर्जना भयो । लडाएर तन्नाले घाँटी कसेर हत्या गरेको आरोपीले स्वीकार गरेका छन्’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर गोठमा लुकाए ।’ 

मृतक सुनार साहलाई त्यहाँ भएका दुईजनासँग छाडेर पुर्याउन जाने र घरधनीसमेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरू हिँडेपछि दुईजनाले हत्या गरी बोरामा पोको पारेर गोठमा राखेर हिँडेको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनाबद्धरूपमा महिलाको हत्या भएको देखिन्छ ।

एम्बुलेन्स खोज्दा पक्राउ
आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई शव बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरूले पनि कोसी अस्पतालभित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने । तर, शव अस्पतालभन्दा बाहिर बूढीगङ्गा गाउँपालिका–२ को एउटा घरमा रहेको भनेपछि उक्त सूचना प्रहरीसम्म पुग्यो ।

प्रहरीले रामलाई राति नै नियन्त्रणमा लियो । उनले सुरुमा ढाँटे । मानसिकरूपमा कमजोर जस्ता देखिएका रामले जब बूढीगङ्गा–२ मा एउटा शव व्यवस्थापन गर्नुपर्ने भने । त्यसपछि प्रहरीले महिलाको हत्या भएको सूचना पायो । विराटनगर–१९ की प्रियङ्का सुनार साहको बूढीगङ्गा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो । त्यही शवलाई व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकाले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।