विराटनगर । विराटनगर–१९ मिलनचोककी २८ वर्षीया प्रियङ्का सुनारको हत्या गर्ने योजना १५ दिनअगावै बनेको प्रहरी अनुसन्धानले देखाएको छ ।
श्रीमतीको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहले १५ दिनअगावै योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । रमेशले मुख्य सहयोगी कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द रामलाई २५ हजार रुपैयाँ अग्रिम भुक्तानी दिएर हत्याको योजना बनाएको मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
‘श्रीमती प्रियङ्काको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै हत्या गर्ने योजना रमानन्दलाई रमेशले सुनाएका थिए । त्यही योजनाअनुसार रमानन्दले थप दुईजना सहयोगी लिएको अनुसन्धानबाट खुलेको छ’ डिएसपी दाहालले भने, ‘हत्या गरेपछि शव व्यवस्थापनका लागि उनीहरूलाई चुनौती रहेको थियो । शव व्यवस्थापनका लागि अग्रिमरूपमा रमानन्दले रमेशबाट २५ हजार रुपैयाँ लिएको देखिएको छ ।’ २५ हजार लिएपछि शव व्यवस्थापनका लागि रमानन्दले मारुती भेन धनी कटहरी–५ का ३५ वर्षीय उमेश सरदारलाई र विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरीलाई लिएको देखिएको छ ।
रमानन्दले मारुती भेन धनी उमेशलाई २ हजार रुपैयाँ इन्धन हाल्नका लागि दिएका थिए । उनीहरूले प्रियङ्काको हत्या गरेपछि शव व्यवस्थापन चतराको जङ्गलमा गर्ने नभए सप्तकोसीमा फाल्ने योजना बनाएको अनुसन्धान अधिकृत बताउँछन् । ‘हत्या गरेपछि बोरामा हालेको शव मारुती भेनमा हाल्न उमेशले इन्कार गरेछन् । त्यसपछि शव वाहन खोज्न रमानन्द कोसी अस्पतालमा आइतबार राति ११ बजे पुग्दा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्याको घटना बाहिर आएको हो’–घटनाको अनुसन्धान गर्दै आएका डिएसपी दाहालले भने ।
हत्या गर्ने मुख्य सहयोगी रमानन्द आपराधिक क्रियाकलपमा संलग्न भएकाले रमेशले उनलाई रोजेको देखिएको छ । रमानन्द डाँका मुद्दामा ४ वर्ष कैद भुक्तान गरेर केही समयअगाडि निस्केका प्रतिवादी हुन् । उनी रमेशको विराटनगर–१९ मिलन चोकस्थित सुन पसलमा पनि आऊ–जाऊ गर्दै आएका थिए । मदिरा सेवनका लागि रमेशले रमानन्दलाई १–२ हजार पनि दिने गरेका थिए । हत्या गरेर शव व्यवस्थापनका लागि जम्मा कति पैसा लिने भन्ने विषयमा रमानन्द र अन्य अभियुक्तहरूले नखुलाएको प्रहरीको भनाइ छ । ‘अहिले एड्भान्स लिएको रकम मात्र भनेका छन्’ डिएसपी दाहालले भने, ‘थप अनुसन्धानपछि त्यो विषय पनि बाहिर आउनेछ ।’
घुम्ने र झारफुक गर्ने भन्दै रमेशले मोटसाइकलमा राखेर श्रीमतीलाई आइतबार दिउँसो बूढीगङ्गा गाउँपालिका–२ अमाहीमा लगेको देखिएको छ । अमाहीस्थित नरसिंह चौधरीको घरमा पु¥याएपछि प्रियङ्काको हत्या उनीसहित अन्य तीन जनाको सहयोगमा भएको प्रहरीले जनाएको छ । हत्या भएको अवस्थामा नरसिंह चौधरीको ग्वालीमा शव सोमबार फेला परेको थियो । घाँटी र कानमा चोटपटक देखिएपछि हत्याको आशङ्का गरिएको थियो । महिलाको शव रहेको जानकारी पाउनासाथ घटनाको अनुसन्धान गर्न डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको थियो । दाहाल नेतृत्वको टोलीले शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको हो ।