धरान । धरानमा ‘वान वे’ बनाइएपछि सिटी सफारीहरूले स्टेन्ड नपाएको भन्दै विरोध गरेका छन् । 

धरानमा माघ ८ गतेदेखि वान वे बनाइएको छ । जसका कारण सिटी सफारी (ईरिक्सा) चालकहरूले मान्छे चढाउने र ओराल्ने स्थानको अभाव भएको भन्दै विरोध गरेका हुन् । आज (माघ १०) गते धरान–१५ एभरेस्ट लाइन अगाडि सिटी सफारी चालकहरू भेला हुँदै धरान उपमहानगरपालिकाले सफारीहरूलाई व्यवस्थित गर्न स्टेन्ड दिनुपर्ने सिटी सफारी चालिका रीना तामाङले बताइन् । 

‘हामीलाई पनि व्यवस्थित गरिनुपर्छ । वान वेप्रति हाम्रो विरोध होइन । तर वान वेले गर्दा हामीलाई मान्छे ओराल्ने र चढाउन दिइएको छैन’ उनले भनिन् । अधिकांश सिटी सफारी चालकहरूले स्टेन्ड दिएर आफूहरूलाई व्यवस्थित गर्नुपर्ने माग गरे । करिब एक सयको हाराहारीमा भेला भएका सिटी सफारी चालकहरूले उपमहानगरपालिकाको कार्यप्रति विरोध जनाए । 

धरानमा झण्डै २ हजारको हाराहारीमा सिटी सफारी सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाउँछ । सिटी सफारी व्यवस्थित नहुँदा धरानमा ट्राफिक व्यवस्थापनमा समस्या थपिएको छ । धरानमा राजनीतिक दलहरूले २०७२ सालतिर सिटी सफारी भित्र्याएका थिए ।