केही समययता खाना पकाउने ग्यास विष्फोटका घटना भइरहेका छन् । एक साताअघि काठमाडौंको बुद्धनगरमा ग्यास लिक भएर विष्फोट हुँदा नेपाली काङ्ग्रेसका सांसद् चन्द्र भण्डारी गम्भीर घाइते भए भने उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भयो । सांसद् भण्डारीको हाल भारतमा उपचार भइरहेको छ । सोमबार धरान–१७ मा पनि ग्यास सिलिन्डर विष्फोट हुँदा ८ जना घाइते भएका छन् । बेला–बेला देशका विभिन्न ठाउँमा खाना पकाउने ग्यास विष्फोट हुने गरेको र जनधनको क्षति हुने गरेका छन् । सहरी क्षेत्रमा मात्र होइन, पछिल्लो समय गाउँघरमा समेत खाना पकाउनका लागि ग्यासको प्रयोग हुन थालेको छ । सहजता र कतिपय कुरामा राम्रो भए पनि यस्तो ग्यास सतर्कता नअपनाए जोखिमपूर्ण पनि हुनसक्छ ।
नेपालीहरूका भान्सा–भान्सामा रहेका ग्यास सिलिन्डरहरू बमजत्तिकै खतरनाक छन्, त्यसैले यसको प्रयोगमा एकदमै सावधानी अपनाउनु आवश्यक छ । तथ्याङ्कअनुसार तीनवर्षयता मात्र तीनदर्जनभन्दा बढी घटना भइसकेका छन् । ती घटनाहरूमा दशजनाको निधन र ४५ जनाभन्दा बढी घाइते भएको पाइन्छ । बर्सेनि ग्यास सिलिन्डर विष्फोटका घटना बढिरहनुले आमनागरिकमा सचेतनाको कमी रहेको प्रष्ट हुन्छ । ग्यास सिलिन्डरको जोखिम न्यूनीकरण गर्न उपभोक्ता त सचेत हुनु आवश्यक छ नै, तर उपभोक्तामात्र सचेत भएर चाहिँ पुग्दैन । यसका लागि ग्यास उत्पादन गर्ने उद्योग, वितरक र नियमन गर्ने निकाय पनि उत्तिकै जिम्मेवार रहनु आवश्यक छ । सबैको सचेतनाले मात्र सुरक्षितरूपमा ग्यासको प्रयोग गर्न सकिन्छ, नत्र यो बमसँग खेल्नुभन्दा फरक छैन ।
नेपाल आयल निगमको तथ्याङ्कअनुसार नेपालमा हाल ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ । निगमले ५९ उद्योगका एक करोड ११ लाख ग्यास सिलिन्डर प्रमाणीकरण गरेको छ । त्यसमध्ये ५० उद्योगले मात्र नेपाल गुणस्तर चिन्ह लिएका छन् । यसबाट पनि प्रचलनमा रहेका सबै सिलिन्डर गुणस्तरीय हुन नसक्ने सम्भावना देखिन्छ । त्यस्ता खतरापूर्ण सिलिन्डर जसको घरमा पनि पुगेका हुन सक्छन् । त्यसकारण सबैले सतर्कता अपनाउनु पर्ने अवस्था छ । यसरी प्रयोग भइरहेका ग्यास सिलिन्डर, रेगुलेटर, पाइपजस्ता वस्तुको नियमन हुन सकेको छैन । सिलिन्डरजस्तै रेगुलेटर र पाइपको खराबीका कारण पनि दुर्घटना हुने सम्भावना रहन्छ ।
खाना पकाउने ग्यास सिलिन्डरको प्रयोग बारे आमनागरिक तहमै सचेतना जगाउनु जरुरी छ । कस्ता सिलिन्डर, रेगुलेटर र पाइप प्रयोग गर्ने, कस्तो अवस्थामा जोखिम भन्ने बुझ्नेदेखि समस्या देखिएमा के गर्ने भन्ने विषयमा सचेतना जगाउन स्थानीय तहहरूले नै अभियान चलाउनु आवश्यक छ । त्यसका लागि राज्यले स्थानीय तहलाई दक्ष जनशक्ति र साधन स्रोत उपलब्ध गराउन सक्छ । दुर्घटना भएपछि पछुताउनुभन्दा बेलैमा सचेतना अपनाउनु पर्छ । त्यसका लागि सबै क्षेत्रले हातेमालो गर्नु आवश्यक छ । ग्यास सिलिन्डर खरिद गर्दादेखि नै उपभोक्ताले आफै सतर्कता अपनाउने हो भने पनि धेरै हदसम्म दुर्घटना कम हुन सक्छन् ।