लौकही । सुनसरीको कोसी गाउँपालीका क्षेत्रबाट सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको टोलिले राजस्व छली गरी ल्याइएको सामान नियन्त्रणमा लिने क्रम बढेको छ ।
सोही क्रममा हिजो मंगलबार बिहान सुनसरी भन्सार कार्यालयबाट सुराकीको सूचनाका आधारमा नायव सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाको नेतृत्वमा खटिएको ४ जनाको टोलिले स्थानीय सशस्त्र प्रहरीको समेत सहयोगमा कोसी गाउँपालिका वडा नं १ स्थित पुरिटोला छिर्ने दशगजा गौंडाको करिब ५० मिटर पूर्वका घरहरुबाट प्रधान यादवको (स्थानिय नाम) घर नजिकवाट १५० के.जी. चिनी ११५० के.जी. मैदा र ३० के.जी. मटर बरामद गरेको छ।
प्रधानको घर नजिक रहेको उमेश पोद्दारको घरमा पनि बाहिर पट्टि मटर दाना भेटिएको साथै निजको घरमा चिनी र मैदा समेत रहेकोमा घररकोठामा चाभी लगाई खोल्न नमानेको र तत्काल जनशक्ती अभावका कारण मालवस्तु बरामद गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ।
साथै उमेश पोद्दारको घरमा कर्मचारी उपर उल्टै हुलहज्त गरी अभद्र व्यवहार समेत गरेको र मुल भन्सार कार्यालयवाट खटिएको गस्ति टोलि बरामद भएको मालसामान लिएर कार्यालय फर्किए पछि लौकही छोटीमा कामकाज गर्न खटिएका कार्यालय सहयोगी कर्मचारी माथी स्थानिय वच्चु पोद्दार, उमेश पोद्दार, प्रधान यादव लगायतको समूहले हातपात गर्ने प्रयास गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
साथै कार्यालयको मूल ढोकामा अबरोध खडा गरी सहयोगी कर्मचारीलाई बन्दि बनाई धम्कि समेत दिएको दाबी गरिएको छ । आफूहरू अवैध रूपमा भइरहेको चोरीपैठारी नियन्त्रण गरी राजस्व चुहावट रोक्न लागी परेको बखत स्थानीयबाट सहयोग आवश्यक भएको सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख गणपति कडेलले बताए ।